सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

बुधबार, २३ जेठ २०८१, १६ : २१
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज मनाइएको विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले काठमाडौँमा आयोजना गरेको मूल समारोहमा उनले सुरक्षित भविष्यका लागि वातावरण जोगाउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनले निम्त्याएको समस्याका कारण सुक्का बढ्नुका साथै खानेपानीको सङ्कट निम्तिन सक्ने भन्दै यस विषयमा समयमा नै सचेत भएर वातावरण संरक्षण अभियानमा एकजुट भएर भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्नुपर्ने मन्त्री सुडीले बताए ।
“वातावरण जोगाएर हाम्रो सन्तानको भविष्य सुरक्षित गर्नुपर्छ ।

यसमा सरकार मात्रैले पनि सुधार गर्न सक्दैन, सबैको सहयोग आवश्यक छ”, उनले भने, “वातावरण सुधारका लागि सरकार निरन्तर लागिरहेको छ, पृथ्वी बचाउने हामी सबैको धर्म हो ।” मन्त्री सुडीले पछिल्लो समय जलवायु परिवर्तनको असरले पृथ्वीमा तापक्रम बढ्दै गइरहेको भन्दै यसले सुक्का तथा खडेरी बढेर कृषि उब्जनीमा ह्रास आउन सक्ने बताए ।

लामो समयसम्म नकुहिने प्लास्टिकजन्य वस्तुले वातावरणीय प्रदूषण गरिरहेको भन्दै मन्त्री सुडीले प्लास्टिकजन्य वस्तुको प्रयोग नियन्त्रणका लागि सबै सारकोर धएकाले पहल गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री गणेश साहले पछिल्लो समय भूमि प्रदूषण बढ्दै गइरहेको भन्दै समयमा नै भूमिलाई प्रदूषणबाट जोगाउनुपर्ने बताए । “जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिरहेको छ । यसले हिमालमा पारेको असरका विषयमा अन्तर्राष्ट्रियस्तरमा चर्चा भइरहेको छ”, उनले भने, “फोहर व्यवस्थापन नहुनु, हिमाल पग्लनु, वन डढेलो, समुद्री सतह बढ्नेलगायत समस्या उत्पन्न भएकाले यी समस्या समाधानका लागि समयमा नै सचेतना अपनाउनुपर्छ ।”

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव प्रदीपकुमार कोइरालाले सरकारले वातावरणमैत्री विकासमा जोड दिएर कार्यक्रम गरिरहेको जानकारी दिए । मानवीय कारण वातावरणीय सन्तुलन बिग्रिरहेको भन्दै उनले वातावरण सुधारका लागि मानवीय सचेतना आवश्यक रहेकामा जोड दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायणप्रसाद दुवाडीले विकास र वातावरणलाई सन्तुलित रुपमा हेरिनुपर्नेमा जोड दिए । उनले वातावरणीय सुधारको कार्य प्रभावकारी रुपमा सम्पादन गर्न वातावरण विभागको क्षमता बढाउनुपर्ने बताए ।

विभागका महानिर्देशक भूपाल बरालले वातावरण सुधारका लागि बनेका मापदण्ड कार्यन्वयन गर्न अन्य सरकारी निकाय, तीनै तहका सरकार तथा सरोकार भएका अन्य निकायबीच समन्वय हुनुपर्ने भन्दै सबैको पहलमा मात्रै मापदण्ड कार्यन्वयन सम्भव रहेको बताए ।

“जमिनको प्रदूषण, जल प्रदूषण, वायु तथा ध्वनी प्रदूषण, जलवायु परिवर्तनको असरले निम्ताएको तापक्रम वृद्धि लगायतका समस्या नै वातावरणीय चुनौती रहेका छन्”, महानिर्देशक बरालले भने, “वातावरणीय सुधारका लागि सबै सरोकार भएकाबीच हातेमालो गर्न आवश्यक छ ।”

विभागका उपमहानिर्देशक शैलेसकुमार झाले बढ्दो सुक्कापनका कारण कालान्तरमा कृषिको उब्जनीमा ह्रास आउन सक्ने भन्दै वातावरणीय सुधारमा सबैको चासो बढ्नुपर्ने सुझाव दिए । “सुख्खापनले क्षयीकरण बढ्ने र परिस्थितिकीय प्रणालीमा क्षति पुग्नसक्ने, कृषि उब्जनी घट्ने भएकाले समयमा नै सचेतना अपनाउन जरुरी छ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालय, वातावरण सङ्कायका विभागीय प्रमुख प्राडा उद्धवराज खड्काले वातावरणको सन्तुलन बिग्रिदा खडेरी र सुख्खापन तथा मरुभूमिबाट भूमि ग्रसित रहेको भन्दै यस्ता समस्या न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप