बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : नेपालको तेस्रो नम्बरको ब्याट्सम्यान को ?

मङ्गलबार, २२ जेठ २०८१, १४ : ०५
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्न मैदानमा उत्रँदै छ । सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसपछि लगातार छनोट चरण पार गर्न असफल हुँदै आएको थियो । तर, नेपाल यस पटक आफ्नो सपना साकार पार्न सफल भएको छ । 

नेपाली टोलीले टी–२० विश्वकपमा आफ्नो गौरवशाली उपस्थिति दर्ता गराएको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

विश्वकपमा नेपालले आफ्नो पहिलो खेल मंगलबार राति चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियमा नेपाली समयअनुसार राति २१ः१५ बजे सुरु हुनेछ । उक्त रंगशालामा नेपालले खेल्दै गर्दा कीर्तिपुरको झल्को आउने गरि नेपाली दर्शकको बाक्लो उपस्थित हुनेछन् । 

उक्त कुराको सङ्केत कप्तान रोहित पौडेलले गरेका छन् । नेपालको पहिलो खेल हेर्नका लागि सम्पूर्ण टिकट विक्री भएको र त्यसको ९० प्रतिशत टिकट नेपाली दर्शकले खरिद गरेका छन् । पछिल्लो समयमा नेपालमा क्रिकेटको क्रेजमा भएको वृद्धिलाई अन्तर्राष्ट्रिय रूपमै सम्मानजनक रूपमा लिने गरिएको छ ।  

नेपालले निकै कठिन समय  र परिस्थितिबिच विश्वकपमा स्थान बनाएको थियो । त्यसैले नेपाली टोली १० वर्षपछि मैदानमा आफ्नो अब्बल खेल प्रस्तुत गर्नुपर्ने दबाब देखिएको छ । नेपालसामु विश्वकप मञ्चमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै आफू छनोट हुनुको औचित्य पनि साबित गर्नुपर्ने दबाब छ । 

हालसम्म नेपालको युवा टोलीको प्रदर्शनलाई लिएर विश्वभरका क्रिकेटका हस्तीले प्रशंसा गर्दै आएका छन् । १० वर्षअघि नेपाल समूह चरणबाटै बाहिरिए पनि धेरै प्रशंसा बटुलेको थियो । तत्कालीन समयमा कप्तानी गरेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) को सचिव  छन् । 

यसरी नेपालसँग समर्थकहरूले विश्वकपमा ठुलो अपेक्षा गरिरहँदा नेपालले एउटा समस्या भने भोग्दै आएको छ । नेपालले पछिल्ला खेलहरूमा ओपनिङ जोडीको रूपमा कुशल भुर्तेल र आसिफ शेखलाई उतार्दै आएको छ । सम्भवतः विश्वकपमा पनि यही जोडी ओपनिङका लागि उत्रने देखिन्छ । 

हालसम्मको अभ्यास, कप्तान र प्रशिक्षक मोन्टी देशाईको प्रतिक्रिया हेर्दा ओपनिङ जोडीमा कुनै परिवर्तन नहुने देखिन्छ । तर, नेपालले हरेक खेलमा भोग्दै आएको समस्या ओपनिङ जोडीपछि आउने ब्याटरको नै रहँदै आएको छ ।  

पछिल्ला केही खेलहरूमा नेपालका तर्फबाट तेस्रो नम्बरमा ब्याटिङका लागि कप्तान रोहित पौडेल स्वयं आउने गरेका छन् । नेपाली टिममा तेस्रो विकल्प उनी होइन् । किनभने रोहित आफै कप्तान भएकाले खेललाई जुनसुकै अवस्थामा पनि सम्हालेर अघि लैजानुपर्ने जिम्मेवारी उनको काँधमा छ ।

यो उनीमाथि पर्ने दबाब हो । दबाबमा आएको कप्तानले तेस्रो नम्बरमा सहजै ब्याटिङ गर्न नसक्ने देखिन्छ । कुनै समय भारतमा सचिन तेन्दुलकर र वीरेन्द्र सेहवाग चर्चित ओपनिङ जोडी थिए । तत्कालीन समयमा तेस्रो नम्बरमा राहुल द्रविडले खेल्ने गरेका थिए । 

उनी क्लासिकल सट खेल्न माहिर थिए । तर, नेपाली क्रिकेटको हकमा भने सधैँ देखिने गरेको समस्या भनेकै तेस्रो नम्बरको ब्याट्सम्यानको हो । ओपनिङ जोडी सस्तैमा आउट भएको अवस्थामा त्यसपछि आउने अधिकांश ब्याटरहरुले त्यो दबाब झेल्न सकेको देखिँदैन । 

ओपनिङ जोडिले राम्रो सुरुवात दिएको अवस्थामा नेपालले विशाल रनलाई पनि पछ्याउन सफल भएका प्रशस्तै उदाहरण छन् । पछिल्लो समय वेस्ट इन्डिजको ‘ए’ टिम नेपाल आएर खेल्दा दुई सय रनको लक्ष्यसमेत नेपालले पछ्याएको थियो । 

कप्तान पौडेलले कप्तान र तेस्रो क्रममा दुवै भूमिका निभाउँदा उनी धेरै नै दबाबमा भएको कुरा प्रशिक्षक मोन्टी देशाईले बुझेका छन् । तर, यसका लागि भरपर्दो विकल्प भने उनले पाएको देखिँदैन । शायद यही प्रयोगका लागि नेपालले  अनिल साहलाई टोलीमा समावेश गरेको हो । 

तर, यो विकल्प विश्वकपमा प्रयोग हुन्छ कि हुँदैन खेलपछि नै थाहा हुनेछ । एउटा विकल्पको रूपमा उनलाई लिन वा नेपालले प्रयोग गर्न सक्छ । तर, विश्वकपजस्तो ठुलो खेलमा यो विकल्प प्रयोग गर्ने कि नगर्ने प्रशिक्षक र कप्तानको निर्णयमा भर पर्नेछ ।  

२५ वर्षीय अनिलले पनि देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । तर, उनले तुलनात्मक रूपमा कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका कारण यो जोखिमपूर्ण पनि हुनसक्छ । 

अनिलले हालसम्म देशका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियको १० पालीमा ३३.२५ को औसतले कुल दुई सय ६६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १०३.५० रहेको छ । 

अनिलले सन् २०१८ को जुलाई २९ तारिखमा लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएकाले उनले ब्याटिङ गर्न पाएका थिएनन् । 

यसैगरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२४ को मार्च १ तारिखमा खेलेका थिए । त्रिकोणात्मक शृङ्खलाअन्तर्गत कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यो खेलमा ओपनरको भूमिकामा उनले २३ रन बनाएका थिए । उक्त खेलमा नेपाल तीन रनले विजयी भएको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख निरन्तर थिए भने उनीहरूमध्ये एक जनाको विकेट गएपछि कुशललाई पठाइएको थियो । यो खेलमा नेपालले तेस्रो नम्बरको ब्याट्सम्यानको विकल्पको खोजीका लागि एउटा प्रयोग पनि गरेको थियो । 

तर, यो प्रयोग भने सफल देखिएन । नेपालले २०८० साल कात्तिकमा विश्वकप छनोटको खेलमा पनि यस्तो प्रयोग गरेको थियो । तत्कालीन समयमा पाँच खेलमा केही ब्याटरहरुलाई तेस्रो नम्बरमा पठाएर खेलाइएको थियो ।

नेपालले पाँच खेलमा तेस्रो नम्बरमा रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा र सन्दीप जोरा गरी पाँचै जना ब्याट्सम्यानको प्रयोग ग¥यो । सोमपाल,  सन्दीप जोरा  र गुलसन झाले  राम्रो प्रदर्शन गर्न सकेनन् र यो विकल्प त्यहीँ रोकिएको थियो । 

  • तेस्रो नम्बरको प्रयोगले मध्यक्रम कमजोर हुने चिन्ता 

नेपालले मध्यक्रममा लागि कुशल मल्ल, गुलसन झा र  सन्दीप जोरा खेलाउने गर्दै आएको छ । तेस्रो नम्बरमा अरू विकल्प भएमा कप्तान पौडेलले पनि मध्यक्रम सम्हाल्न आउने छन् । त्यस्तै फिनिसरको भूमिका अनुभवी दीपेन्द्रसिंह ऐरीलाई दिने गरिएको छ । 

उनीसँग अनुभवका साथै लामो सर्ट खेल्न सक्ने क्षमताका साथै दबाबमा पनि उनी खेल्न सक्ने भएकाले उनलाई फिनिसरको भूमिका दिँदै आएको हो । मध्यक्रमले राम्रो नजिता दिएको खण्डमा उनले जुनसुकै टोलीविरुद्ध पनि राम्रो फिनिसिङको भूमिका निर्वाह गर्ने क्षमता राख्दछन् । 

यसरी हेर्दा नेपाललाई तेस्रो नम्बरमा भरथेग गर्दै इनिङ डेभलप गर्ने ब्याटरको खाँचो देखिएको छ भने मध्यक्रम पनि मिलाउनुपर्ने दबाब रहेको छ । यसरी हेर्दा कप्तान रोहित र कुशलबाहेक अन्य ब्याटरहरु तेस्रो नम्बरमा असफल नै देखिएका छन् । नेपालले यी दुई खेलमा गरेको यो प्रयोगले तेस्रो नम्बरमा नेपालको अस्थिरता प्रस्ट देखाएको थियो । 

यदि तेस्रो नम्बरको ब्याटरको रूपमा आउने खेलाडीले साझेदारी राम्रो बनाएको अवस्थामा नेपालले खेल जित्ने सम्भावना रहन्छ । तेस्रो नम्बरको अस्थिरताले रन पनि नबन्ने अनि लगातार विकेट गुमाउँदा नेपाल झन् दबाबमा पर्ने गरेको इतिहास देखिन्छ । 

अहिले नेपाल विश्वकप खेल्न लागेको र  आगामी दिन श्रीलंकाजस्ता टेस्ट राष्ट्रहरूसँग खेल्नुपर्ने भएकाले प्रशिक्षक मोन्टी देसाईले  यो रिस्क लिन्छन् कि रोहितलाई नै जिम्मेवारी दिन्छन् आजको खेलपछि नै थाहा हुने छ। तर तेस्रो नम्बरमा भरपर्दो ब्याटरको रूपमा कसै न कसैलाई  विकास गराउन जरुरी भने नेपालका लागि  देखिन्छ।

अहिले भएकामध्ये रोहित र कुशल मल्ल तेस्रो नम्बरमा सफल देखिएकाले उनीहरूलाई निरन्तरता दिन सकिन्छ। किनकि आगामी दिनमा दीपेन्द्र खेलमा फर्कने हुँदा फिनिसरको भूमिका उनले निभाउने छन्। फिनिसरका लागि  जोरा पनि छन् । 

यदि कप्तान रोहितलाई तेस्रो नम्बरमा खेलाउने हो भने कुशल, गुल्शन र दीपेन्द्रलाई मध्यक्रम सम्हाल्दै फिनिसरको भूमिकामा अग्रसर गराउन सक्ने देखिन्छ। पछिल्लो केही  वर्षमा नेपालले आफ्नो प्रदर्शन उत्कृष्ट बनाए पनि तेस्रो नम्बरमा भरपर्दो ब्याटर नहुँदा जित्नुपर्ने खेलहरू पनि गुमाउने गरेको देखिएको छ। अब नेपालले आफ्नो टिमलाई बलियो बनाउनका लागि स्थिर तेस्रो नम्बरको ब्याटरका लागि मेहनत गर्नुपर्ने देखिन्छ भने जिम्मेवारी पाएका खेलाडीले अनुभूत गरेर परिपक्व प्रदर्शन गर्नुपर्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप