सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

बजेटमाथि गगनको टिप्पणी : ६–८ महिनापछि आफैँले काँध हाल्नु पर्ने हो कि ?

बुधबार, २३ जेठ २०८१, १५ : ३५
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌मा बजेट ल्याए पनि कुनै दलले स्वामित्व नलिएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटको आलोचना गर्दा आफ्नै बोली गलपासो बन्ने खतरा रहेको टिप्पणी गरेका हुन् ।

गत वर्ष कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट उत्कृष्ट रहेको टिप्पणी गरेको थापाले स्मरण गर्दै बजेटको माइबाप सुरुमै नहुने देखिएको बताए । ‘२०८०–०८१ को बजेटको माइबाप कोही नरहेको धेरै पछि आएर मात्र थाहा भयो । तर २०८१–०८२ को बजेटको माइबाप कोही नहुने त सुरुमै थाहा भयो,’ थापाले भने ।

‘यो बजेटमाथि म बोल्ने कसरी भनेर अलमलिएको छु । यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं यतिधेरै उथलपुथल भएको छ संसदमा ६—८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्छु,’ उनले भने । 

गत वर्ष बजेटमा वाचन गरिएको अनुमान र प्रक्षेपणबारे यसपटक सोध्ने अवस्था नबनेको भन्दै यो पटकबारे पनि ओन्याल गरेको उनले बताए । ‘एक वर्षअघि पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटको वाचन गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले बजेट उत्कृष्ट रहेको टिप्पणी गर्नुभएको थियो । मैले त्यो बेलामा पनि भनेको थिएँ – एकवर्षपछि नयाँ बजेट ल्याउँदै गर्दा आजकै अर्थमन्त्रीलाई एक वर्षभित्र तपाईंले गरेको अनुमान मिल्यो कि मिलेन, प्रक्षेपण ठीक भयो भएन भनेर सोध्न पाउँछु कि पाउँदिन होला भनेको सम्झन्छु,’ उनले भने ।

यस्तै महामन्त्री थापाले २०८०–८१ को बजेटमा गरिएको घोषणाको जिम्मा कसले लिन्छ भनेर प्रश्न गरेका थिए । ‘अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापति (अध्यक्ष केपी शर्मा ओली)ले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?,’ उनको प्रश्न छ,  ‘सत्ता घटकको मुख्य दलले जिम्मा नलिएपछि अन्य दलमाथि टिप्पणी गर्नु छैन ।’

सर्वोच्चमा रहेको सत्तारुढ जसपाको मुद्दा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय छानबिन समितिको कठघरामा रहेको विषयलाई महामन्त्री थापाले कटाक्ष गरेका थिए । ‘कुनै दल (अशोक राई नेतृत्वको जसपा) सर्वोच्चमा उभिनुपर्ने अवस्था आएको छ, कुनै दल (रास्वपा) संसदीय समितिमा उभिनुपर्ने अवस्था आएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप