आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

लण्डनमा पनि मनाइयो २५६८औं बुद्धजयन्ती

मङ्गलबार, २२ जेठ २०८१, १६ : २४
मङ्गलबार, २२ जेठ २०८१

लन्डन । २५६८औं बुद्धजयन्तीको अवसर पारेर बेलायतमा आइतबार भव्य रुपमा बुद्ध जयन्ती कार्यक्रमको आयोजना गरियो । विगतमा लन्डनमा हुँदै आएको बुद्ध जयन्ती कार्यक्रम यसपटक वुल्लीचको जनरल गोर्डन स्क्वायरमा गरिएको थियो ।

 लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा हुंदै आएको बुद्धजयन्ती कार्यक्रम छैठौं संस्करणसम्म आईपुगेको छ । बेलायतका विभिन्न स्थानबाट ७ सयभन्दा बढी मानिसहरु कार्यक्रममा सहभागी भएका  थिए ।

भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध फाउन्डेसन यूकेले कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमस्थललाई ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले आकर्षक ढंगले सजाइएको थियो ।

यसपटक नेपालबाट साढे तीन फिट अग्लो बुद्धको  मूर्ति ल्याइएको थियो । यसैगरी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ थप आकर्षक बन्यो ।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए। ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्धसम्बन्धि मन्तव्य दिएकी थिइन्। विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीहरुबाट सामूहिक रुपमा  दीप प्रज्ववलन गरेका थिए । 

बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र नेपाल पोष्टर प्रदर्शनि गरिएको थियो  । बालबालिकाहरुलाई  बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतियोगितामा सहभागी गरेर पुरस्कृत समत गराइएको थियो ।

नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले सांगीतिक प्रस्तुति दिएर मनोरंजन प्रदान गरेका थिए। यसैगरी पासा पुच: यूकेले नेवारी परम्परा अनुसारको लाखे नाचा र  धिमे बाजा प्रस्तुत गरेको थियो । मौलिक नेपाली पहिरनमा महिला, पुरुष तथा बालबालिकासमेत उत्साहपूर्वक सहभागी भएका थिए । कार्यक्राम्लाई सफल पार्न सहयोग पुर्याउने बेलायतस्थित विभिन्न संघसंस्था व्यवसायीलागायत सहभागी सबैजनालाई आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले धन्यबाद दिए ।

कार्यक्रम संयोजक एवम् उपाध्यक्ष प्रसुना कंडेलले सञ्चालन गरेकी थिइन् भने फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले स्वागत मन्तव्य दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप