पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन
पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा सवा २ लाख बिरुवा रोप्ने भएको छ । हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान गरिएको हो ।
त्यसका लागि वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
कार्यदलले प्रतिवेदन मेयर धनराज आचार्यलाई बुझाएको छ । प्रतिवेदन अनुसार महानगरको ७ सय किलोमिटर सडक र राजमार्ग, ६९ किलोमिटर नदी तथा खोला किनार र २९ सार्वजनिक स्थलमा बिरुवा रोपण गर्न सकिने छ ।
१ सय २५ हेक्टर क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने प्रतिवेदनमा उल्लेख छ । वर, पिपल, समी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, असोका, कल्की फुल, राइखनियूँ, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायत बिरुवाहरू लगाइने छ ।
सबै गरेर २ लाख २६ हजार २ सय ६१ बिरुवाहरू लगाइने मेयर आचार्यले बताए । सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४ सय ९० र सडक, नदी तथा खोला किनारमा १ लाख ५२ हजार ७ सय ७१ वटा बिरुवाहरू लगाउन सकिने रिपोर्ट छ ।
प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनका कार्य पनि उल्लेख गरिएको छ । महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला ठाउँहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले प्रतिवेदन तयार गरिएको आचार्यले सुनाए ।
यसअघि हरित सहरको रूपमा विकास गर्ने कुरा हुँदा घरमा हरियो रङ्ग पोत्ने समाचार बाहिर आएको थियो । त्यसपछि आचार्यले वृक्षारोपणका लागि विशेष कार्यदल बनाएर अध्ययन गरेका हुन् ।
‘बिरुवा रोप्ने ठाउँ र बिरुवाको प्रकारहरू सुझाइएको छ । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र जोडिने होइन,’ उनले भने, ‘वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत देखिन्छ ।
प्रतिवेदनले पोखरालाई हरित सहरको रूपमा विकास गर्न माइल स्टोन मिलेको छ ।’ उनले सजिलै नभाँचिने प्रजातिका बिरुवा रोप्न महानगरले योजना बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
-
सरस्वती पूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
-
ट्रम्पको अतिरिक्त महसुलले अमेरिकी भान्सामा महँगिँदैछ तरकारीदेखि बियरसम्म
-
अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर