बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती मन्त्रीपरिषद् बैठक : बजेट सिलिङ कम भएको मन्त्रीकै गुनासो

बुधबार, २३ जेठ २०८१, १४ : ४६
बुधबार, २३ जेठ २०८१

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूले बजेट सिलिङ कम भएको गुनासो गरेका छन् । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकमा सहभागी मन्त्रीहरूले बजेट सिलिङ कम हुँदा नागरिकको माग अनुसारको योजना समेट्न नसकेको बताएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा १५ प्रतिशत बजेट सिलिङ घटाएर पठाएको भन्दै उनीहरूले मन्त्रीपरिषद् बैठकमा गुनासो गरेका हुन् ।

बजेटका विषयमा मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र अन्य मन्त्रीबिच चर्काचर्की जस्तै परेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीलाई बजेट सिलिङ बढाउन अन्य मन्त्रीले दबाब दिएका थिए । छलफलमा मुख्यमन्त्री र अर्थमन्त्रीले सिलिङ बढाउन नसक्ने बताएको र त्यसको प्रत्युत्तरमा मन्त्रीहरूले नागरिक, स्थानीय तह र सांसदहरूले सिफारिस गरेको योजना समावेश नहुँदाको परिस्थितिबारे जबाफदेही बन्न भनेका थिए ।

‘बजेटको सिलिङ कम भएको विषयमा विभागीय मन्त्रीहरूले मुख्यमन्त्री र अर्थ मन्त्रीसँग गुनासो गरेका हुन् । उहाँहरू सिलिङ थप गर्न नहुने भन्दै अडानमा हुनुहुन्छ । हामीले आवश्यकता र माग अनुसार बजेट दिन नसक्ने अवस्था रहेकाले सम्बन्धित स्थानीय तह, सांसद र नागरिकका विषयमा स्वयं जबाफदेही बन्न भनेका छौँ,’ उनले भने ।

बैठकमा सहभागी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बजेट सिलिङ अनिवार्य दायित्व र नियमित कार्यक्रमका लागिमात्र आएको बताए । बजेट सिलिङ चालुको भन्दा कम प्राप्त हुँदा पुँजीगत तर्फको खर्च कटौती भएकाले नागरिकको माग र आवश्यकता सम्बोधन गर्न सक्ने अवस्था नरहेकाले मन्त्रीपरिषद् बैठकमा छलफल भएको उनले बताए ।

‘सरकार पैसा छैन भनिरहेको छ । हाम्रो माग अनुसार पैसा आउन सकेको छैन । हामी नागरिकको माग सम्बोधन भएन, बजेट सिलिङ बढाउ भनिरहेका छौँ । अनिवार्य दायित्व र नियमित कार्यक्रमका लागिमात्र बजेट सिलिङ पठाइएको छ,’ उनले भने ।

मन्त्री लम्सालले नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत क्षेत्रका योजना समेट्न मन्त्रालयलाई कठिन भइरहेको बताए । ‘स्थानीय तह र सांसदहरूले माग गरेको योजनामा हाल्ने पैसा मन्त्रालयमा छैन,’ उनले भने, ‘यस परिस्थितिमा सरकार बजेट सिलिङ बढाउन हुँदैन भन्नेमा अडान कायम राखेर बसेको छ ।’

उनका अनुसार मन्त्रालयमा कम सिलिङ पठाएर मुख्यमन्त्री र अर्थ मन्त्रीले ठुलो रकम राख्ने र अनुकूलताको आधारमा विनियोजन गर्ने सरकारको रणनीति रहेको मन्त्रीहरूको आशङ्का छ । बजेट सिलिङ पठाउने विषयमा मुख्यमन्त्री र अर्थमन्त्रीको प्रवृत्ति ठिक नभएको उनको भनाइ छ ।

‘आफू अनुकूल चलान ठुलो रकम अर्थ र मुख्यमन्त्रीले चलाउने गरी राखिएको छ भन्ने आशङ्का हाम्रो हो । उहाँहरूले गरेको व्यवहार र प्रस्तुति ठिक भइरहेको छैन । पैसा पठाए जनताको काम हुन्छ अन्यथा बजेटमा सम्बोधन हुँदैन । जवाफ उहाँहरूले नै दिने हो,’ उनले भने ।

प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यका अनुसार विभागीय मन्त्रालयको सिलिङ कम भएको विषयमा मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरूले प्रश्न गरेका हुन् । नागरिकको आवश्यकता बढ्दो क्रममा रहेका बखत अर्थ मन्त्रालयले बजेट सिलिङ घटाउँदा समस्या भएको हो ।

‘बजेट निर्माणको चरण सुरु भएदेखि मन्त्रालयमा बजेट माग गर्नेको चाप छ । तर, सिलिङ कम पठाउँदा सम्बोधन गर्न सक्ने अवस्था छैन । सो विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो,’ उनले भने ।

खेलकुद मन्त्रालयको बजेट बन्दैन : मन्त्री मगर

प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले मन्त्रालयले बजेट नबनाउने बताएकी छन् । मन्त्रीपरिषद् बैठकमा समेत सशक्त रूपमा प्रस्तुत हुँदै उनले तत्कालको सिलिङमा मन्त्रालयले बजेट नबनाउने बताइन् ।

प्रदेशको हरेक वडा र पालिकामा खेल मैदान निर्माणको योजना बनाउने सरकारले मन्त्रालयको बजेट सिलिङ ५६ करोडको पठाएको भन्दै असन्तुष्टि उनले व्यक्त गरिन् । अनिवार्य दायित्व बेहोर्ने र गत वर्षको खर्च तिर्न नै नपुग्ने गरी बजेट सिलिङ पठाएका कारण आफूले बजेट निर्माण नगर्ने मन्त्रीपरिषद् बैठकमै बताएको उनको भनाइ छ ।

प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटमा सो मन्त्रालयले १ अर्ब २२ करोड रुपैयाँको सिलिङ पाएको र चालु आर्थिक वर्षको सिलिङमा समेत घटाएर पठाएको उनको भनाइ छ । चालु खर्च र नियमित कार्यक्रम बाहेक क्रमागत र बहुवर्षे तथा स्रोत सुनिश्चितता गर्नुपर्ने योजनामा समेत नपुग्ने गरी सिलिङ पठाएकाले बजेट निर्माण नगर्ने उनले बताइन् ।

सो विषयमा मन्त्रालयका कर्मचारीको तलब भत्ता र अन्य खर्चहरूको व्यवस्थापन गर्न अर्थमन्त्रीलाई जानकारी गराएको मन्त्री आलेको भनाइ छ । १ अर्ब बजेट सिलिङ प्राप्त नभएसम्म बजेट निर्माण कार्य नगर्न मन्त्रालयमा निर्देशन गरेको उनले प्रस्ट पारिन् । त्यसपछि अर्थमन्त्रीले बजेट सिलिङ थप गरेर पठाउने आश्वासन दिएको उनले बताइन् ।

२४ गते सिस्टम बन्द गर्ने भनेपछि भड्किए मन्त्री

jagannath thapaliya

मन्त्रीपरिषद् बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले २४ गते राति १२ बजेसम्ममा बजेट सिलिङ अनुसार बजेट प्रविष्ट गर्न र सो पश्चात बजेट प्रणाली बन्द गर्ने भनेपछि मन्त्रीहरू भड्किएका थिए ।

बजेट सिलिङ कम पठाएर काम गर्न समस्या भइरहेको अवस्थामा सिस्टम बन्द गर्ने मन्त्री थपलियाको चेतावनीपूर्ण निर्देशनपछि मन्त्रीहरू रिसाएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

मन्त्री थपलियको उक्त निर्देशनविरुद्ध मन्त्रीहरूले विभागीय रूपमा बजेट प्रणाली बन्द गर्ने र अन्य योजनाहरू समावेश गर्न नदिने बताएका थिए । विभागीय मन्त्रालयबाट बजेट प्रणाली बन्द गरेर नयाँ योजना थप हुन नदिने भनेपछि मन्त्री थपलिया केही लचक बनेको ती मन्त्रीले बताए ।

बजेट सिलिङको समस्या हल गर्न मन्त्री थपलियाले चासो नदिएर मन्त्रीहरूलाई चेतावनी दिने काम गरेको उनको भनाइ छ ।

मन्त्री लम्सालका अनुसार बजेट सिलिङ कम भइरहेको अवस्थामा अर्थमन्त्रीले २४ गतेसम्म सिलिङ अनुसार कार्यक्रम प्रविष्ट गर्न आग्रह गरेका थिए । तर, बजेटमाथिको समस्या हल नभइ बजेट प्रणाली बन्द गर्ने पक्षमा मन्त्रीहरू नरहेको उनको भनाइ छ ।

‘अर्थमन्त्रीले २४ गतेसम्म बजेट सिलिङमा योजना प्रविष्ट गर्न र सो पश्चात बन्द गर्ने निर्देशनात्मक आग्रह गरेका थिए । उहाँले आग्रह गरेरमात्र हुँदैन, हामीले नागरिकलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । मिलेर आए २४ गते हुन्छ, नभए हुँदैन । केही दिन सर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप