समाजवादी क्रान्तिको कार्यनीतिक कार्यदिशा
नेपाली समाजवादी क्रान्तिको बाटो निर्धारण गर्नुका साथै हामीले क्रान्तिका रणनीतिक र कार्यनीतिक कार्यदिशाका बारेमा पनि प्रस्ट धारणा अघि सार्नुपर्छ । तब मात्र हामीहरू क्रान्तिकारी सङ्घर्षको प्रवाहलाई उग्रवामपन्थी वा दक्षिणपन्थी दुवै भड्काउबाट रक्षा गर्दै सही दिशामा अघि बढाउन सक्छौँ । क्रान्तिको रणनीतिक प्रक्रिया र लक्ष्यबारेमा हामीले माथि पनि विश्लेषण गरिसकेका छौँ । कम्युनिस्ट पार्टीलाई सुदृढ, सशक्त र राष्ट्रव्यापी बनाउनु, त्यसको नेतृत्वमा व्यापक संयुक्त मोर्चा बनाउनु, विविध रूपका सङ्घर्षहरू मार्फत दलाल पुँजीवाद र तिनका राजनीतिक प्रतिनिधिहरूलाई सत्ताच्युत गर्नु र स्वतन्त्र समाजवादी गणतन्त्र नेपालको स्थापना गर्न हाम्रो वर्तमान क्रान्तिको रणनीतिक कार्यदिशा हो ।
तर त्यो रणनीतिक कार्यदिशालाई वा रणनीतिक लक्ष्यलाई कार्यान्वयन गर्न कहाँबाट सुरु गर्ने त ? हाम्रो प्रचार, सङ्गठन र सङ्घर्ष कसकाविरुद्ध कसरी सुरु गर्ने ? यो हाम्रो कार्यनीतिक कार्यदिशाको प्रश्न हो । यो कार्यनीतिक कार्यदिशा निर्धारण निम्न कुराका आधारमा हुन्छ र हुने गर्छ ।
१. सबैभन्दा पहिले हामीले समाजको प्रधान वर्गीय अन्तर्विरोधको आधारमा प्रधान राजनीतिक अन्तर्विरोधलाई सही ढङ्गले निर्धारण गर्नुपर्छ । प्रधान राजनीतिक अन्तर्विरोध पत्ता लगाउन सकिएन भने सही कार्यनीतिक कार्यदिशा निर्धारण गर्न सकिन्न । प्रधान राजनीतिक अन्तर्विरोध निर्धारण नै गलत ढङ्गले गर्न पुगियो भने कार्यनीतिक कार्यदिशा पनि गलत हुन पुग्छ । त्यसैले हामीले यो कुरामा अत्यन्त होसियार हुन सक्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा यही सवालमा अक्सर गल्ती हुने गरेको छ र आन्दोलनमा दक्षिणपन्थी वा उग्रवामपन्थी प्रवृत्तिहरू प्रकट हुने गरेका छन्। यति वेला दलाल पुँजीवादको मुख्य प्रतिनिधि दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिसँगको राजनीतिक अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो भन्ने कुरामा हामी अत्यन्त प्रस्ट र दृढ हुनुपर्छ । तब मात्र हाम्रो कार्यदिशा क्रान्तिकारी जगमा उभिन्छ ।
२. प्रधान राजनीतिक अन्तर्विरोध निर्क्यौल गर्नेवित्तिकै प्रमुख प्रतिद्वन्द्वी निर्धारण गर्ने प्रश्न अघि आउँछ । तर हामीले प्रधान राजनीतिक अन्तर्विरोध ठिक ढङ्गले निर्धारण गरेका छौ भने प्रधान प्रतिद्वन्द्वी स्वतः स्पष्ट भइहाल्छ । हर अवस्थामा दलाल पुँजीवादको मुख्य प्रतिनिधि दक्षिणपन्थी प्रतिक्रियावादी शक्ति नै त्यस कालखण्डमा क्रान्तिकारी शक्तिको प्रतिद्वन्द्वी हो भन्ने कुरा छर्लङ्ग छ । हाम्रा प्रचार, सङ्गठन र सङ्घर्षका कामलाई हाम्रो कार्यनीतिक कार्यदिशा निर्धारण गर्ने प्रक्रियामा ती दुई कुरा प्राथमिक महत्वका विषयहरू हुन् । यी दुवै कुरा वर्ग सङ्घर्षको विकास क्रममा परिवर्तनशील हुन्छन् । कार्यनीतिक रूपले फेरिन सक्छन्। त्यस्तो अवस्थामा कार्यनीतिक कार्यदिशामा आवश्यक पुनर्व्यवस्थापन गर्न कम्युनिस्ट पार्टी सिपालु हुनुपर्छ ।
३. हामीले उपरोक्त प्रमुख राजनीतिक अन्तर्विरोधलाई समाधान गर्न प्रमुख प्रतिद्वन्द्वीका विरुद्ध सम्पूर्ण प्रचार, सङ्गठन र सङ्घर्षका कामलाई केन्द्रित गर्दै अघि बढेर तत्काल प्राप्त गर्ने कार्यनीतिक लक्ष्य के हुनुपर्छ त ? हामीले त्यस्तो कार्यनीतिक लक्ष्य निर्धारण गर्न पनि सिपालु हुनुपर्छ । त्यो कार्यनीतिक लक्ष्य भनेको सधैँभरि रणनीतिक लक्ष्यको अङ्क हुन्छ र रणनीतिक लक्ष्यलाई प्राप्त गर्न सघाउने हुनुपर्छ । त्यो भनेको सही वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिस्ट पार्टीलाई जन आधारित, देशव्यापी र लोकप्रिय पार्टीको रूपमा विस्तार गर्ने, पार्टीका वरिपरि वर्गीय र प्रगतिशील राजनीतिक मोर्चा निर्माण गर्ने, संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने, देशभक्त, जनमुखी र समाजवादी
सरकार बनाउने र जनता र राष्ट्रका तत्कालीन समस्याहरू समाधान गर्दै समाजवादतिर अग्रसर हुने कार्यनीतिक लक्ष्य बनाएर काम गर्नुपर्छ । संसदीय लोकतन्त्रलाई क्रान्तिकारी ढङ्गले अधिकतम रूपमा उपयोग गर्नुपर्छ र समाजवादी क्रान्ति र रूपान्तरणको आधार फराकिलो पार्दै अघि बढ्नुपर्छ । यो हाम्रो कार्यनीतिक कार्यदिशाको अर्को महत्त्वपूर्ण पक्ष हो । यहीनेरबाट दुईवटा बाटा फाटिन्छन् । एउटा क्रान्तिकारी संसदवादको लेनिनवादी कार्यदिशा, अर्को बुर्जुवा संसदवादको यथास्थितिवादी कार्यदिशा । हामीले बुर्जुवा संसदवादको कार्यदिशालाई विना हिचकिचाहट परित्याग गर्नुपर्छ र क्रान्तिकारी
संसदवादको कार्यदिशालाई अनुसरण गर्नुपर्छ । यो हाम्रो कार्यनीतिक कार्यदिशाको अभिन्न अङ्ग हो ।
४. हाम्रो कार्यनीतिक कार्यदिशाको अर्को महत्त्वपूर्ण प्रश्न हो–सङ्गठन र सङ्घर्षका रूपहरू कस्ता हुने भन्ने प्रश्न । नेपाली क्रान्तिको विकासको वर्तमान अवस्थामा नेपाली समाजमा पुँजीवादी वैधानिक लोकतन्त्र स्थापित छ । हाम्रो पार्टी वैधानिक छ । हाम्रो आन्दोलन वैधानिक छ र हाम्रा क्रियाकलापहरू सबै वैधानिक छन् । त्यसैले यति वेला हाम्रो सङ्गठनका रूपहरू खुल्ला, वैधानिक र कानुनी हुनेछन् । त्यसरी नै हाम्रा सङ्घर्षका रूपहरू पनि खुला, वैधानिक र कानुनी नै हुनेछन्। यही आधारमा हामीले पार्टी सङ्गठनको सञ्जाललाई केन्द्रबाट प्रदेश, जिल्ला, पालिका, वार्ड र गाउँ तथा टोलहरूसम्म विस्तार गर्नुपर्छ । त्यसरी नै पार्टीका वरिपरि प्रत्येक जनसङ्गठनका देशव्यापी सञ्जालहरू फैलाउनुपर्छ ।
प्रधान राजनीतिक अन्तर्विरोध र प्रधान निशानाका बारेमा मत मिल्ने शक्तिहरूसँग राजनीतिक मोर्चाबन्दी पनि गर्नुपर्छ । यसरी व्यापक जनतालाई पार्टीका वरिपरि गोलबन्द गर्दै उनीहरूलाई बहुआयामिक सङ्घर्षमा उतार्नु पर्छ । तब मात्र क्रान्तिकारी शक्तिको विकास र विस्तारमा तीव्रता आउनेछ ।
५. हामीले कार्यनीतिक कार्यदिशालाई निर्धारण गरिरहँदा क्रान्तिकारी सङ्घर्षमा विभिन्न वर्ग शक्तिहरूको यथोचित विन्यासलाई पनि ध्यान दिनुपर्छ । श्रमजीवी वर्गले कम्युनिस्ट पार्टीमार्फत सही र प्रभावकारी नेतृत्व प्रदान गर्ने कुरालाई सबै मोर्चाहरूमा स्थापित गर्नुपर्छ । साथै यो समाजवादी क्रान्तिकारी आन्दोलनलाई अघि लैजाने क्रममा हाम्रो मुख्य शक्ति के हो त ? यो कुरालाई पनि प्रस्ट पार्नुपर्छ । अहिले पनि हाम्रो देशका विशाल ग्रामीण क्षेत्रमा रहेर हर प्रकारका दु:खकष्ट र शोषण उत्पीडनमा पिल्सिरहेका किसान जनता नै हाम्रो क्रान्तिका मुख्य शक्ति हुन् । जबसम्म आम किसान जनताका बिचमा हाम्रो सङ्गठन पुग्न सक्दैन, उनीहरूलाई जबसम्म जागृत, सङ्गठित र एकताबद्ध बनाउँदै उद्देश्यमूलक ढङ्गले उनीहरूलाई सङ्घर्षको मैदानमा ल्याउन सक्दैनौँ, तबसम्म समाजवादी क्रान्तिको लहर सृजना हुन सक्तैन । यो कुरालाई हाम्रो कार्यनीतिक कार्यदिशाले केन्द्र विन्दुमा राख्नुपर्छ र त्यसै अनुरूप पार्टीको मुख्य शक्तिलाई परिचालित गर्नुपर्छ ।
६. त्यसैगरी आजको अवस्थामा हाम्रो कार्यनीतिक कार्यदिशाले पार्टीका वरिपरि सङ्गठित भइरहेका विभिन्न वर्ग, तह र समुदायका सङ्गठनहरू तथा विभिन्न जाति, जनजाति र सांस्कृतिक सङ्गठनहरूलाई व्यापक रूपले परिचालन गर्ने कामलाई उच्च महत्त्व दिनुपर्छ । जुन वर्गीय र सामुदायिक सङ्गठनहरू विकसित भइरहेका छन्, तिनीहरू प्रत्येकको अलग–अलग महत्त्व छ । किसान, महिला र श्रमिकहरूका सङ्गठनहरूको एकखाले महत्त्व छ । तिनीहरूलाई अलिक भिन्न
महत्वका साथ परिचालन गर्न सक्नुपर्छ । युवा र विद्याजीहरूका सङ्गठनको अर्को महत्त्व छ । यिनीहरू समाजका सबभन्दा गतिशील, सृजनशील र ऊर्जाशील समुदायका सङ्गठनहरू हुन्। यी दुई सङ्गठनलाई ठिक ढङ्गले परिचालन गर्न सकियो भने मुलुकमा हलचल ल्याउन धेरै समय पर्खिनु पर्दैन तर यी सङ्गठनहरूलाई ठिक ढङ्गले परिचालन गर्ने सकिएन भने सिङ्गो पङ्क्तिमा नै नकारात्मक असर पार्छ । आज ठिक त्यही भइरहेको छ । त्यसका साथै सांस्कृतिक सङ्गठनहरू छन्, तिनीहरूको महत्त्व त्यस्तै गहन र तत्कालीन तथा दीर्घकालीन महत्त्व छ । तिनीहरू अत्यन्त गतिशील र सृजनशील बनाउन पर्ने सङ्गठनहरू हुन्। त्यस्तै अरू सबै सङ्गठनहरूको महत्त्वपूर्ण भूमिका छ । हाम्रो कार्यनीतिक कार्यदिशाले यी कुराहरूलाई यथेष्ट रूपले ध्यान दिएर अघि बढाउन सक्नुपर्छ ।
७. हामीले समाजवादी क्रान्तिलाई अघि बढाइ रहँदा हाम्रा रणनीतिक लक्ष्य र कार्यनीतिक लक्ष्यहरू निर्धारण गरेका छौ । हाम्रा रणनीतिक लक्ष्य समाजवादी क्रान्तिको सिङ्गो कालभरि अपरिवर्तनीय रहन्छ तर हाम्रा कार्यनीतिक लक्ष्यहरू भने वर्ग सङ्घर्षको विकास क्रममा आउने राजनीतिक फेरबदलहरूसँगै कार्यनीतिक लक्ष्यहरू परिवर्तन भइरहन्छन्। त्यसरी आउने परिवर्तनहरूसँगै प्रमुख कार्यनीतिक नाराहरू पनि बदलिने गर्छन् । जति वेला हामीले जस्तो कार्यनीतिक लक्ष्य अघि सार्छौ ।
त्यसको सार तत्त्वलाई वेष्टित गर्ने गरेर हामी मुख्य कार्यनीतिक नारा पनि अघि सार्छाैँ । त्यो मुख्य कार्यनीतिक नाराले हाम्रा तत्कालीन सम्पूर्ण प्रचार, सङ्गठन र सङ्घर्षका कामहरूलाई मार्गदर्शन गर्ने काम गर्छ र ती सम्पूर्ण कामहरूलाई प्रमुख निशानामा केन्द्रित गर्ने काम गर्छ । त्यसैले हामीले हर काल खण्डमा एउटा मुख्य कार्यनीतिक नारा पनि अघि सार्नुपर्ने हुन्छ । त्यस्तो नारा के हुनसक्छ ? त्यस्तो नारा निम्न बमोजिम सूत्रबद्ध गर्न सकिन्छ । “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ । समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ”। यो हाम्रो कार्यनीतिक कार्यदिशाको अर्को महत्त्वपूर्ण तत्त्व हो ।
यसरी हाम्रो पार्टीको आजको कार्यनीतिक कार्यदिशाका उपरोक्त सात वटा पक्षहरू एकीकृत ढङ्गले अघि बढाएर मात्र हामीहरू कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताको क्रान्तिकारी शक्तिलाई छिटोछिटो गोलबद्ध गर्न सक्छौँ । एक पछि अर्को हाम्रा कार्यनीतिक लक्ष्यहरू पुरा गर्न सक्छौ र जनता तथा मुलुकलाई वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढाउन सक्छौँ ।
समाजवादी क्रान्तिका तीन प्रमुख सवालहरू
उपरोक्त कार्यदिशाका आधारमा समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रियालाई सफलतापूर्वक अघि बढाउनका निम्ति हामी क्रान्तिका तीन वटा हतियारहरूलाई अत्यन्त कुशलतापूर्वक निर्माण र परिचालन गर्नुपर्छ ।
(क).एउटा क्रान्तिकारी र शक्तिशाली कम्युनिस्ट पार्टी : समाजवादी क्रान्ति सञ्चालन गर्ने सबैभन्दा प्रमुख साधन सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी हो किनभने समाजवादी क्रान्ति पुँजीवादी समाजका आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक सबै पक्षमा आमूल परिवर्तन गर्ने दीर्घकालीन प्रकृतिको क्रान्ति भएकाले यस क्रान्तिको नेतृत्व गर्ने अभिभारा वर्गीय रूपमा सर्वहारा–श्रमजीवी वर्गको तथा राजनीतिक रूपमा सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको भएको हुँदा यस क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउन मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा मुलुकका सर्वहारा श्रमजीवी वर्गको राजनीतिक नेतृत्वका रूपमा काम गर्ने सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र सक्तछ ।
— पार्टीले जहिले सुकै पनि प्रधान राजनीतिक अन्तर्विरोध र प्रधान निशानालाई केन्द्रित गरेर आफ्ना प्रचार, सङ्गठन र सङ्घर्षलाई अघि बढाउन प्रस्ट र तत्पर हुनु पर्छ ।
— पार्टी मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाइप्रति निष्ठावान् भएको हुनुपर्छ र त्यसलाई आफ्ना सम्पूर्ण विचार र व्यवहारको मार्गदर्शक मान्ने हुनुपर्छ ।
— पार्टीले मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाईहरूलाई नेपाली समाजवादी क्रान्तिको ठोस व्यवहारमा सृजनात्मक रूपले गाँस्न र मुलुकको विशेषता र वास्तविकता अनुरूप सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र विधि विधान बनाउन सक्षम हुनुपर्छ ।
— पार्टी वर्ग आधारित, जन आधारित र राष्ट्रव्यापी बन्नुपर्छ ।
— पार्टी आम जनता, राष्ट्र, क्रान्ति र समाजवादप्रति प्रतिबद्ध हुनुपर्छ ।
— पार्टी नेपाली क्रान्तिका सामु उत्पन्न हुने कुनै पनि वैचारिक–सङ्गठनात्मक समस्याहरूको समाधान गर्न हर बखत तत्पर र सक्षम हुनुपर्छ ।
— पार्टी सर्वोपरि रूपमा आफ्नो स्थापनाका ऐतिहासिक लक्ष्य प्राप्तिका निम्ति सङ्कल्पबद्ध हुनुपर्छ । पार्टी सही क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र एकीकृत पार्टी निर्माण गर्न तत्पर हुनुपर्छ ।
— यस्तो पार्टी मात्र क्रान्तिकारी वर्ग सङ्घर्ष सञ्चालनका निम्ति धारिलो, खिरिलो र फुर्तिलो हुनसक्छ । यो समाजवादी क्रान्तिको सर्वाधिक महत्त्वपूर्ण हतियार हो ।
(ख).दोस्रो हतियार हो–व्यापकतम संयुक्त मोर्चा : श्रमिक वर्गको पार्टी कम्युनिस्ट पार्टीले हर अवस्थामा प्रधान राजनीतिक अन्तर्विरोध र प्रधान निशानाका विरुद्ध प्रथमतः व्यापक वर्गीय संयुक्त मोर्चा निर्माण गर्नुपर्छ । कम्युनिस्ट पार्टीले विभिन्न वर्ग, तह र समुदायका जनताका बिचमा जति फराकिलो र गहिरो रूपमा कामलाई फैलाउँदै जान्छ र आफ्ना वरिपरि विभिन्न वर्ग, तह र समुदायका सङ्गठनहरूको सञ्जाल विस्तार गर्दै जान्छ, त्यस्तो वर्गीय संयुक्त मोर्चा त्यति नै विकसित, विस्तृत र सुदृढ बन्दै जान्छ । त्यस्तो मोर्चा कार्यनीतिक चरित्रको मात्र हुँदैन वर्गीय संयुक्त मोर्चा एउटा रणनीतिक महत्त्वको संयुक्त मोर्चा पनि हो । हामीले संयुक्त मोर्चा निर्माण गर्दा पहिलो प्राथमिकता यसैलाई दिनुपर्छ । यो पनि प्रधान राजनीतिक अन्तर्विरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध केन्द्रित हुन्छ ।
त्यसका साथै खास अवस्थामा अस्थायी हिसाबले एक वा अर्को राजनीतिक संयुक्त मोर्चा पनि बन्न सक्छन् । यस्ता मोर्चाहरू स्थायी हुँदैनन् खास शत्रु, निशाना, गठबन्धन वा अवरोधका विरुद्ध सङ्घर्ष गर्न साझा आधार भएका दुई वा दुईभन्दा बढी पार्टीहरू संयुक्त भएर अघि बढ्ने मोर्चालाई राजनीतिक संयुक्त मोर्चा भनिन्छ । जस्तो २०४६ सालमा हामीले संयुक्त वाममोर्चा बनायौ, कांग्रेससँग वाममोर्चाको कार्यगत एकता गर्यौँ, १९ माघपछि ७ राजनीतिक पार्टीहरूको मोर्चा बनायौ, त्यो मोर्चा र नेकपा (माओवादी)सँग कार्यगत एकता गर्यौँ, संविधान घोषणा भएपछि पहिलो चुनावमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच चुनावका सन्दर्भमा कार्यगत एकता भयो ।
यी विभिन्न कालखण्डमा हामीले नै गरेका राजनीतिक संयुक्त मोर्चाका विविध रूप हुन् । यी सबै कार्यनीतिक मोर्चा हुन् यस्तो मोर्चाहरू खास उद्देश्यपूर्तिका लागि बन्छन्र तिनीहरू आफै विघटित हुन्छन्।
हामीले आवश्यकता हेरिकन यस्ता मोर्चाहरू बनाउनुपर्छ । अहिले नेपालमा वामपन्थी आन्दोलनमा आएको विभाजनले गर्दा दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरू आफूलाई क्रमशःः वलियो बनाउँदै छन्। यस्तो वेलामा वस्तुगत आवश्यकताको दृष्टिले गर्दा दक्षिणपन्थी प्रतिकृयावादी शक्तिहरूका विरुद्ध व्यापक वामपन्थी मोर्चा बनाउन पर्ने आवश्यकता छ । तर आत्मगत रूपले ठुला भनिने वामपन्थी समुहका नेताहरू नैसाझा आधार खोज्न तयार छैन्न । तर वस्तुगत आवश्यकता र बिभाजनले अनिवार्य रूपमा ल्याउने दुखद परिणामहरू भोग्दै गएपछि नयाँ परिस्थिति आउँछ । हामीले हाम्रो कार्यनीतिक कार्यदिशालाई लागुगर्दा योकुरालाई पनि गंभीरतापुर्वक लिनैपर्छ । यसरी हामीले अस्थायी मोर्चा बनाउन पर्ने आवश्यकता र तिनीहरूको महत्वलाई पनि गहिरो गरी बुन्नुपर्छ । चाहे वर्गीय संयुक्त मोर्चा होस् या राजनीतिक संयुक्त मोर्चा होस् समाजवादी क्रान्तिलाई अघि बढाउने सिलसिलामा बनाउन पर्ने यो अत्यन्त महत्त्वपूर्ण दोस्रो हतियार हो । मोर्चा जुन सुकै रूपको भए पनि क्रान्तिको दौरानमा बनाउने संयुक्त मोर्चा भनेको प्रमुख प्रतिद्वन्द्वी विरुद्ध व्यापकतम र अधिकतम वर्ग र शक्तिका जनतालाई एकताबद्ध बनाउँदै प्रतिद्वन्द्वीलाई एक्लो पारेर प्रहार गर्ने क्रान्तिकारी कार्यनीति हो ।
(ग).तेस्रो हतियार हो– बहुआयामिक वर्ग सङ्घर्ष हाम्रो देशमा पुँजीवादीजनवादी क्रान्ति सम्पन्न भएको पनि १८ वर्ष पुग्दै छ । यो बिचमा पुँजीवादी सामाजिक– आर्थिक ढाँचा हरेक प्रकारले सुदृढ बनेको छ । त्यो ढाँचाका हरेक क्षेत्रमा दलाल पुँजीवाद हाबी बनेकै छ । आम जनताका हरेक
हिस्सामा दलाल पुँजीवादीशोषण, दमन, उत्पीडन झनझन चर्को बनेको छ । मुट्ठीभरका दलाल पुँजीवादी नायकहरूका हातमा राष्ट्रिय आय र सम्पति केन्द्रित हुँदै गैरेको छ । गरिबिको रेखामुनि रहेका जनताको पङ्क्ति अझ विस्तार हुँदै गएको छ । आम किसान जनतामाथि समेत वित्तीय शोषण र श्रम शोषण झन् चर्को बनेको छ । मिटर व्याजीहरूको उत्पीडनले किसानहरू बेघरबार बन्न समेत बाध्य भइरहेका छन्। देशको कृषि,उद्योग, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा विकार र विकृतिहरू बढिरहेका छन्।
साम्राज्यवाद र प्रभुत्ववादको हस्तक्षेप, नियन्त्रण, दबाब र घुसपैठ राष्ट्रिय जीवनका हरेक क्षेत्रमा बढिरहेको छ । राष्ट्रियतामाथिको खतरा निरन्तर बढिरहेको छ । समाजमा वर्गीय शोषण र दमन मात्र होइन विभिन्न प्रकारका लैङ्गिक, जातीय, भाषिक र सांस्कृतिक विभेदहरू बढिरहेका छन्। त्यसले गर्दा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राष्ट्रियतामाथिको सङ्कट अझ गहिरो बन्दै गएको छ । सर्वोपरि रूपमा दलाल पुँजीवाद र व्यापक जनताबिचको अन्तर्विरोध लगातार चर्को बन्दै गएको छ । यस्तो अवस्थामा हामीले जनताका चाहना र आकाङ्क्षा अनुरूप बहुआयामीक वर्ग सङ्घर्षको विकास गर्न हर सम्भव प्रयास गर्नुपर्छ र जनतालाई उज्ज्वल भविष्यको बाटो देखाउनुपर्छ । यतिवेला निम्न बमोजिमका सङ्घर्षहरूलाई अग्रगति दिनुपर्छ -
– दलाल पुँजीवादको शोषण, उत्पीडन, ठगी, कालोबजारी, तस्करी , वित्तीय शोषण आदिका विरुद्धका सङ्घर्षहरू
– समाजमा भइरहेको एकपछि अर्को भ्रष्टाचारका काण्डहरूका विरुद्धका संघर्षहरू
– महिलाहरू माथि निरन्तर भइरहेका मानसिक र भौतिक हिंसा र विभेद विरुद्धका सङ्घर्षहरू
– दलाल पुँजीवाद र राज्यसत्ताबाट भइरहेका जातीय, भाषिक, सांस्कृतिक आस्थागत विभेद विरुद्धका सङ्घर्षहरू
– दलित जनतामाथि भइरहेका विभेद र अत्याचारका विरुद्धका सङ्घर्षहरू
– मिटरव्याजी पीडित किसानहरू, सुकुम्वासी किसानहरू तथा विभिन्न प्रकारका विभेद विरुद्धका सङ्घर्षहरू
– शिक्षा, स्वास्थ्यका क्षेत्रमा देखा परेका विकृतिहरू विरुद्धका सङ्घर्षहरू
– राष्ट्रियता माथि भइरहेका अतिक्रमण, हस्तक्षेप र नियन्त्रण विरुद्धका सङ्घर्षहरू
यसरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा भइरहेका अन्याय, अत्याचार र विभेदका विरुद्ध तथा राष्ट्रियतामाथि बढि रहेका खतराका विरुद्धका सङ्घर्षहरूलाई अघि बढाउनु पर्छ । यो बहुआयामिक वर्ग सङ्घर्ष समाजवादी क्रान्तिको अर्को अमोघ अस्त्र हो । यी सम्पूर्ण सङ्घर्ष विरुद्धको निशाना दलाल पुँजीवाद र त्यसको मुख्य प्रतिनिधि प्रतिकृयावादी राजनीतिक शक्ति हो । यो सङ्घर्ष नै नेपाली समाजको विकासको मुख्य कडी हो । यी तीन वटा हतियारहरू जति चाँडो निर्माण गर्न सकिन्छ, नेपालको समाजवादी क्रान्ति त्यति नै चाँडो अघि बढ्दै जान्छ ।
(एकीकृत समाजवादीको केन्द्रीय समितिबाट अनुमोदित सम्मानित नेता झलनाथ खनालले १० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजको एक अंश)