सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २३ जेठ २०८१, २२ : ००
बुधबार, २३ जेठ २०८१

आज २०८१ जेठ २४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • बजेट छलफल

आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल चार दिनपछि बुधबार सकिएको छ । आइतबारदेखि जारी छलफलमा राष्ट्रिय सभाका ४४ जना र प्रतिनिधि सभाका १२५ जना गरी कुल १६९ जना सांसदले आ–आफ्नो विचार, राय तथा धारणा राखेसँगै विनियोजित बजेटमाथिको छलफल टुङ्गिएको हो ।

  • बजेट प्रभाव

राज्यले सुनलाई राजस्व सङ्कलनको भरपर्दो माध्यम बनाउँदा तस्करको रजगज बढ्नुका साथै तस्करीको प्रणाली वा पद्धति नै फेरिने भएको छ । नेपालमा मुख्य गरी दुबई, कतार, चीन र हङकङबाट गैरकानुनी रूपमा सुन भित्रिँदै स्वदेशी र भारतीय बजारमा आपूर्ति हुँदै आइरहेको छ ।

  • भारतमा चुनाव

छिमेकी मुलुक भारतमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएसँगै नेपालमा त्यसको के असर पर्ला भनेर चर्चा सुरु भएको छ । सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ भने दोस्रो स्थानमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन रहेको छ । 

  • मधेस सरकार

 मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारले विश्वासको मत सिद्ध गर्न नसके नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई–दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका जसपा नेपालका सरोज यादवको सरकार ढल्दा नयाँ सरकार बन्ने भएको हो ।

  • सडक दुर्घटना

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार वार्षिक रूपमा दुर्घटनाको अवस्था भयावह छ । तर, सरकारका निकायहरूले दुर्घटना न्यूनीकरण गर्न सामान्य प्रयास पनि गरेका छैनन् । आर्थिक वर्ष २०७८–०७९ मा देशभर ३९ हजार ३ सय ७९ वटा सवारी–साधन दुर्घटना भए । सो आर्थिक वर्षमा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । 

  • संसदीय समिति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो । 

  • वातावरण दिवस

नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ । यसले कृषि क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याइरहेको छ । जलवायु परिवर्तनले बाली बिरुवा, पशुपन्छी, मत्स्य क्षेत्र प्रभावित भएको कृषि वैज्ञानिकले बताएका छन् ।

  • सर्पदंशको विकराल अवस्था

नेपालमा गर्मी सिजन सुरु भएसँगै सर्पदंशको घटना हुने गरेको छ । तराईका २६ जिल्ला र भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अध्यधिक खतरा हुन्छ । बर्सेनि करिब ४० हजार मान्छे सर्पदंशको प्रकोपमा पर्ने पछिल्लो अध्ययनले देखाएको छ ।

  • रास्वपाका मन्त्री

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सरकारमा सहभागी भएको ‘हनिमुन पिरियड’ अर्थात् १०० दिन पूरा हुन केही दिनमात्रै बाँकी छ ।  गत फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा फागुन २२ मा सरकारमा सहभागी भयो ।

  • बेथिति

कर्णाली प्रदेश सरकारले ल्याउने गरेको वार्षिक बजेट सदुपयोग नभएको पाइएको छ । बर्सेनि सङ्घीय अनुदानमा ल्याउने गरेको बजेटमाथि व्यापक बेथिति देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप