शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेल प्रणालीमा नयाँ प्रयोग

जेलको चौघेराबाट निस्केर प्यारोलमा बस्न थाले १८० जना कैदी

पहिलो चरणमा ४१४ जनालाई छाड्ने निर्णय
बुधबार, २३ जेठ २०८१, ११ : ३२
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । जेल प्रणालीमा नयाँ प्रयोग गर्दै कैदीहरूलाई प्यारोलमा राख्न थालिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–०७४ अनुसार सरकारले पहिलो चरणमा ४१४ जना कैदीलाई थुनाबाहिर राख्ने निर्णयसहितको सिफारिस गरेको छ ।

प्यारोल बोर्डको निर्णय अनुसार अहिले १८० जना कैदी थुना बाहिर बसेर कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागका निर्देशक कमल प्रसाद पाण्डेले रातोपाटीलाई बताए ।

बोर्डले गरेको सिफारिससहितको निर्णयका आधारमा १८० जना जेलबाट बाहिर आएका हुन् । असल चालचलन भएका ४१४ जनालाई प्यारोलमा राख्ने काम प्रक्रियामा रहेको निर्देशक पाण्डेले बताए । प्यारोल सुविधाबारे बोर्डले २०८० पुस २५ मा पहिलोपटक, २०८० चैत १८ मा दोस्रो पटक र २०८१ जेठमा तेस्रो निर्णय गरेको थियो ।

सामाजिक पुनर्स्थापना र पारिवारिक पुनर्स्थापनाका लागि प्रयोग गरिएको टुल्स हो– ‘प्यारोल र प्रोवेशन ।’

प्यारोल प्रोवेशनमा बस्ने कैदीबन्दीले दुई तिहाइ सजाय जेलभित्रै भुक्तान गरिसक्नुपर्छ । दुई तिहाइ सजाय भुक्तान गरेका र चालचलन असल भएकाहरूलाई जेलरको सिफारिसका आधारमा महान्यायाधिवक्ता नेतृत्वको प्यारोल बोर्डले घरमा बसेर कैद भुक्तान गर्न सिफारिस सहितको निर्णय गर्ने कानुनी व्यवस्था छ । प्यारोल बोर्डको निर्णयलाई अदालतमा पेस गरेर न्यायाधीशले सदर गर्नुपर्छ ।

जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले कैदीबन्दीको चाप घटाउन प्रोवेशन र प्यारोलको व्यवस्था कार्यान्वयनमा ल्याउने घोषणा गरेका थिए । कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने योजना अनुसार प्यारोल सुविधालाई कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।

karagar2

अदालतबाट १ वर्षभन्दा धेरै कैद सजायको फैसला भएका र त्यसमध्ये दुई तिहाइ कैद भुक्तान गरेकाहरूले घरमै बसेर बाँकी कैद भुक्तान गर्न पाउँछन् । सो सुविधालाई ‘प्यरोल र प्रोवेशन’ भनिन्छ ।

१० प्रकारका अपराधमा संलग्न कैदीहरूले प्यारोलमा बस्ने सुविधा पाउँदैनन् । जन्मकैदको सजाय पाएका, भ्रष्टाचारको कसुरमा सजाय पाएका, जबरजस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र यातना तथा क्रुर अमानवीय व्यवहारमा सजाय पाएका कैदीहरूले प्यारोलमा बस्न पाउँदैनन् ।

महान्यायाधिवक्ताको अध्यक्षतामा प्यारोल सम्बन्धी निर्णय गर्ने समितिमा कारागार व्यवस्थापन विभागका महानिर्देशक सदस्यसचिव हुन्छन् । प्रहरी महानिरीक्षक, गृह मन्त्रालयका सचिव, कानुन सचिव, एकजना मनोचिकित्सक र दण्डशास्त्री प्यारोल बोर्डमा सदस्य हुन्छन् ।

प्यारोल सुविधा लिने कैदीहरूले सरकारले तयार गरेको मापदण्ड र सर्तमा बस्नुपर्छ । मापदण्ड अनुसार आफ्नो जिल्लाभन्दा बाहिर कैदीबन्दी जान पाउँदैनन् । प्यारोल सुविधा लिँदा गैरकानुनी काम गर्न मिल्दैन र उनीहरू प्यारोल अधिकृतकहाँ तारेखमा बस्नुपर्छ । मन्त्रीपरिषद्को निर्णय अनुसार ७७ वटै जिल्लाका जेलरलाई प्यारोल अधिकृत तोकिएको छ । प्यारोलमा बस्ने कैदीबन्दीहरूले आय आर्जनको काम गर्न पाउँछन् ।

कुन–कुन अपराध गर्नेलाई प्यारोल सुविधा हुँदैन ?

प्यारोल बोर्डबाट सिफारिससहितको निर्णय भएपछि जेलरले प्यारोलमा राख्नेगरी छाड्न अदालतमा पेस गर्ने गर्नुपर्छ । सिफारिस निर्णयलाई न्यायाधीशले प्यारोलमा राख्न अनुमति दिनुपर्ने कानुनी व्यवस्था छ ।

तर, १० प्रकारका अपराधमा संलग्न कैदीहरूले प्यारोलमा बस्ने सुविधा पाउँदैनन् । जन्मकैदको सजाय पाएका, भ्रष्टाचारको कसुरमा सजाय पाएका, जबरजस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र यातना तथा क्रुर अमानवीय व्यवहारमा सजाय पाएका कैदीहरूले प्यारोलमा बस्न पाउँदैनन् ।

राज्य विरुद्धको अपराध र मानवता विरुद्धको अपराध सम्बन्धी कसुरमा सजाय पाएकाहरूले पनि प्यारोल सुविधा पाउँदैनन् ।

क्षमताभन्दा धेरै कैदीबन्दी भएसँगै नुवाकोटमा निर्माणाधीन १ हजार ३७० जना क्षमताको कारागार चाँडै सञ्चालनमा ल्याउने सरकारको तयारी छ । त्यस्तै, मन्त्रीपरिषद्ले माफी मिनाहा गर्दा पनि पीडितको सहमति अनिवार्य आवश्यक हुनेगरी नियमावली संशोधन गरेको छ । नयाँ व्यवस्था अनुसार जेलरले सिफारिस गर्नुअघि नै पीडितको सहमति अनिवार्य हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप