बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

टी–२० विश्वकपमा आज : जितबाट उत्साही अमेरिका र लय गुमाएको पाकिस्तान आपसमा भिड्दै

बिहीबार, २४ जेठ २०८१, १० : ३५
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बिहीबार पाकिस्तानले आयोजक राष्ट्र अमेरिकाको सामना गर्दै छ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेयरी रङ्गशालामा नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हुनेछ ।

पाकिस्तान र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा भारत, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । पाकिस्तानबाहेक सबै टोलीले आफ्नो एक–एक खेल खेलिसकेका छन् । उक्त समूहको पहिलो खेलमा अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाई सात विकेटले हराएको थियो ।

अर्को खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । त्यसैले बिहीबार रातिको खेलमा पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ । अमेरिका भने बलियो टेस्ट राष्ट्रलाई हराउँदै लगातार दोस्रो जितसहित सपुर–८ चरणको यात्रा सहज बनाउने धुनमा रहने छ ।

समूह ‘ए’ मा रहेका दुई टोली भारत र पाकिस्तान टी–२० विश्वकपका पूर्वविजेता पनि हुन् । भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । पाकिस्तानले भने सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तानभन्दा अमेरिका निकै पछाडि छ । उक्त वरीयतामा पाकिस्तान छैटौँ र अमेरिका १८औँ स्थानमा आसीन छन् ।

पाकिस्तानी टोलीले टी–२० विश्वकपमा पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागिता जनाउँदै आएको छ । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिका आयोजकका रूपमा विश्वकपमा उपस्थित भएको हो ।

पाकिस्तान भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा छनोट भएको हो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४७ खेल खेलिसकेको छ । पाकिस्तान त्यसमध्ये २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित ।

पाकिस्तानी टोलीको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यसको विपरीत अमेरिकाले टी–२० विश्वकपमा हालसम्म एक खेलमात्र खेलेको छ । त्यो खेल पनि यही विश्वकपमा खेलेको हो । यस अर्थमा टी–२० विश्वकपमा अमेरिकाको यात्रा निकै सुखद देखिन्छ ।

टी–२० विश्वकपको इतिहासमा पाकिस्तान सफल टोलीका रूपमा दरिएको छ । पाकिस्तानी टोली तीनपटक टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ । त्यसमध्ये एक पटक उपाधि जित्न सफल भएको पाकिस्तान बाँकी दुई अवसरमा भने फाइनलमा पराजित भएको छ ।

टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई चिर प्रतिद्वन्द्वी भारतले पाँच रनले पराजित गरेको थियो । पाकिस्तान टी–२० विश्वकपको साबिक उपविजेता पनि हो ।सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

पाकिस्तान र अमेरिकाले यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा एक खेल पनि खेलेका छैनन् । त्यसैले बिहीबार राति यी दुई टोली पहिलो पटक आपसमा भिड्ने छन् । यी दुई टोलीको पछिल्लो पाँच खेलको अवस्थालाई हेर्दा भने पाकिस्तानभन्दा अमेरिकाको नतिजा आकर्षक देखिन्छ ।

अमेरिकी टोली आफूले खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा विजयी भएको छ । बाँकी एक खेलमा भने अमेरिका पराजित भएको छ । अर्कोतिर, पाकिस्तानी टोलीले आफूले खेलेको पछिल्ला पाँचमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ ।

अमेरिकाले गत अप्रिल १३ तारिखमा खेलिएको खेलमा क्यानडालाई चार विकेटले हराएको थियो । त्यसपछि मे २१ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । मे २३ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले हराएको थियो ।

यसैगरी मे २५ तारिखमा खेलिएको खेलमा भने अमेरिकी टोली बङ्गलादेशसँग १० विकेटले पराजित भएको थियो । त्यसपछि जुन २ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले भने गत मे १४ तारिखमा खेलिएको खेलमा आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । मे २२ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको थियो । मे २५ तारिखमा खेलिएको खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई २३ रनले हराएको थियो ।

यसैगरी विश्वकप सुरु हुनुअघि मे २८ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । विश्वकप सुरु हुनुअघि मे ३० तारिखमा खेलिएको आफ्नो अन्तिम खेलमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग सात विकेटले हारेको थियो ।

यसरी पछिल्लो समय अमेरिकी टोली लयमा देखिएको छ । त्यसमाथि विश्वकप सुरु हुनुभन्दा ठिकअघि बङ्गलादेशजस्तो बलियो टोलीलाई हराएपछि अमेरिकाको मनोबल अझ उच्च देखिएको छ । त्यसमाथि अमेरिकाविरुद्धको खेल सुरु हुनुअघि आफ्ना प्रभावशाली बलर इमाद वसिम घाइते हुँदा पाकिस्तान थप दबाबमा परेको छ ।

घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् ।

इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तिब्रगतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए । सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।

पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साइम अयुब, फाखर जामन, सदाब खान, ईफ्तिखार अहमद, आजम खान (विकेटकिपर), साहिन शाह अफ्रिदी, नसिम शाह, ह्यारिस रौफ र मोहम्मद आमिर रहेका छन् ।

यसैगरी अमेरिकाको सम्भावित टोलीमा मोनांक पटेल (कप्तान एवं विकेटकिपर), स्टिभन टेलर, एन्ड्रिज गौस, एरोन जोन्स, नितिस कुमार, कोरी एन्डर्सन, हरमित सिंह, साड्ली भान साल्कविक, जसदीप सिंह, अली खान र सौरभ नेत्रवाल्कर रहेका छन् ।

पाकिस्तान र अमेरिकाबिचको खेलका क्रममा डालासमा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । बिहीबार डालासको तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप