जब बाटो छेकियो, अनि रतुवाले ज्यान लियो
विराटनगर । दमक–चिसापानी–रवि सडकखण्ड अन्तर्गत इलामको चुलाचुलीमा सोमबार बेलुका रतुवा खोलाले बोलेरो जीप बगायो । बलेरो बगाउँदा इलाम माङ्सेबुङ–३ का तीन वर्षका बालक नियन नेम्वाङ र माङ्सेबुङ–५ की ३० वर्षीय शर्मिला फागोको ज्यान गयो ।
मृतक ३ वर्षीय बालककी आमा निरु नेम्वाङ घाइते भइन् । उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु१च ९४९१ नम्बरको बोलेरो साँझ करिब ६ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोला तर्न लागेको थियो । चालकले बाढी आएको थाहा नपाउँदा उक्त जीप एक्कासी बगेको थियो ।
रतुवाको यही स्थानमा तीन वर्ष अगाडि माङ्सेबुङ वडा नम्बर ४ का वडा सदस्य धनप्रसाद राईको लडेर मृत्यु भएको थियो । चुलाचुली–५ का वडाध्यक्ष बबिन राईका अनुसार यो सडकको दुर्दशाकै कारण बर्सेनिजस्तो मानवीय क्षतिका घटना भइरहेका छन् ।
उक्त बाटो हुँदै इलामको माङ्सेबुङ, फाकफोकथुम, पाँचथरको मिक्लाजुङ गाउँपालिकाका मानिसहरू तराईका जिल्लाहरू आवत–जावत गर्छन् । दैनिक १ हजार १२ सय सवारी साधन ओहोरदोहोर गर्ने गरेको वडाध्यक्ष राई बताउँछन् ।
बाटो बन्द हुँदा त्यही खोलाबाट शिक्षक र विद्यार्थीहरू पनि वार–पार गर्छन् । माङ्सेबुङबाट चुलाचुली पढ्न र पढाउन आउने शिक्षक, विद्यार्थी ओहोरदोहोर गरिरहन्छन् । ‘आर्थिक वर्षको समापनको अवस्थामा मनसुन सक्रिय भएको समयमा चलिरहेको सडकलाई अवरोध गरेर, ढुङ्गा राखेर, जेसीबी राखेर डाइभर्सन बाटो प्रयोग गर्न बाध्य बनाएको ठेकेदारले नै हो,’ वडाध्यक्ष राईले भने, ‘ठेकेदारलाई सम्बन्धित निकायले निगरानी र निर्देशन दिन नसक्नु पनि उनीहरूको कमजोरी हो । जसले गर्दा २ जना मानिसको ज्यान गयो ।’
उनले समयमा काम गर्न नसक्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । ‘ठेकेदारले पनि काम गर्दा एकतर्फी आवतजावत गर्न सक्ने गरी काम गर्नुपर्ने होइन ? कार्यान्वयन गर्ने निकायले यो विषयमा किन निगरानी गर्न सकेन ?’ उनले भने ।
उता, दमक–चिसापानी–रवि सडक निर्माण समितिका अध्यक्ष गगन पुरीले निर्माण कम्पनीले अस्वाभाविक रूपमा काममा ढिलाइ गरेको बताए । यद्यपि बोलेरो रतुवा खोलाले बगाएर भएको मानवीय क्षति भने संयोग मात्रै भएको उनको भनाइ छ । ‘ब्ल्याकपट गर्दा बाटो बन्द नै हुन्छ । त्यही बेलामा दुर्घटना हुनु संयोग जस्तो भयो । यो दुःखद् घटना भयो,’ पुरीले भने, ‘पटक–पटक म्याद थप भएको छ । निर्माण व्यवसायीले काम नगर्दा हामी आजित भएका छौँ ।’
दमक–चिसापानी–रवि सडक पहिलो खण्डको दमकबाट सुरुको प्याकेज ७ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्कामा लागेको हो । उक्त बाटो ३० महिनाभित्र कालोपत्रे गर्ने गरी २०७५ साउन २९ गते २२ करोड ५९ लाख ६४ हजारमा महालक्ष्मी–किराँतेश्वर जेभीले ठेक्का लिएको थियो । तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो । सो कम्पनीले हर्जाना तिरेर जेठ अन्तिमसम्ममा कालोपत्रे सक्ने गरी काम गरिरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
सडक डिभिजन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडक निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीको आफ्नै कारण रहेको बताए । उनले पनि जीप खोलाले बगाएको विषय दुःखद् संयोग भएको बताए ।
गत पुसदेखि निर्माणको समयावधि सकिएको भए पनि हर्जाना तिरेर काम गरिरहेको उनको भनाइ छ । अब साढे ४ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । ‘बजेटको कारणले होइन, समयमा काम नगरेको कारण यस्तो भएको हो । उसलाई अहिले हामीले तत्काल गर्नसक्ने भनेको हर्जाना लगाउने हो । हर्जानाको समय सुरु भइसकेको छ । १० प्रतिशत हर्जाना लाग्दा उसले साढे २ करोड तिर्नुपर्ने अवस्था आएको छ । त्यति गर्दा पनि असारसम्ममा काम सम्पन्न नगरे ठेक्का तोडेर निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु हुन्छ,’ पौडेलले भने ।
इलामका पत्रकार राम योङहाङले भने मध्य वर्षामा कालोपत्रे गर्ने भन्दै बाटो बन्द गरेपछि सवारी साधन खोलामा कुदाउनुपर्ने बाध्यता रहेकाले मानिसको ज्यान गएको बताए । उनले निर्माण कम्पनीलाई कारबाही गर्न माग गरे ।
चुलाचुली–५ का वडाध्यक्ष राईले पनि निर्माण कम्पनीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ‘यो सडक बन्न थालेको धेरै भयो । समयमा काम हुँदैन । अनि बर्खा लागेपछि बाटो बन्द गरेर सडक बनाएको नाटक गर्छ । हामीले रतुवा खोलाबाटै हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बर्खा लागेपछि एक्कासी खोलामा बाढी आउँदा गाडी बगायो ।’
माङसेबुङ– ५ का देवराज आङदेम्बेले दुई जनाको मृत्युको जिम्मा सरकार र ठेकेदारले लिनुपर्ने बताए ।
दमक–चिसापानी–रवि सडकलाई सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा विभाजन गरी ठेक्का लगाएको थियो । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो । २०७६ फागुनमा ठेक्का लागेको भए पनि २०७९ फागुनमै म्याद सकिएको छ । त्यसपछि थपिएको दश महिनाको समय पनि गत पुसमा सकिएको छ । त्यस अवधिमा पनि दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशतमात्र सकिएको छ ।
दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले एक महिनाअघि दुईवटै खण्डको ठेक्का भने तोडिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेटको बोसो पघाल्न चाहनुहुन्छ ? जीवनशैलीमा गर्नुस् यी ४ हेरफेर
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
-
राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा
-
१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म
-
चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु