शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
सरोकार

सर्पदंशको विकराल अवस्था : ८० प्रतिशतको बाटोमै निधन

डा. आचार्यलाई प्रश्न : सर्पको टोकाइबाट कसरी जोगिने ?
बुधबार, २३ जेठ २०८१, ११ : ०५
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । नेपालमा गर्मी सिजन सुरु भएसँगै सर्पदंशको घटना हुने गरेको छ । तराईका २६ जिल्ला र भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अध्यधिक खतरा हुन्छ । बर्सेनि करिब ४० हजार मान्छे सर्पदंशको प्रकोपमा पर्ने पछिल्लो अध्ययनले देखाएको छ ।

यसमध्ये बर्सेनि करिब ४ हजार जनाको मृत्युसमेत भएको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलेजिस्ट डा. कृष्ण प्रसाद आचार्यले बताए ।

‘नेपालमा सन् २०१० मा सर्पसँग सम्बन्धी एक अध्ययन भएको थियो । वार्षिक ३० हजारदेखि ४० हजारसम्म सर्पदंशको घटना हुन्छन्,’ उनले भने, ‘त्यसमध्ये २ हजारदेखि ४ हजार मान्छेले ज्यान गुमाउँछन् भनेर आएको थियो । तर हाल यथार्थ अध्यन हुन बाँकी छ ।’

नेपालमा पाइने सर्पहरूमध्ये ८० प्रतिशत विषरहित भएको डा. आचार्यले बताए । उनका अनुसार २० प्रतिशत सर्पमा मात्रै विष हुन्छ ।

नेपालमा वार्षिक रुपमा २० हजार मानिसलाई सर्पले टोक्ने गरेको पाइएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत विष सूचना केन्द्रका परियोजना प्रमुख डा.राकेश घिमिरेले बताए । उनका अनुसार वार्षिक रुपमा लगभग १ हजार जनाको सर्पदंशका कारण निधन हुने गरेको पाइएको छ ।

‘हालसालै एउटा अध्ययन भएको थियो, त्यसले २६ हजार ७३९ देखि ३७ हजार ६६१ जना सर्पदंशमा पर्दा रहेछन्,’ उनले भने, ‘लगभग २ हजार ३८६ देखि ३ हजार ३२५ जनाको निधन भएको पाइएको छ ।’

विभिन्न अध्ययन अनुसन्धानले फरक–फरक तथ्यांक देखाएकाले यकिन के कति मानिस सर्पदंशबाट प्रभावित हुन्छन् भन्ने तथ्याङ्क पाउन मुस्किल देखिएको छ ।

कुन कुन क्षेत्र प्रभावित ?

मुलुकको तराई, भित्री मधेसका क्षेत्रहरू र कतिपय पहाडी जिल्लाका तराईजस्तो ठाउँ, समुद्री सतहबाट कम उचाइमा भएका जिल्ला प्रभावित भएको डा आचार्यले बताए । उनले उदाहरण दिँदै भने, ‘जस्तै, उदयपुर जिल्लाको कटारी, सिन्धुली जिल्लाको पिथौली, स्याङ्जा जिल्लाको चापकोट, पाल्पाको रामकोट क्षेत्र पहाडी क्षेत्र भए पनि सर्पदंशको प्रकोप छ । तराईका २६ वटा जिल्ला भइ नै हाले ।’  

वर्षको ६ महिना प्रकोप

नेपालमा वर्षको ६ महिना सर्पदंशको समस्या देखिने गरेको पाइएको छ । ‘वैशाखदेखि असोजसम्म प्रकोप हुने महिना हो,’ डा आचार्यले भने, ‘६ महिना सर्पदंशको समस्या रहन्छ । सबैभन्दा धेरै समस्या हुने साउन महिना हो ।’

८० प्रतिशतको बाटोमै निधन

नेपालमा सर्पले टोकेमा ८० प्रतिशत मानिस उपचारका लागि अस्पताल जाँदा बाटोमै निधन हुने गरेको पाइएको छ । यसो हुनुमा स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार गर्ने सक्ने आत्मविश्वास नभएर रेफर गर्ने प्रवृत्ति मुख्य कारण रहेको डा. आचार्य बताउँछन् ।

‘सर्पदंशको बिरामी आउँदा तालिम नभएकाले उहाँहरूलाई विश्वास नहुँदा रिफर गर्ने चलन बढ्दो छ । रिफर गरिएका सर्पदंशका बिरामी ८० प्रतिशतको बाटोमै निधन हुन्छ,’ उनले भने ।

सर्पले टोकेमा के गर्ने ?

–नचली बस्ने, वरिपरिको मान्छेको सहयोगले छिटोभन्दा छिटो अस्पताल जाने,

–खानेकुरा नखाने,

–खुर्सानी खाएर विषको जाँच नगर्ने,

–कपडाले नबाँध्ने,

–कसिलो कपडा लगाएको भएमा खुकुलो बनाउने ।

सर्पदंशलाई व्यवस्थापन गर्न के गर्ने ?

सरकारी निकायबाट निःशुल्क रुपमा उपचार हुँदै आएको छ । लगभग एक सय सर्पदंश केन्द्रबाट उपचार हुँदै आएको छ । यहाँबाट ‘एन्टिभेनम’ औषधि दिँदै आएको डा. घिमिरेको भनाइ छ ।

घरभन्दा बाहिर जाँदा शरीर ढाक्ने कपडा लगाउने, घर वरिपरि सफा राख्ने, खाटमा सुत्ने, झुल अनिवार्य लगाउने, रातको समयमा बाहिर निस्किँदा बत्तीको प्रयोग गर्ने, जुत्ता उल्टो पारेर राख्न घिमिरेको सुझाव छ ।

घिमिरेले सर्पदंशको उपचार गर्दा कुनै स्वास्थ्यकर्मीलाई नै कुनै अन्योलता भएमा ०१–४५०२०११ मा फोन गरेर सहयोग लिन सक्ने बताए ।

सर्पदंशको बिरामी रेफर हुँदा बाटोमै निधन हुने भएकाले सर्पदंशको बिरामी रेफर गर्दा एक जना स्वास्थ्यकर्मी अनिवार्य पठाउन नीतिगत पहल गर्नुपर्ने डा. आचार्यको सुझाव छ । उनले भने, ‘समुदायमा चेतना फैलाउनु पर्छ । तराई तथा भित्री मधेसका हरेक नागरिकले वैशाखदेखि असोज महिनाभित्र सर्प यहाँ हुन्छ, टोक्न सक्छ भन्ने दिमागमा राख्नुपर्‍यो । सोही अनुसार आफूले सर्तकता अपनाउनु पर्‍यो ।’

स्थानीय तहले सचेतनाको कार्यदेखि सर्पदंश केन्द्रको बारेमा आम नागरिकलाई जानकारी गराउनु पर्ने उनीहरुको सुझाव छ । 

विगत ८ वर्षदेखि लुम्बिनी प्रदेशस्थित भेरी अस्पतालमा सर्पदंशको उपचार गरेको अनुभव बटुलेका तथा हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलेजिस्ट डा. कृष्ण प्रसाद आचार्य सर्पदंशका विषयमा गरिएको कुराकानीको सम्पादित अंश -

dr. krihna acharya

नेपालमा सर्पदंशको अवस्था कस्तो छ ?

नेपालमा सर्पदंश एउटा जनस्वास्थ्य समस्याका रुपमा रहने गरेको छ । हरेक वर्ष हजारौँ मान्छेले सर्पदंशका कारण ज्यान गुमाएका छन् । हजारौँ मान्छे अङ्गभङ्ग भएर बाँच्न परेको छ । तथापि जुन हिसाबको राज्यबाट सर्पदंशको विषयमा ध्यान पुग्नुपर्ने हो, त्यो पुग्न सकेको छैन ।

नेपालका कुन–कुन क्षेत्र सर्पदंशबाट बढी प्रभावित छन् ?

तराई, भित्री मधेसका क्षेत्रहरू र कतिपय पहाडी जिल्ला सर्पदंशबाट प्रभावित छन् । समुद्री सतहबाट कम उचाइमा भएका तराईका २६ वटा जिल्ला बढी प्रभावित छन् । उदयपुर, सिन्धुली, स्याङ्जा, पाल्पा पहाडी क्षेत्र भए पनि सर्पदंशको प्रकोप छ ।

यी क्षेत्रमा विशेष गरी वैशाखदेखि असोजसम्म सर्पदंशको प्रकोप हुन्छ । सबैभन्दा धेरै सर्पदंशका घटना हुने महिना साउन हो ।

यी क्षेत्र सर्पदंशबाट किन प्रभावित भए ?

सर्प समथर ठाउँमा, घना जङ्गलमा बस्छ । उसलाई खाने आहार यस्तै ठाउँमा भेटिन्छ । त्यसकारण त्यस्ता क्षेत्र प्रभावित भएका हुन् ।

वार्षिक रुपमा के–कति संख्या सर्पदंशमा पर्छ ?

नेपालमा सन् २०१० को आँकडा हेर्ने हो भने वार्षिक ३० हजारदेखि ४० हजारसम्म सर्पदंशका घटना हुन्छन् भनेर अनुसन्धानमा आएको थियो । त्यसमध्ये २ हजारदेखि ४ हजार मान्छेले सर्पदंशबाट वार्षिक ज्यान गुमाउँछन् भनेर आएको थियो । तर हाल यथार्थ अध्ययन हुन बाँकी छ ।

नेपालमा उपचार केन्द्र के–कति छन् ?

नेपाल सरकार वा नेपाल सरकारसँग रेडक्रस, आर्मी, लायन्स क्लब, रोट्री क्लब मिलेर सञ्चालन गरेको एक सयको हराहारीमा सर्पदंश उपचार केन्द्र छन् ।  

सर्पलाई नजिस्काएसम्म टोक्दैन भनिन्छ नि, खासमा सर्पको आनीबानी कस्तो हुन्छ ?

सर्पको हामी आहार पनि होइनौँ । सर्पले टोक्नका लागि हामीलाई कति बेला मान्छे आउला र टोकौँला भन्ने पनि हुँदैन । उनीहरू हामीबाट डराउँछन् । हामी सर्पको नजिक गयौँ भने मलाई आक्रमण गर्न, मार्न आयो भन्ने सोचेर उसले प्रतिरक्षा गर्न खोज्दा टोक्छ । हरेक सर्पमा प्रतिरक्षा गर्ने क्षमता हुन्छ । यिनीहरूसँग आफूलाई प्रतिरक्षा गर्नका लागि विष हुन्छ ।

सर्पको टोकाइबाट कसरी जोगिने ?

सर्पको टोकाइबाट जोगिनका लागि सर्पको आनीबानी, व्यवहार बुझ्नु पर्‍यो । सर्प राति एकदमै सक्रिय हुन्छ । दिउँसो कुनै कुनामा लुकेर बसेको हुन्छ । सर्पलाई गर्मी हुँदा ओभानो र शीतल ठाउँ खोज्दै हिँड्छ । दुर्भाग्यबस त्यस्ता ठाउँ हामीले ओगटेका हुन्छौँ । शीतलमा मान्छे ओछ्यान लगाएर सुत्छ । हामीलाई थाहा हुन्न कि त्यहाँ सर्प हुन्छ । ‘र्‍यापिड आइ मोमेन्ट स्लिप’ भन्छ । त्यस्तो अवस्थामा हातखुट्टा चल्दा सर्पलाई लाग्छ र ‘डिफेन्स’ गर्न सर्पले टोक्छ । कुनै सोही ठाउँ बस्छ, कुनै सर्प आफूलाई खतरा महसुस गरेर भाग्छ । कतिपय अवस्थामा सर्पले टोकेको मान्छेलाई जानकारी नै हुँदैन । पेट दुख्ने, बान्ता हुने, बिस्तारै आँखा लठ्ठिने हुन्छ । पछि अस्पताल पुग्दा ढिलो भइसकेको हुन्छ ।

थाहा पाउने कुरा के हो भने हामी सर्पको प्रकोपजन्य क्षेत्रमा छौँ भनेर बुझ्नु पर्‍यो । बाँके, बर्दिया, कैलालीजस्ता ठाउँमा बस्नेलाई सर्पको बारेमा थाहै नभएर भएन । वैशाखदेखि असोजसम्म सर्पको खतरामा छौँ भन्ने ज्ञान हुनपर्‍यो ।

सुत्ने बेला झुल लगाउनु पर्‍यो । राति सुत्नु अगाडि ओछ्यान टकटक्याउनु पर्‍यो । यति गरियो भने ९० प्रतिशत करेत सर्पको टोकाइबाट जोगिन सकिन्छ । मुख्यगरी सर्पको टोकाइबाट अकालमा ज्यान जाने कारण करेत सर्पको हो । यो सर्प ओछ्यानमा आएर टोक्छ । जो भुइँमा सुत्छ, राति झुल नलगाइ सुत्छ, जो राति बाहिर जाँदा बत्ती नबाली जान्छ । यस्ता कारणले सर्पको टोकाइमा पर्न सक्छौँ । त्यही भएर बाहिर जाँदा बत्ती लिएर हिँड्ने, झाडीमा हिँड्नु पर्‍यो वा घाँस काट्नु पर्‍यो भने केही न केही आवाज दिनुपर्‍यो । केही भएन भने कम्तीमा पनि आफ्नो मोबाइलमा गीत बजाए पनि हुन्छ । मुखले गीत गाए पनि हुन्छ । हाम्रो आवाजबाट एउटा ‘भाइब्रेसन’ निस्किन्छ । त्यो ‘भाइब्रेसन’ सर्पले ‘डिटेक्ट’ गर्छ र भाग्छ ।

आफ्नो घर वरिपरि सरसफाइ राख्ने, कुखुराको खोरहरूलाई घरभन्दा टाढा राख्ने, कुखुराको खोरमा नहेरी हात नलगाउने । तराईमा एकदुई दिन थन्क्याएको जुत्तामा पनि सर्प आएर बसेको हुन्छ । जुत्ता नहेरी लगाउन भएन । कुना काप्चामा हेरेरमात्रै हात हाल्नु पर्छ ।

सर्पले टोकेको कसरी थाहा पाउने ?

सामान्यतः पेट दुख्नेबाट सुरु हुन सक्छ । पेट दुख्ने, उल्टी हुने, बिस्तारै मांसपेसीलाई शिथिल बनाउँछ । शिथिल भइसकेपछि आँखाको ढकनी बिस्तारै खोल्दा खुल्दैन । माथिबाट लक्षण देखिन सुरु हुन्छ । त्यसपछि मुखको मांसपेशीलाई असर गर्छ । जिब्रो बाहिर निकाल्न सकिँदैन । जिब्रो दाँतभन्दा बाहिर निकाल्नै सकिँदैन । थुक निल्न सकिँदैन । मुखभरि र्‍याल हुन्छ । बिस्तारै–बिस्तारै विष फैलदै गएमा सास फेर्न सक्दैन र निस्सासिएर मान्छे मर्ने हो ।

प्राथमिक उपचार के हुन्छ ?

सर्पले टोकेमा पहिलो कुरा हो नआत्तिने । त्यसको तर्क के छ भने, हामीकहाँ पाइने सर्पहरू ८० प्रतिशत विषरहित हुन्छन् । २० प्रतिशत सर्पमा मात्रै विष हुन्छ । २० प्रतिशत सर्पमा मात्रै विष हुने भएकाले किन आत्तिनु पर्‍यो र ? ८० प्रतिशत सर्प त विषरहित हुन्छ । त्यसकारण केही हुँदैन । विषरहित सर्पले टोकेमा टीटीको खोप लगाउनुपर्छ ।

अर्को कुरा, सर्पले टोक्यो भने जुन भागमा टोकेको हो, त्यो भाग नचलाइ राख्ने । जस्तै, खुट्टामा टोक्यो भने चल्नु भएन । वरिपरिका मान्छेको सहयोगले अस्पताल जाने । तर सर्पले टोकेको व्यक्ति हिँड््न भएन । यदि विषालु सर्पले टोकेको रहेछ भने हिँडेर रगत सञ्चालन भएर शरीरभर फैलिन्छ ।

सर्पले टोकेमा कति समयमा लक्षण देखिन थाल्छ ?

करेत सर्पले टोकेमा बिस्तारै देखिन्छ । एक देखि दुई घण्टासम्म । गोमनले टोकेको छ भने एक देखि साढे एक घण्टामा लक्षण देखिएर मान्छे तुरुन्त मर्छ । त्यसैले समय खेर फाल्नु हुँदैन । सकेसम्म छिटो अस्पताल वा सर्पदंश केन्द्र जानुपर्छ ।

सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्‍याउने ?

सकेसम्म छिटो अस्पताल जानुपर्छ । डेढदेखि २ घण्टाभित्र अस्पताल पुर्‍याइसक्नु पर्छ । यो समयमा पुर्‍याएमा बिरामी बचाउन सकिन्छ । यसभन्दा ढिला भएमा बचाउन मुस्किल हुन्छ ।

सर्पले टोकेको व्यक्तिलाई के खान दिने, के नदिने ?

सकेसम्म खानातिर लाग्ने होइन । सर्पदंश केन्द्र वा अस्पताल जानु पर्छ । अस्पताल जाँदा पनि विषालु सर्पले टोकेको हो वा होइन भन्ने पहिचान नहुँदासम्म बिरामीलाई खाना दिइँदैन । किनकि बिरामीलाई सर्पले टोकेर विष लागेमा खाना खाँदा उल्टी भएर श्वासनलीमा खाना गएर समस्या हुने भएकाले खाना दिइँदैन । खानेकुरा केही खानु भएन । खुर्सानी खान दिने भन्ने छ । यो गलत हो । पिरो भए विष नलागेको, पिरो लागेन भने विष लागेको भन्ने प्रचलन छ । त्यो गलत हो । यसमा वैज्ञानिक कुनै आधार छैन ।

सर्पले टोकेमा उपचार खर्च कति लाग्छ ?

हामीले भेरी अस्पतालमा हिसाब गरेर हेर्‍यौँ । विषालु सर्पले टोकेमा उपचार गर्दा कम्तीमा २ हजार पनि नलाग्न सक्छ । औसतमा १० हजारसम्म खर्च लाग्छ । बढीमा ५ लाखसम्म लागेको छ । सर्पले टोकेको बिरामीको अवस्था हेरेर खर्च लाग्छ ।

सरकारी पहल के छ ?

मुलुकभरमा एक सय सर्पदंश केन्द्रमा आधाभन्दा बढीमा सरकारको संलग्नता छ । सरकारले सर्पदंश केन्द्रबाट निःशुल्क उपचार सुविधा दिँदै आएको छ । एन्टिभेनम प्रतिभाइल दुई हजार रुपैयाँ पर्छ । त्यो सरकारले निःशुल्क दिएको छ ।

सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्न सरकारले के गर्नु पर्ला ?

स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार गर्ने सक्ने आत्मविश्वास छैन । सर्पदंशको बिरामी आउँदा तालिम नभएकाले उहाँहरूलाई विश्वास नहुँदा रिफर गर्ने चलन बढ्दो छ । रिफर गरिएका सर्पदंशका बिरामी ८० प्रतिशत बाटोमै निधन हुन्छ । यो पटक–पटक हुन्छ । सर्पदंशको बिरामी रिफर गर्दा एक जना स्वास्थ्यकर्मी अनिवार्य पठाउनु पर्छ । यसका लागि नीति नै बनाएर लागु गर्नुपर्छ । समुदायमा चेतना फैलाउनु पर्छ । तराई तथा भित्री मधेसका हरेक नागरिकले वैशाखदेखि असोज महिनाभित्र सर्प यहाँ हुन्छ । टोक्न सक्छ भन्ने दिमागमा राख्नुपर्‍यो । सोही अनुसार आफूले सतर्कता अपनाउनु पर्‍यो । यसले सर्पको टोकाइबाट बच्न सकिन्छ । अहिले सर्पदंश भइहालेमा डराउनु पर्दैन । हरेक दुईदुई घण्टामा सर्पदंशको उपचार केन्द्र छन् । आत्तिनु पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप