मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने

विपद् कोषहरूबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात : गृहमन्त्री
बुधबार, २३ जेठ २०८१, १३ : ४९
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । 

उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए ।

उनले भने, ‘कार्यकारी समितिको बैठकबाट मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय भएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरूले कार्य गर्नेछन् । कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई, जोखिमको आङ्कलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रूपमा संयोजनकारी भूमिका खेल्नेछ । यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ ।’ 

अन्य ठाउँमा समन्वय गर्नुपर्ने भए यसले आफै समन्वय गर्ने उनको भनाई छ । समन्वयको अभावले सामानहरू नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरूबाट विगतमा भएका अनुभवहरूबाट सिकेर कमान्ड पोस्टलाई पूर्ण अधिकार प्रदान गरिएको उनको भनाई छ । 

‘कमान्ड पोस्टले आवश्यक पर्दा प्रत्यक्ष रूपमा गृहमन्त्री, गृह सचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहन्छु । आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ । र टोली आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरूबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताए । उनले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महसुस हुने गरी गर्न सकिने जिकिर गरे । 

त्यस्तै, ७३ हजार ६७० क्विन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याङ्केट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उहाँले जानकारी दिए । उनले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी बल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताए ।

उहाँले भन्नुभयो – ‘१२ वटा बेलिब्रिज स्ट्याण्ड बाइ छ । देशका विभिन्न भागमा सडक खोल्नका लागि हेवी इक्युपमेन्टलाई तैनाथ राखिएको छ । यो सेन्टरले कल गर्न बित्तिकै तुरुन्तै अघि बढ्ने गरी तयार राखिएको छ । नेपाली सेनाको हेलिकप्टर तयार अवस्थामा राखेको छ ।’ मन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै छिटोछरितो गरिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप