मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ७ वर्षपछि ढल्यो जसपाको सरकार

बुधबार, २३ जेठ २०८१, २० : १६
बुधबार, २३ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो । 

योसँगै मधेसमा जसपा ७ वर्षपछि सत्ताविहीन भएको छ । सङ्घीयतापछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए । तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो । 

बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त सङ्ख्या कूल सङ्ख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत गरेका थिए । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । 

मुख्यमन्त्री यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिएका हुन् । 

अब केन्द्रीय सत्ता समीकरण अनुसार मधेसमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने तयारी छ । जसलाई नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने तयारी गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप