सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

दीर्घकालीन र ठुला परियोजनामा लगानी बढाउनुपर्छ : प्रमुख सचेतक बर्तौला

बिहीबार, २४ जेठ २०८१, १३ : १८
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश  बर्तौलाले नागरिकहरूको उचित व्यवस्थापनसहित हेटौँडा बजार क्षेत्रको सडक विस्तर गर्नुपर्ने बताएका छन् । प्रमुख सचेतक बर्तौलाले विकासका काम नरोकिने गरी आम नागरिकलाई राज्यले अभिभावकत्व दिनुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले शिक्षा स्वास्थ्य रोजगारीसँगै दीर्घकालीन सोच सहितको विकास निर्माणमा जुट्न जरुरी रहेको औँल्याए । उनले ठुला सडक पूर्वाधार तथा सुरुङ मार्गको योजना निर्माण गरेर विकासका कामलाई तीव्रता दिनुपर्ने बताए ।

‘अब दीर्घकालीन र ठुला परियोजनामा लगानी बढाउनुपर्छ । आधारभूत सुविधासँगै प्रविधियुक्त भौतिक पूर्वाधार विकास आजको आवश्यकता हो । सुरुङ मार्ग, फ्लाइ ओभर ब्रिज लगायतका संरचनामा काम गर्नुपर्छ’ उनले भने, ‘नागरिक र व्यवसायीहरूको उचित व्यवस्थापन सहित हेटौँडा बजार क्षेत्रको सडक विस्तार गर्नुपर्ने अवस्था छ । प्रदेशको राजधानी फराकिलो र स्तरीय बनाउँदै गर्दा कसैलाई पनि आवास विहीन र सुकुम्वासी बनाउन हुँदैन । भिमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणाका लागि जिल्लाका सबै स्थानीय तहसहित सरोकारवाला व्यक्ति एकताबद्ध भए अघि बढ्नुपर्ने हुन्छ ।’

उनका अनुसार विकास निर्माणका विषयमा तीन तहका सरकार बिच समन्वय हुन जरुरी हुन्छ । विकासका सवालमा सबैले साझा सङ्कल्प गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । विकासको मोडलसहित साझा धारणा निर्माण गरी काम गर्न सके मकवानपुरको समृद्धि सम्भव रहेको उनको भनाई छ ।

‘मकवानपुरको उत्तरी क्षेत्र दमन, पालुङ, चित्लाङमा पर्यटन प्रवर्द्धन गर्न पर्यटनको केन्द्रको रूपमा विकास गर्नुपर्छ । पर्यटनको विकाससँगै रोजगारी र उद्यमशीलतालाई समानान्तर रूपमा अघि बढाउनुपर्ने हुन्छ । हेटौँडाको बन्द रोपवेको सदुपयोगमा सबैले ध्यान दिनुपर्छ । सम्पदा र पर्यावरणलाई एकीकृत रूपमा विकास गर्दै नागरिकको सेवा प्रवाहलाई सहजता दिनुपर्छ’ उनले भने ।

मकवानपुरको उत्तर पश्चिम नाका जोड्न मनहरी–थाहाबिच सडक सञ्चालन निर्माण गर्न आवश्यक रहेको उनले औँल्याए । उनका अनुसार मनहरी र थाहा जोड्न रुपचन्द्र विष्ट मार्ग निर्माण गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । हेटौँडा औद्योगिक क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकारले पनि उचित ध्यान दिनुपर्ने उनले बताए ।

आर्थिक संकटका कारण उद्योगधन्दा बन्द हुने दर बढ्दो क्रममा रहेकाले तीनै तहका सरकारले उचित नीति तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने उनले बताए । पहुँचका आधारमा औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्ने र उद्योग नचलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले सभ्य समाज निर्माणमा सरकारले लगानी गर्नुपर्ने बताए । उनले सरकारहरूको आयस्रोत वृद्धि गर्न उचित व्यवस्थापकीय प्रणाली विकास गर्नुपर्ने बताए । जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका विषयमा छलफल आवश्यक रहेको उनको भनाई छ । राजस्व वृद्धिका लागि प्राकृतिक स्रोतहरूको उचित संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नागरिकको आवश्यकता अनुसारको विकास र सहज सेवा प्रवाहमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताइन् । उनले स्थानीय तहलाई बलियो बनाउँदै संविधानको व्यवस्था अनुसारको अधिकारमा नागरिकको पहुँच वृद्धि गर्नुपर्ने बताइन् ।

उनले संघ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताइन् ।  कानुनी अड्चनको हल गरेर नदीजन्य पदार्थको उत्खनन् गर्नुपर्ने उनको भनाई छ ।

नदीजन्य पदार्थ उत्खनन् नहुँदा एकातर्फ राजस्व सङ्कलन हुन सकेको छैन भने अर्को तर्फ खोला खहरेको सतह बढेर मानववस्ती नै जोखिममा पर्ने अवस्थामा पुगेको उनले बताइन् । हेटौँडामा २५ मिटर सडक विस्तारको विषयमा सङ्घीय सरकारले उचित निर्णय नगर्दा अन्यौलता निम्तिएको उनले बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप