यो वर्ष कोशी प्रदेशमा धेरै पहिरो र बाढीको अनुमान
काठमाडौँ । सरकारले आउँदो मनसुनका कारण हुने विपद्मा उद्धार तथा राहतका लागि झन्डै ३० हजार सुरक्षाकर्मी खटाउने तयारी गरेको छ । मनसुन पूर्वतयारी एवं प्रतिकार्य अन्तर्गत सो सङ्ख्याका तालिम प्राप्त सुरक्षाकर्मी परिचालन हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो वर्ष १० हजार ८४७ जना नेपाली सेना, १० हजार ५८५ नेपाल प्रहरी र ९ हजार ९२४ सशस्त्र प्रहरी परिचालन हुने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।
मौसमविद्को पूर्वानुमान अनुसार यो वर्ष देशको पूर्वी क्षेत्रमा बढी पानी पर्ने सम्भावना रहेको बताउँदै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले कोशी प्रदेशमा पहिरो र बाढीको बढी जोखिम अनुमान गरिएको बताए । यस्तै पश्चिमी क्षेत्रमा भूकम्पका कारण झन्डै ३ सय स्थानमा जमिन चिरा परेकोले त्यसमा पानी छिरेर पहिरोको जोखिम बढ्ने भएकोले ती चिरा पुर्ने काम गर्न लगाएको पोखरेलले बताए ।
यस्तै विपद्को सामना गर्नका लागि ७५३ पालिकामा कहाँ के कति उद्धारका सामग्रीहरू छन्, त्यसको जानकारी लिने काम भइरहेको पनि जानकारी दिए । यस्तै जोखिमयुक्त ठाउँमा रहेका घर बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्थामा प्रति घर परिवार घडेरी किन्नका लागि नगद ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने सिइओ पोखरेलले बताए ।
मनसुनजन्य विपद्को प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाको समन्वयमा घटनास्थलमा आवश्यकताका आधारमा हेल्प डेस्क स्थापना गर्ने, निजी हेलिकोप्टर कम्पनी एसोसिएसन, नागरिक उड्डयन प्राधिकरण र सम्बद्ध पक्षसँग समन्वयात्मक बैठक राखेको, निःशुल्क फोन कलको व्यवस्थाका लागि सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यस्तै विपद्मा नेपाली सेनाको हेलिकोप्टर काठमाडौं र सुर्खेतमा स्यान्टबाई अवस्थामा रहने पनि उनले बताए ।
- कोशी प्रदेशमा सबैभन्दा धेरै पहिरो र बाढीको आङ्कलन, अन्य प्रदेशमा कति ?
यो वर्षको मनसुनमा सबैभन्दा धेरै कोशी प्रदेशमा प्राकृतिक प्रकोपका घटना घट्ने पूर्वानुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशमा बाढी पहिरोका घटनाबाट ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने आनुमान गरिएको छ । प्रत्यक्ष रूपमा २० हजार घर परिवार प्रभावित हुने अनुमान गरिएको छ भने ५ हजार घर परिवारलाई उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने अनुमान छ ।
कोशीका झापा, मोरङ, सुनसरी र उदयपुरमा बाढीको र अन्य जिल्लाहरूमा पहिरोको जोखिम पूर्वानुमान गरिएको छ ।
यता मनसुनका कारण मधेस प्रदेशमा झन्डै साढे ४ लाख प्रभावित हुने अनुमान गरिएको छ । २० हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र ४ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।
बागमती प्रदेशमा मनसुनका कारण झण्डै डेढ लाख जनसङ्ख्या प्रभावित हुने, जसमा ७ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने अनुमान छ । १ हजार ५ सय परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशमा १ लाख १० हजार ५५४ जनसङ्ख्या प्रभावित हुने जसमा ५ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान छ । यो प्रदेशका १ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।
यता लुम्बिनी प्रदेशमा मनसुनबाट ३ लाख ३६ हजार हाराहारी जनसङ्ख्या प्रभावित हुने अनुमान छ । १५ हजार ५ सय घर परिवार प्रत्यक्ष प्रभावित हुने र ३ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।
यस्तै कर्णाली प्रदेशमा ५० हजार जनसङ्ख्या मनसुनबाट प्रभावित हुने अनुमान गरिएको छ । ५ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र २ हजार ५ सय परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ ।
यता सुदूर पश्चिम प्रदेशमा मनसुनका कारण २ लाख ३३ हजार हाराहारी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । ५ हजार ५ सय घर परिवार प्रत्यक्ष प्रभावित हुने र १ हजार ५ सय घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने पूर्व आनुमान गरिएको छ ।
मनसुन जन्य विपद्को प्रतिकार्यका लागि कटानका कारण नदिका किनारमा रहेका भौतिक संरचना (हाइटेन्सन लाइन, टेलिफोनका टावर लगायत) को सुरक्षाका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
- यस्तो छ विपद्का लागि तयारी
मनसुनमा हुने विपद्को जोखिम न्यूनीकरणका लागि तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरूबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको जानकारी गराएका छन् । सो रकमको सही परिचालनबाट राहत, उद्धारको काम नागरिकलाई महसुस हुने गरी गर्न सकिने बताएका छन् ।
त्यस्तै, ७३ हजार ६७० क्विन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याङ्केट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उनले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले भने– ‘१२ वटा बेलिब्रिज स्ट्याण्ड बाइ छ । देशका विभिन्न भागमा सडक खोल्नका लागि हेवी इक्युपमेन्टलाई तैनाथ राखिएको छ । यो सेन्टरले कल गर्न बित्तिकै तुरुन्तै अघि बढ्ने गरी तयार राखिएको छ । नेपाली सेनाको हेलिकप्टर तयार अवस्थामा राखेको छ । राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट छिटोछरितो गर्नेछौँ ।’
उनले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका छन् । सहसचिव नेतृत्वको सो पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने जानकारी गराए ।
उनले भने–‘मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय भएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरूले कार्य गर्नेछन् । कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई, जोखिमको आङ्कलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रूपमा संयोजनकारी भूमिका खेल्नेछ ।’
समन्वयको अभावले सामानहरू नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरूबाट विगतमा भएका अनुभवहरूबाट सिकेर कमान्ड पोस्टलाई पूर्ण अधिकार प्रदान गरिएको उनले बताए ।
यस्तै आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको जानकारी गराए ।
यता विपद् प्राधिकरणले दोलखा, ओखलढुङ्गा, म्याग्दी, रसुवा, सिन्धुपाल्चोक, धादिङ, डडेलधुरा र ताप्लेजुङको १४ स्थानहरूमा स्थलगत भौगर्भिक अध्ययन गरेको छ । जसमध्ये ११ स्थानको प्रतिवेदन प्राप्त भएको जनाएको छ । यस्तै विपद्सँग सम्बन्धित २ हजार ७४४ वटा खोज तथा उद्धार सामग्री खरिद गरी ९ जिल्ला, ६५ स्थानीय तह र २ सुरक्षा निकायलाई वितरण गरिएको जनाएको छ ।
- विगत १० वर्षमा वर्षायाममा भएका प्राकृतिक प्रकोपमा ३ हजार ५२ जनाको निधन ८५ हजार बढी परिवार प्रभावित
विगत १० वर्ष २०७० सालदेखि २०८० सालसम्म वर्षायाममा भएका प्राकृतिक प्रकोपमा ३ हजार ५२ जनाको निधन भएको छ भने ८५ हजार बढी परिवार प्रभावित भएका छन् ।
यो अवधिमा बाढी, पहिरो, भारी वर्षा, चट्याङबाट गरी ८ हजार ४४१ वटा घटना भएका छन् । जसमा ३ हजार ५२ को निधन, ७९९ बेपत्ता, ४ हजार १७६ घाइते भएका थिए ।
यो अवधिको मनसुनमा भएको घटनाबाट ८५ हजार ६४६ घर परिवार प्रभावित भएका थिए । ४६ हजार हाराहारी घर पूर्ण क्षति र १६ हजार हाराहारी घर आंशिक क्षति भएको थियो । १ हजार २४२ गोठ क्षति हुँदा ६ हजार ६२४ पशु चौपायामा क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान