शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

विकास पर्खेको विकट बस्ती मलास

बुधबार, २३ जेठ २०८१, १७ : ५२
बुधबार, २३ जेठ २०८१

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ । उक्त बस्तीमा छ सय बढी मतदाता छन् । 

कञ्चनपुरको सीमाक्षेत्रमा पर्ने यो क्षेत्र डडेल्धुराको परशुराम नगरपालिकामा पर्छ । तर यहाँका बासिन्दालाई परशुराम नगरपालिकासम्म सहज पहुँच छैन । सडक सञ्चाल नहुँदा वडा कार्यालयसम्म पुग्न पनि निकै सास्ती हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

चालिस वर्षअघि बझाङबाट बसाइँसरी यहाँ आएका गङ्गो धामीले सडक सञ्जालको दुःखसँगै खानेपानी नहुँदा निकै सास्ती खेप्नु परेको बताए । “विकासको नाममा कच्ची सडक छ खानेपानीको हाहाकार नै छ प्यास मेटाउनै मुस्किल पर्छ,” उनले भने,“देख्नमा त ठाउँ सुन्दर छ तर केगर्नु दुःख अनेकछन ।” गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र माध्यमिक तहको विद्यालय बाहेकका अन्य सेवासुविधा यहाँका स्थानीयवासीले उपभोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सडकजस्ता पूर्वाधारको अभाव झेलेको वर्षाँै भइसकेको यहाँका स्थानीयवासी बुद्धि धामीले बताए । “देशमा थुप्रै व्यवस्था परिवर्तन भए तर राज्यको नजरमा मलास कहिले परेन,” उनले भने,“कच्ची सडक पुगेको पनि दुई/चार वर्ष मात्रै भएको छ त्यो पनि वर्षादमा बन्द हुन्छ ।”   

सङ्घीयता कार्यान्वयनपछि महेन्द्रनगर जोड्ने कच्ची सडक निर्माण भएपछि भने यहाँका स्थानीयवासीलाई राहत भएको छ । सडक नहुँदा मलासवासीले दुई/तीन घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नुन, तेल, चामललगायतका सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनुपथ्यो । सडक बनेपछि केही राहत भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ । सञ्चार सेवा पुगेको त छ तर फोन मात्र लाग्छ  । इन्टरनेट सुविधा अझसम्म पुग्न सकेको छैन ।

यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि महेन्द्रनगर सदरमुकाम आएर बस्नुपर्ने बाध्यता रहेको छ । “जस्तो दुःख हाम्रा बुवाबाजेले भोग्नुभयो, त्यही दुःख हामीले पनि भोग्नु परेको छ,” स्थानीयवास दिपेश धामीले भने,“अझै पनि यहाँ आधारभूत सेवा राज्यबाट उपलब्ध हुनसकेका छैनन ।”

स्थानीय सरकारपछि स–साना विकास निमार्णका काम भए पनि यहाँका स्थानीयवासीले भने विकासको अनुभूति हुने गरी भने काम हुन नसकेको परशुराम नगरपालिका–७ का वडा सदस्य जयबहादुर धामीले बताए । उनले पहिलेको तुलनामा थोरै भए पनि विकास केही काम अघि बढेको बताए । “यहाँ  खानेपानीको धेरै समस्या थियो पूर्ण रुपमा समाधान नभए पनि समस्या समाधानका लागि पहल गरेका छौँ,” वडा सदस्य धामीले भने,“पर्याप्त बजेट नआउँदा खानेपानी लगायतका योजना अधुरै हुने गरेका छन् ।” यहाँको समस्या समाधानका लागि आफूहरूले स्थानीय प्रदेश सरकारसँग पहल गरिरहेको उनको भनाइ छ ।

गर्मीको मौसममा तराई कञ्चनपुरबाट गर्मी छल्न यहाँ धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । मलास क्षेत्र कृर्षि र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भए पनि यहाँ राज्यको ध्यान पुग्नसकेको छैन । यहाँका नागरिक कृर्षि र पशुपालनमा आत्मनिर्भर छन् । यहाँसम्म सडक सञ्चालको सहज पहुँच लगायतका पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप