नरेन्द्र मोदीले जुन ९ मा शपथ लिने
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले जुन ९ मा अर्को कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा २९३ सिट ल्याएको थियो ।
एनडीएले मोदीलाई गठबन्धनको नेता चयन गरिसकेको छ । शनिबारको शपथसँगै मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।
शपथ ग्रहण समारोहलाई भव्य बनाउन विदेशी अतिथिहरूलाई पनि बोलाइने बताइएको छ । बङ्गलादेश, भुटान, श्रीलङ्का र मरिशस लगायत देशका शीर्ष नेता आउन सक्ने भन्दै अमर उजालाले समाचार छापेको छ । औपचारिक निम्तो भने बिहीबार पठाइने तयारी गरिएको छ । यसअघि विश्वभरका ७५ नेताले मोदीलाई बधाई दिएका थिए ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री मोदीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग फोनमा कुराकानी गरेका थिए । मोदीले हसिनालाई आफ्नो शपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो गरेको र उनले स्वीकारेको पनि बताइएको छ ।
सोही क्रममा मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि फोनमा कुराकानी गरेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गर्ने निश्चित भएको स्रोतले जनाएको छ ।
यसैबिच, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले पनि नरेन्द्र मोदीलाई जितको लागि फोन गरेर बधाई दिएको उनको मिडिया डिभिजन कार्यालयले बताएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपतिलाई आफ्नो शपथ ग्रहण समारोहमा निम्तो दिएका छन्, विक्रमासिङ्घेले निम्तो स्वीकार गरेका छन् ।
सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सात देशका नेताहरूलाई शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । यसै क्रममा २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनको शपथ ग्रहण समारोहमा बिमस्टेक देशका नेताहरूलाई बोलाइएको थियो ।
बाइडेन, सुनक, पुटिनलगायतले दिए बधाई
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । पुटिनले फोनमा मोदीलाई बधाई दिँदै विश्वव्यापी नेता भनेका छन् ।
अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत विश्वका धेरै नेताले पनि मोदीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकाले सफल चुनावका लागि भारत सरकार र देशका जनताको प्रशंसा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्दै गायिका स्मिता दाहाल
-
हाललाई धरहरामा निःशुल्क पार्किङ सुविधा
-
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?