आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

प्रदेशसभा बैठक सार्न जसपाको दबाव, बैठक सञ्चालन गर्ने अडानमा सभामुख

बुधबार, २३ जेठ २०८१, १७ : ४९
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशसभाको बैठक सार्न दबाव दिएको छ । अस्वस्थताको कारण देखाउँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले विश्वासको मतसम्बन्धी कार्यसूचीलाई सार्न सभामुखसँग आग्रह गरेका थिए ।

तर आज विश्वासको मत लिने अन्तिम दिन भएका कारण सो प्रस्तावलाई अस्वीकार गर्दै प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बैठक आह्वान गरेका थिए ।  आजको बैठक सुरु भएर १० मिनेटका लागि स्थगित भएपछि जसपा नेपालले पुनः सभामुख मण्डलसँग छलफल गरिरहेको छ । जसपाले प्रदेशसभा बैठक जेठ २८ गते सार्नका लागि दबाव दिइरहेको छ ।

सभामुख रामचन्द्र मण्डलले भने पार्टी विभाजनको आधारमा विश्वासको मत लिने अन्तिम दिन आज नै भएको भन्दै प्रदेशसभा बैठक बस्नुपर्ने अडान राखेका छन् ।

जसपा नेपाल वैैशाख ३० गते एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको दिनलाई आधार मानेर विश्वासको मत लिने अडानमा छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहेका कारण प्रदेशसभाको बैठक बस्नमा ढिलाइ भइरहेको  छ ।

जसपाका प्रदेशसभा सदस्य रामअषिश यादवले पार्टी विभाजन भएपनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै त्यसको असर मधेश प्रदेशमा नपरेका कारण त्यसलाई मान्यता दिने पक्षमा आफूहरु नरहेको बताए ।

पार्टी विभाजन भएमा वा कुनै दलले समर्थन फिर्ता लिएको मितिदेखि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । सो प्रावधान अनुसार जेठ २३ गतेभित्र मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिइसक्नुपर्ने छ तर उनले विश्वासको मत नलिएपछि उनी स्वतः निलम्बन हुने प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताए ।

वैशाख २४ गते जसपा नेपाल विभाजन भएको थियो । अशोक राइले सात जना सांसद लिएर नयाँ पार्टी जसपा गठन गरिसकेका छन् । पार्टी विभाजनका कारण मुख्यमन्त्रीले जेठ २३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप