बाथरोगका ६० प्रतिशत बिरामीले नियमित औषधि सेवन गर्दैनन्
काठमाडौँ । नेपालमा अधिकांश बाथरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने गरेको पाइएको छ । नेशनल बाथरोग सेन्टरले गरेको एक अध्ययन अनुसार ६० प्रतिशत बाथरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने गरेको पाइएको हो ।
नेपालमा एक लाख ८० हजार बिरामीमध्ये उपचार सेवा पाएका १ लाख ८० हजार बिरामी मध्ये ४० प्रतिशतले मात्र औषधि सेवन गरेर बाथरोगलाई राम्ररी नियन्त्रणमा राख्न सफल भएका छन् । यसमध्ये ६० प्रतिशत बाथरोगका बिरामीले औषधि सेवन नगरेको पाइएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । अझैपनि बाथरोग बारे जनचेतना जगाउनुुपर्ने खाँचो देखिएको उनको तर्क छ ।
जोर्नी दुखाई मात्रै बाथरोग नभएर मुटु, नासा लगायत विभिन्न अङ्गमा असर पु¥याउने भएकाले समयमा नै पहिचान गर्नुपर्ने सुझाएका छन् । ‘जटिलता भन्दा पहिला नै पत्ता लगाउन सके उपचार सजिलो हुन्छ,’ उनले भने, ‘बाथरोग पहिचानका लागि जनचेतना फैलाउनु पर्छ ।’
उनका अनुसार सहरमा बाथरोगबारे चेतनाको स्तर राम्रो रहेपनि गाउँका मानिस सचेत हुन नसकेको पाइएको छ ।
बाथरोगको लक्षण सामान्यतया बिहान हात र खुट्टा दुख्ने, आँखा रातो हुने, सेतो रगत कमी हुने, छालामा ढंग देखिने कक्षपतिले बताए ।
नेपालमा करिब ३० लाख जनसंख्यामा बाथरोग हुन सक्ने अनुमान गरिएको छ । अमेरिकन कलेज अफ र्युम्याटोलोजीका अनुसार हरेक देशका जनसङ्ख्यामध्ये १० प्रतिशत बाथरोगबाट ग्रसित हुने गरेका छन् । सोको आधारमा नेपालमा पनि ३ करोडमध्ये करिब ३० लाख जनसंख्यामा बाथरोग हुनसक्ने नेशनल बाथरोग सेन्टरको अनुमान छ ।
नेशनल बाथरोग सेन्टर आजबाट १२ औँ वर्षमा समावेश गरेको छ । ११ बर्षको अवधिमा बाथरोग ग्रसित जनसङ्ख्यामध्ये करिब ६ प्रतिशतलाई उपचार सेवा दिन सफल भएको सेन्टरका प्रबन्ध निर्देशक कक्षपतिले बताए ।
कूल नाफाको १० प्रतिशत बद्री तिर्थ आर्थराइटिस फाउन्डेसनलाई डोनेसन गरेको कक्षपतिले सुनाए । सो रकम गरिब एवं असहायहरूलाई उपचारमा खर्च हुने उनको दाबी छ ।
आम जनतालाई उपचारको पहुँच पुर्याउन स्थानीय तहमा सरकारी भौतिक संरचना अधिकतम उपयोग गरेर सहकार्य गर्न हुनुपर्ने बताएका छन् ।