बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

टी–२० विश्वकपमा आज : पहिलो जितको खोजीमा युगान्डा र पीएनजी

बुधबार, २३ जेठ २०८१, १६ : ०८
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार पुपुवा न्यु गिनी (पीएनजी) र युगान्डाबिच खेल हुँदैछ । पीएनजी र युगान्डाबिचको खेल गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स रंगशालामा नेपाली समयअनुसार, बिहान ५ः१५ बजे सुरु हुनेछ ।

यी दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एसोसिएट्स सदस्य राष्ट्र हुन् । आईसीसीद्वारा सार्वजनिक गरिएको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पपुवा न्यु गिनी २०औँ र युगान्डा २२औँ स्थानमा आसीन छन् ।

जारी विश्वकपमा युगान्डा र पीएनजी समूह ‘सी’ मा रहेका छन् । उक्त समूहमा वेस्ट इन्डिज, अफगानिस्तान र न्युजिल्यान्ड पनि छन् । विश्वकपको नवौँ संस्करणमा युगान्डा र पीएनजीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

png 2

यसअघि खेलिएको आफ्नो पहिलो खेलमा पीएनजीको टोली वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो । अफ्रिकी राष्ट्र युगान्डालाई भने एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानले एक सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

त्यो समूहमा रहेको न्युजिल्यान्डले भने हालसम्म एक खेल पनि खेलेको छैन । पीएनजी र युगान्डा दुवै राष्ट्र छनोट चरणमा अब्बल प्रदर्शन गर्दै यो विश्वकपमा उपस्थित भएका हुन् । पीएनजी पूर्वी एसिया तथा प्यासिफिक क्षेत्रबाट र युगान्डा अफ्रिकी क्षेत्रबाट विश्वकपमा छनोट भएका हुन् ।

png

टी–२० विश्वकपमा पीएनजीको यो दोस्रो सहभागिता हो । पीएनजीले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । युगान्डाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । सन् २०२१ को विश्वकपमा पीएनजी पहिलो चरणबाटै घर फर्किएको थियो । त्यतिबेला पीएनजी आफूले खेलेका तीनवटै खेलमा पराजित भएको थियो ।

पीएनजी र युगान्डाबिच हालसम्म एउटा टी–२० अन्तर्राष्ट्रिय खेलमात्र खेलिएको छ । सन् २०२२ मा बुलाबायोमा खेलिएको त्यो खेलमा पीएनजीले युगान्डालाई आठ विकेटले हराएको थियो । त्यसयता यी दुई टोली पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्न लागेका हुन् ।

uganda 2

बिहीबार गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स रंगशालामा आपसमा भिड्दा यी दुवै टोली टी–२० विश्वकपमा पहिलो जितको खोजीमा हुनेछन् । पीएनजी आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।

सन् २०२४ को मार्च १२ तारिखमा खेलिएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । सोही शृङ्खलाका क्रममा मार्च १३ तारिखमा खेलिएको खेलमा पीएनजीले नेपाललाई ८६ रनले पराजित गरेको थियो ।

त्यस लगत्तै मार्च १६ तारिखमा खेलिएको खेलमा पीएनजीले मलेसियालाई ७७ रनले हराएको थियो भने मार्च १७ तारिखमा खेलिएको खेलमा मलेसियाले पीएनजीलाई ६३ रनले पराजित गरेको थियो । नवौँ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा भने पीएनजीको टोली वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो ।

यसै गरी युगान्डा भने आफूले खेलेका पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । सन् २०२४ को मार्च १७ तारिखमा खेलिएको खेलमा युगान्डाले केन्यालाई ७२ रनले हराएको थियो ।

uganda

सोही शृङ्खलाअन्तर्गत मार्च १८ तारिखमा खेलिएको खेलमा युगान्डाले घानालाई एक सय २१ रनले हराएको थियो । मार्च २१ तारिखमा खेलिएको खेलमा युगान्डाको टोली नामिबियासँग २४ रनले पराजित भएका थियो ।

त्यसपछि मार्च २३ तारिखमा खेलिएको खेलमा युगान्डाले केन्यालाई एक सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । हाल अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ विश्वकपको आफ्नो पहिलो खेलमा भने युगान्डाको टोली अफगानिस्तानसँग एक सय २५ रनले पराजित भएको थियो ।

युगान्डाको वर्तमान टोलीमा सिमोन सेसाजी सबैभन्दा प्रभावशाली ब्याट्सम्यान हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६७ वटा छक्का प्रहार गरिसकेका छन् । उनी देशका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुन् ।

यो सूचिमा दिनेश नकरानी र रियाजत अली शाह दोस्रो स्थानमा छन् । यी दुवै खेलाडीले युगान्डाका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५६–५६ छक्का प्रहार गरेका छन् । यी दुवै खेलाडी पनि युगान्डाको विश्वकप टोलीका सदस्य हुन् ।

sese bau 2

अर्कोतिर जोन कारिको पीएनजीका प्रभावशाली बलर हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङतर्फ उनको इकोनोमी रेट केवल पाँच रहेको छ । ब्याटिङतर्फ भने सेसे बाउ पीएनजीका प्रभावशाली खेलाडी हुन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि एक हजार रन पूरा गर्ने चौथो खेलाडी बन्ने तयारीमा छन् । उनले ५९ खेलमा कुल नौ सय ४१ रन बनाइसकेका छन् ।

यो सूचिमा टोनी उरा एक हजार ६ सय २० रनसहित पहिलो, असाद भाला एक हजार दुई सय ६५ रनसहित दोस्रो र चार्ल्स अमिनी एक हजार ६ रनसहित तेस्रो स्थानमा आसीन छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप