बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

विवादमा न्यु योर्कको पिच, आईसीसीको निर्देशनपछि मर्मतमा जुटे क्यूरेटर

बिहीबार, २४ जेठ २०८१, १६ : ०५
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अहिले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको छ । प्रतियोगिताको केही खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा पनि हुँदै छ ।

यो स्टेडियममा हालसम्म विश्वकपको दुई खेल खेलिसकिएको छ । यो रङ्गशालामा पछिल्लो खेल बुधबार राति भारत र आयरल्यान्डबिच खेलिएको थियो । त्यो खेलपछि भने यो रङ्गशालाको पिचको विषयलाई लिएर विभिन्न आलोचनात्मक टिप्पणी सुरु भएको छ ।

जारी विश्वकपअन्तर्गत हालसम्म खेलिएको दुवै खेलमा निकै कम रन बनेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पचि चिन्तित देखिएको छ । यो स्टेडियमका ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । यसको अर्थ हुन्छ, अस्थायी रुपमा प्रयोग गरिएको पिच ।

केही स्टेडियममा अन्य खेलका गतिविधि पनि हुन्छन् । यस्तो अवस्थामा त्यो स्टेडियममा क्रिकेटको कुनै प्रतियोगिता आयोजना गर्नु प¥यो भने बाहिरबाट ल्याइएको पिच प्रयोग गरिन्छ । खेल सकिएपछि त्यो पिच स्टेडियमबाट हटाइन्छ ।

हाल जारी टी–२० विश्वकपमा नासाउ काउन्टी स्टेडियममा पनि यस्तै ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । तर, नासाउ काउन्टी स्टेडियमका पिचमा भने बल आवश्यकताभन्दा बढी बाउन्स हुने गरेको छ । सोही कारणले आयरल्यान्डविरुद्धको खेलमा भारतीय टोलीका केही खेलाडी घाइते पनि भएका थिए ।

खेलका क्रममा भारतीय टोलीका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई चोट लागेको थियो । रोहित त ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका पनि थिए । यही स्टेडियममा जुन ९ तारिखमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदै छ ।

त्यसैले भारत र पाकिस्तानबिचको खेलअघि आईसीसीले नासाउ काउन्टी स्टेडियमको पिच मर्मत गर्न सुरु गरेको छ । भारत र आयरल्यान्डबिचको खेल लगत्तै पिच मर्मत कार्य सुरु गरिएको समाचारमा जनाइएको छ ।

भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले पनि पिच मर्मतका क्रममा क्युरेटरहरुलाई सुझाव दिएको समाचारमा जनाइएको छ । यो स्टेडियममा प्रयोग गरिएको पिच अस्ट्रेलियाको एडिलेडमा तयार पारेर ल्याइएको हो ।

भारत र आयरल्यान्डबिचको खेलअघि यो स्टेडियममा दक्षिण अफ्रिका र श्रीलङ्काबिच पनि खेल भएको थियो । त्यो खेलमा पनि श्रीलङ्काली टोली १९.१ ओभरमा ७७ रनमै अलआउट भएको थियो । जवाफमा १६.२ ओभरमा विजय लक्ष्य पुरा गरेको दक्षिण अफ्रिकाले पनि चार विकेट गुमाएको थियो । त्यो खेलमा खसेको १४ मध्ये नौ विकेट त तीव्र गतिका बलरले नै लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप