बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

विश्वकप विजेता अस्ट्रेलियालाई एसियाली प्रतिद्वन्द्वी ओमानको चुनौती

बुधबार, २३ जेठ २०८१, २० : ५२
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा बिहीबार बलियो अस्ट्रेलियाले तुलनात्मक रूपमा कमजोर एसियाली प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अस्ट्रेलिया र ओमानबिचको खेल क्यारेबियन राष्ट्र बार्बाडसको जर्जटाउनस्थित केसिङ्टन ओभलमा बिहान ६ः१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र ओमान प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा नामिबिया, स्कटल्यान्ड र साबिक विजेता इङ्ल्यान्ड पनि छन् । समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो तेस्रो खेल हो । यसअघि खेलिएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।

इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नामिबिया दुई अङ्कसहित पहिलो, स्कटल्यान्ड एक अङ्कसहित दोस्रो र इङ्ल्यान्ड एक अङ्कसहित तेस्रो स्थानमा आसीन छन् । अस्ट्रेलियाले भने पहिलो खेल खेल्न लागेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा सार्वजनिक गरिएको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा अस्ट्रेलिया दोस्रो र ओमान १९औँ स्थानमा आसीन छन् । यो वरीयताले पनि ओमानभन्दा अस्ट्रेलिया निकै बलियो टोली रहेको देखाउँछ ।

अस्ट्रेलिया टी–२० विश्वकपको पूर्वविजेता राष्ट्र पनि हो । अस्ट्रेलियाले सन् २०२१ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई आठ विकेटले हराएको थियो ।

त्यसअघि सन् २०१० को टी–२० विश्वकपमा पनि अस्ट्रेलियन टोली फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो । यी दुई संस्करण बाहेक अस्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

अस्ट्रेलियाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा यसपटक अस्ट्रेलिया सिधै विश्वकपमा सहभागी भएको हो ।

ओमान भने एसियाली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा ओमान पहिलो र नेपाल दोस्रो हुँदै यो विश्वकपमा पुगेका हुन् ।

टी–२० विश्वकपमा ओमानको यो तेस्रो सहभागिता हो । ओमानले यसअघि सन् २०१६ र सन् २०२१ मा टी–२० विश्वकप खेलेको थियो । ती दुवै अवसरमा ओमान प्रतियोगिताको पहिलो चरणमै पराजित हुन पुगेको थियो ।

अस्ट्रेलियाले हालसम्म टी–२० विश्वकपमा कुल ४० खेल खेलिसकेको छ । अस्ट्रेलिया त्यसमध्ये २५ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । ओमानले भने हालसम्म टी–२० विश्वकपमा सात खेल खेलेको छ । ओमान त्यसमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । ओमानको एउटा खेल अनिर्णीत रूपमा र एउटा खेल बराबरीमा सकिएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म अस्ट्रेलिया र ओमानबिच एक खेल पनि खेलिएको छैन । त्यसैले बिहीबार बिहान अस्ट्रेलिया र ओमान टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक आमने–सामने हुनेछन् ।

ओमानले पहिलो पटक क्यारेबियन राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसको विपरित बलियो टेस्ट राष्ट्र अस्ट्रेलियाले क्यारेबियन राष्ट्रमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । टी–२० विश्वकप सुरु हुनुअघि ओमानले दुईवटा औपचारिक अभ्यास खेल खेलेको थियो ।

ओमानले ब्रायन लारा स्टेडियममा खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले पराजित गरेको थियो । पोर्ट अफ स्पेनमा खेल्ने भनिएको अफगानिस्तान र ओमानबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अर्कोतिर, अस्ट्रेलियाले पनि विश्वकप सुरु हुनुअघि दुईवटा अभ्यास खेल खेलेको थियो । तर, दुवै अभ्यास खेलमा अस्ट्रेलियन टोलीमा नौजना खेलाडीमात्र सहभागी थिए । त्यसैले ती अभ्यास खेलमा अस्ट्रेलियाले आफ्नो प्रशिक्षण टोलीका सदस्यलाई समेत फिल्डरको रूपमा मैदानमा उतारेको थियो ।

खासमा त्यतिबेला भारतमा भर्खरे इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएको थियो । आईपीएमा थुप्रै अस्ट्रेलियन खेलाडी सहभागी थिए । त्यसैले विश्वकपअघि अस्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना केही खेलाडीलाई आरम दिएको थियो ।

अस्ट्रेलियाले पोर्ट अफ स्पेनमा खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नामिबियालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो अभ्यास खेलमा भने अस्ट्रेलियन टोलीलाई विश्वकपको सहआयोजक वेस्ट इन्डिजले ३५ रनले हराएको थियो ।

बिहीबार हुने खेलका लागि सम्भावित अस्ट्रेलियन टोलीमा मिचेल मार्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, टिम डेभिड, मार्कुस स्टोइनिस, म्याथ्यू वेड (विकेटकिपर), प्याट कुमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जस हेजलउड रहेका छन् ।

यसैगरी ओमानको सम्भावित टोलीमा अकिब ईलियास (कप्तान), कश्यप प्रजापती, नसिम खुसी (विकेटकिपर), जिसन मक्सुद, खादिल काइल, आयान खान, मोहम्मद नदिम, मेहरान खान, सकिल अहमद, कलिमुल्लाह र बिलाल खान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप