शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपमा आज

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

हेड टू हेडमा कडा टक्कर
मङ्गलबार, २२ जेठ २०८१, १३ : ११
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ :१५ बजे सुरु हुनेछ ।

नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।

समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि नेदरल्यान्ड्स परिचित प्रतिद्वन्द्वी हो । नेपालले यसअघि पनि नेदरल्यान्ड्ससँग थुप्रै प्रतियोगिता खेलिसकेको छ ।

नेपालको दोस्रो सहभागिता

आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो ।

आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेका थिए । आईसीसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए ।

दुवै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो ।

समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अंक थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।

त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो । समूह ‘बी’ बाट भने नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेको थियो । नेपाली टोली पारस खड्काको कप्तानीमा त्यो विश्वकपमा सहभागी भएको थियो ।

यसपटक पनि नेपाली टोली छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो । नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा ओमान विजेता र नेपाल उपविजेता बन्दै विश्वकपमा पुगेका हुन् ।

  • नेदरल्यान्ड्सको छैटौँ सहभागिता

आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सको भने छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले यसअघि पाँच पटक टी–२० विश्वकप खेलिसकेको छ । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो ।

नेदरल्यान्ड्स टी–२० विश्वकपको ‘सुपर–१२’ चरणसम्म पुगिसकेको राष्ट्र हो । नेदरल्यान्ड्सले विश्वकपको आठौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । नेदरल्यान्ड्स आठौँ संस्करणमा नै ‘सुपर–१२’ चरणमा पुगेको हो ।

त्यतिबेला नेदरल्यान्ड्स समूह ‘ए’ मा परेको थियो । त्यो समूहबाट चार अङ्कसहित श्रीलंका पहिलो नेदरल्यान्ड्स दोस्रा हुँदै ‘सुपर–१२’ चरणमा प्रवेश गरेका थिए । ‘सुपर–१२’ चरणमा भने डच टोली समूह ‘दुई’ मा परेको थियो ।

त्यो समूहबाट भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । नेदरल्यान्ड्स भने चार अङ्कसहित चौथो भएको थियो । नेदरल्यान्ड्सले पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो ।

विश्वकपको आठौँ संस्करणमा नेदरल्यान्ड्स समग्रमा आठौँ भएको थियो । सोही आधारमा नेदरल्यान्ड्स यसपटक सिधै विश्वकपमा छनोट भएको हो । यसपटक विश्वकपमा स्थान बनाउन नेदरल्यान्ड्सले छनोट प्रतियोगिता खेल्नु परेन ।

नेदरल्यान्ड्सले हालसम्म टी–२० विश्वकपमा कुल २३ खेल खेलेको छ । त्यसमध्ये नौ खेलमा मात्र नेदरल्यान्ड्सले जित हात पार्न सकेको छ । १३ खेलमा भने नेदरल्यान्ड्स पराजित भएको छ । नेदरल्यान्ड्सको एक खेल अनिर्णित रुपमा सकिएको छ ।

दुई टोलीबिच छैन ठुलो अन्तर

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । ती खेलको नतिजालाई हेर्दा खासै ठुलो अन्तर देखिँदैन ।

हालसम्म खेलिएको १२ वटा टी–२० प्रतियोगितामध्ये ६ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । पाँच खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

दुई टोलीबिच पछिल्लो भिडन्त

टी–२० विश्वकप यात्रामा होमिनुभन्दा केही समयअघि नेपालले घरेलु मैदानमै नेदरल्यान्ड्ससँग भिडन्त गरेको थियो । सन् २०२४ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । त्यसमा नेदरल्यान्ड्स र नामिबिया पनि सहभागी थिए ।

नामिबिया भने जारी विश्वकपको समूह ‘बी’ मा परेको छ । नामिबियाले आफ्नो पहिलो खेलमा जित पनि हासिल गरिसकेको छ । त्रिकोणात्मक शृंखलाका क्रममा नेपाल र नेदरल्यान्ड्सबिच कुल तीनवटा खेल खेलिएको थियो । त्यसमध्ये दुई खेलमा नेदरल्यान्ड्स र एक खेलमा नेपाल विजयी भएका थिए ।

पहिलो खेल  : त्रिकोणात्मक शृङ्खलाअन्तर्गत फेब्रुअरी २८ तारिखमा खेलिएको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो । कीर्तिपुर मैदानमा खेलिएको त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८२ रनमात्र बनाउन सकेको थियो ।

त्यो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । दीपेन्द्रले ६३ रन बनाएका थिए । उनले केवल ३४ बलको सामना गरी तीन छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

कप्तान रोहितले पनि ५० रन बनाएका थिए । उनले ३६ बलमा दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान असिफ शेखले पनि टोलीका लागि ३४ रनको योगदान गरेका थिए । नेपाली बलर करण केसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए ।

नेदरल्यान्ड्सका लागि भने ओपनर माइकल लेभिटले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३६ बलमा तीन छक्का र पाँच चौका हिर्काएका थिए । उनी नेदरल्यान्ड्सको विश्वकप टोलीमा पनि छन् । साइब्रान्ड इङ्गलब्रिच्टले पनि अविजित ४९ रन बनाएका थिए । उनले ३८ बलमा एक छक्का र चार चौका हिर्काएका थिए । उनी पनि नेदरल्यान्ड्सको विश्वकप टोलीमा छन् ।

यसैगरी कप्तान स्कट एडवार्डसले ३३ र तेजा निदामानुरुले ३१ रन बनाएका थिए । यी दुवै खेलाडी पनि वर्तमान विश्वकप टोलीका सदस्य हुन् । त्यो खेलमा नेदरल्यान्ड्सका बलर साइब्रान्ड र रोल्फ भान डर मेर्वेले दुई–दुई तथा भिभियन किङ्मा र टिम भान डर गगटेनले एक–एक विकेट हात पारेका थिए ।

दोस्रो खेल  : नेपाल र नेदरल्यान्ड्सबिचको दोस्रो खेल मार्च २ तारिखमा खेलिएको थियो । त्यो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो । कीर्तिपुर मैदानमा खेलिएको त्यो खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय २० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ र गुलसन झाले ३८ रनको योगदान गरेका थिए । रोहितले ३४ बलमा एक छक्का र तीन चौका हिर्काएका थिए ।

गुलसनले पनि ३६ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । त्यो खेलमा नेपालका लागि कुशल भुर्तेलले १२ रन बनाएका थिए । नेपाली टोलीका बलर प्रतिस जिसीले तीन तथा करण केसी र कुशल मल्लले दुई–दुई विकेट लिएका थिए । दीपेन्द्र ऐरीले पनि एक विकेट हात पारेका थिए ।

नेदरल्यान्ड्सका लागि भने म्याक्स ओ’डड सर्वाधिक ३१ रन बनाएका थिए । यसका अतिरिक्त डच टोलीका लागि टिम भान डर गगटेनले २४, रोल्फ भान डर मर्वेले अविजित २३, र स्कट एडवार्डसले १८ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि भिभियन किङ्माले तीन र आर्यन दत्ताले एक विकेट लिएका थिए ।

तेस्रो खेल  : त्रिकोणात्मक टी–२० शृङ्खलाका क्रममा नेपाल र नेदरल्यान्ड्सबिचको तेस्रो खेल मार्च ५ तारिखमा कीर्तिपुर मैदानमा खेलिएको थियो । त्यो फाइनल खेल पनि थियो । त्यो खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको थियो ।

त्यो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा केवल ६ विकेट गुमाएर एक सय ८९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

त्यो खेलमा नेपालका लागि विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ४७ रन बनाएका थिए । उनले ३७ बलमा तीन छक्का र एक चौका हिर्काएका थिए । गुलसन झाले पनि ३४ रन बनाए । कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाएका थिए ।

नेपाली टोलीका बलर कुशल मल्ल एक्लैले चार विकेट लिएका थिए । अविनाश बोहरा र दीपेन्द्र ऐरीले पनि एक–एक विकेट हात पारेका थिए । नेदरल्यान्ड्सका लागि भने ओपनर माइकल लेभिटले अर्धशतक बनाएका थिए । उनले केवल २९ बलमा तीन छक्का र ६ चौकाको मद्दतले ५४ रन बनाएका थिए ।

यसैगरी साइब्रान्डले पनि टोलीको जितमा ४८ रनको योगदान गरेका थिए । उनले केवल २९ बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए । विक्रमजित सिंहले २९, म्याक्स ओ’डडले २२ र टिम भान डर गगटेनले अविजित २१ रन बनाएका थिए । डच टोलीका बलर साइब्रान्ड, माइकल लेभिड, फ्रेड क्लासेन र टिम भान डर गगटेनले दुई–दुई विकेट हात पारेका थिए ।

  • नेपालको औपचारिक अभ्यास खेल

आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आईसीसीले सहभागी २० वटै टोलीका लागि दुई–दुईवटा अभ्यास खेलको ब्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेल क्यानडासँग खेलेको थियो । त्यो खेलमा क्यानडाले नेपाललाई ६३ रनले हराएको थियो ।

त्यो खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । नेपालका बलरहरु प्रभावकारी देखिएका थिएनन् । क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५१ रन बनाएका थिए ।

रवीन्द्रपाल सिंहले ४१ र नवनित धालिवालले ३२ रन जोडेका थिए । नेपाली टोलीका बलर अविनाश बोहराले दुई तथा करण केसी, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी र सागर ढकालले एक–एक विकेट हात पारेका थिए ।

नेपालका लागि भने कुशल मल्लले ३७ रन बनाएका थिए । अनिल साहले २४ र आसिफ शेखले २२ रन बटुलेका थिए । उक्त खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन पनि निराशाजनक थियो । ओपनर कुशल भुर्तेलको प्रदर्शन यो खेलमा पनि गतिलो रहेन । उनी १० रन बनाउँदै आउट भएका थिए ।

क्यानडाका बलर डिल्लन हेलिगर एक्लैले चार विकेट लिएका थिए । जेरेमी गोर्डन र साद बिन जाफरले पनि दुई–दुई विकेट हात पारेका थिए । विश्वकपअघि नेपाल र अमेरिकाबिच दोस्रो अभ्यास खेल खेलिने कार्यक्रम थियो । तर, वर्षाका कारण त्यो खेल रद्द भएको थियो ।

  • नेदरल्यान्ड्सको औपचारिक अभ्यास खेल

टी–२० विश्वकप सुरु हुनुअघि नेदरल्यान्ड्सले पनि दुईवटा औपचारिक अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा नेदरल्यान्ड्सको प्रदर्शन भने उत्कृष्ट थियो । नेदरल्यान्ड्सले आफ्नो पहिलो अभ्यास खेलमा टेस्ट राष्ट्र श्रीलंकालाई २० रनले हराएको थियो ।

त्यो खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९ ओभरमा अलआउट हुनुअघि एक सय ६१ रनमात्र बनाउन सकेको थियो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ४८ रन बनाएका थिए । उनले २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । ओपनर माइकल लेभिटले पनि ३९ रनको योगदान गरेका थिए । ओपनर म्याक्स ओ’डडले पनि २० रन बनाएका थिए ।

कप्तान स्कट एडवार्डसले २१ रन जोडेका थिए । नेदरल्यान्ड्सका बलर आर्यन दत्ताले तीन र कायले क्लेइनले दुई विकेट लिएका थिए । नेदरल्यान्ड्स र क्यानडाबिच खेलिने भनिएको दोस्रो अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

  • दीपेन्द्रको पुनरागमनले उत्साही

नेपाली टोलीका प्रभावशाली अलराउन्डर हुन्, दीपेन्द्रसिंह ऐरी । उनी नेपाली टोलीको थुप्रै अन्तर्राष्ट्रिय सफलताका सारथि पनि हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष अब्बल छ । विश्वकप सुरु हुनुअघि उनी घाइते भएपछि नेपाली टोली र समर्थक चिन्तामा परेका थिए ।

तर, विश्वकपअघि नै उनी चोटमुक्त भइसकेको बताइएको छ । त्यसैले उनी नेदरल्यान्ड्सबिरुद्धको खेलमा मैदानमा उपस्थित हुनेछन् । नेपाली समर्थकका लागि यो सबैभन्दा उत्साहको विषय हो । दीपेन्द्रको नाममा विश्व क्रिकेटमा पनि थुप्रै कीर्तिमान रहेका छन् ।

उनको नाममा विश्व क्रिकेटमा एउटा दुर्लभ कीर्तिमान पनि जोडिएको छ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्यो दुर्लभ कीर्तिमान बनाएका थिए । उनले केवल नौ बलमा अर्धशतक पुरा गरेका थिए ।

दीपेन्द्रको यो कीर्तिमान भविष्यमा पनि कसैले तोड्न सक्ने छैन । बढीमा यो कीर्तिमानको बराबरीसम्म हुन सक्छ । उनले मंगोलियाविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । यसअघि उक्त कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

यसैगरी ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध ६ बलमा लगातार ६ वटा छक्का पनि हिर्काएका थिए । उनी ६ बलमा ६ वटा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । विश्व क्रिकेटमा पनि यसलाई पनि दुर्लभ कीर्तिमान मानिन्छ । 

उनी विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने केवल तेस्रो खेलाडी हुन् । यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा ६ वटा छक्का हिर्काएका थिए । सन् २०२१ मा वेस्ट इन्डिजका किरोन पोलार्डले श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए । 

यसदेखि वाहेक पनि दीपेन्द्रको नामसँग थुप्रै कीर्तिमान जोडिएका छन् । त्यसैले उनी चोटमुक्त भएर नेदरल्यान्ड्सविरुद्धको खेलका लागि मैदानमा फर्कनु नेपालका लागि राहतको विषय हो । पछिल्लो समय उनको प्रदर्शन पनि राम्रो देखिएको छ ।

  • विश्वकपका सबैभन्दा कान्छा कप्तानको नेतृत्वमा नेपाल

नेपाली टोली यसपटक रोहित पौडेलको कप्तानीमा टी–२० विश्वकप यात्रामा होमिएको छ । नवौँ विश्वकपमा सहभागी २० वटा टोलीका कप्तानमध्ये रोहित पौडेल नै सबैभन्दा कम उमेरका कप्तान पनि हुन् ।

त्यसैले पनि विश्वकप सुरु हुनु अघिदेखि नै समाचारमा उनको चर्चा पनि भइरहेको छ । विश्वकपमा मंगलबार राति नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो खेल खेल्दा रोहित पौडेलको उमेर २१ वर्ष दुई सय ७६ दिन पुगेको छ । 

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान रोहितको प्रदर्शन पनि गतिलो रहँदै आएको छ । विश्वकप यात्रामा निस्कनुअघि नेपालले घरेलु मैदानमा खेलेको त्रिकाणात्मक शृंखलामा पनि रोहितले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए ।

त्यतिबेला उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा अर्धशतक बनाएका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पनि उनले ४६ रन बनाएका थिए । नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा पनि उनले २५ रन बनाएका थिए । 

यसका अतिरिक्त रोहित पौडेल पछिल्लो एक वर्षको अवधिमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि अग्रस्थानमा छन् । यसबिचमा उनले २८ खेलमा कुल सात सय ३२ रन बनाइसकेका छन् । 

कप्तान रोहितले नेदरल्यान्ड्सविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा आफ्नो टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया पनि दिएका छन् । ‘विश्वकपको मञ्चसम्म आइपुग्ने सबै टोली अब्बल छन् । कमजोर टोली विश्वकपसम्म पुग्दैनन् । त्यसैले कुनै पनि टोलीलाई कमजोर सम्झने भुल हामीले गरेका छैनौँ । हामी हरेक टोलीको चुनौती सामना गर्न तयार छौँ,’ उनले भनेका छन् ।

  • नेपालको ओपनिङ जोडीमा आँखा

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ओपनिङ जोडीको प्रदर्शन खासै प्रभावकारी देखिएको छैन । विश्वकपअघि खेलिएको क्यानडाविरुद्धको अभ्यास खेलमा पनि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले गतिलो प्रदर्शन गर्न सकेनन् ।

क्यानडाविरुद्धको उक्त खेलमा ओपनर कुशल भुर्तेल १६ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर आसिफ शेख पनि २२ बलमा तीन चौकाको मद्दतले २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

त्यसैले विश्वकपमा बलिया प्रतिद्वन्द्वीहरुविरुद्ध टोलीलाई गतिलो सुरुआत दिन ओपनिङ जोडीले निखारिएको प्रदर्शन गर्नु आवश्यक देखिन्छ । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० शृंखलामा पनि नेपालको ओपनिङ जोडी खासै प्रभावकारी देखिएको थिएन ।

उक्त शृंखलाको नामिबियाविरुद्धको पहिलो खेलमा कुशल शून्य रनमा र आसिफ शेख ६ रनमै आउट भएका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा कुशल भुर्तेल शून्य रनमा र आसिफ शेख ३४ रनमा पेभेलियन फर्किएका थिए ।

नामिबियाविरुद्धको तेस्रो खेलमा भने ओपनरको भूमिकामा कुशल भुर्तेलको स्थानमा अनिल साह आएका थिए । त्यो खेलमा अनिल साह २३ रन बनाउँदै आउट भएका थिए भने आसिफ शेख एक रनको ब्यक्तिगत स्कोरमै क्रिजबाट बाहिरिएका थिए । नेदरल्यान्ड्सविरुद्धको चौथो खेलमा नेपालका ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख आठ रन बनाउँदै आउट भएका थिए । 

यसैगरी सन् २०२४ को अप्रिलमा ओमानमा खेलिएको एसीसी प्रिमियर कपमा पनि नेपाली ओपनरको भूमिका खासै प्रभावकारी देखिएको थिएन । प्रिमियर कपमा नेपाल चौथो भएको थियो । तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख पाँच रनमा आउट भएका थिए । 

त्यसअघि खेलिएको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा पनि नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख आठ रनमा पेभेलियन फर्किएका थिए ।सोही प्रतियोगिताको समूहगत चरणमा साउदी अरेबियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शून्य र आसिफ शेखले दुई रनमात्र बनाउन सकेका थिए ।

यसैगरी समूहगत चरणमै हङ्कङविरुद्धको खेलमा भने नेपालको ओपनिङ जोडीले निखारिएको प्रदर्शन गरेको थियो । त्यो खेलमा ओपनिङ जोडीले ७० रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३२ र आसिफ शेखले ४० रन बनाएका थिए । 

कतारविरुद्धको खेलमा पनि नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमा पेभेलियन फर्किएका थिए । 

एसीसी प्रिमियर कपको समूहगत चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन खासै प्रभावकारी थिएन । त्यो खेलमा ओपनिङ जोडीले ४४ रनको साझेदारी गरेको थियो । त्यो खेलमा ओपनर कुशल भुर्तेलले २४ र आसिफ शेखले ३२ रन बनाएका थिए । 

त्यसैले टी–२० विश्वकपको मंगलबार राति खेलिने नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपालको ओपनिङ जोडीमाथि धेरैको आँखा रहने छ । किनभने विश्वस्तरीय प्रतियोगिताहरुमा ओपनिङ जोडीको प्रदर्शनले खेलमा निकै अर्थ राख्छ । 

  • नेदरल्यान्ड्सलाई माइकल लेभिटको आश

पछिल्लो एक वर्षको अवधिमा नेदरल्यान्ड्सका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान माइकल लेभिट हुन् । टी–२० विश्वकपमा भने लेभिटको यो ‘डेब्यू’ खेल हुनेछ ।

उनले नेदरल्यान्ड्सका लागि पछिल्लो एक वर्षको अवधिमा नौ खेल खेल्दै कुल तीन सय ४९ रन बनाएका छन् । यो अवधिमा नेदरल्यान्ड्सका लागि सर्वाधिक विकेट लिने बलर भने किङ्मा हुन् । उनले नौ खेलमा कुल १२ विकेट लिएका छन् । 

  • बढी रन बन्ने पिच

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा यसअघि अमेरिका र क्यानडाबिचको खेल खेलिएको थियो । त्यो खेलमा दुवै टोलीले उच्च स्कोर बनाएका थिए । त्यो खेलमा क्यानडाले एक सय ९४ रन बनाएको थियो । अमेरिकाले १८औँ ओभरमै विजयलक्ष्य पुरा गरेको थियो । त्यसैले नेपाल र नेदरल्यान्ड्सबिचको खेलमा पनि बढी रन बन्ने अनुमान गरिएको छ । 

  • वर्षाको सम्भावना कम

ग्रान्ड प्रेरी स्टेडियममा नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदा डालासमा वर्षको सम्भावना कम रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार राति डालासमा वर्षाको सम्भावना केवल दुई प्रतिशत रहेको छ । मंगलबार डालासको तापक्रम २३ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । 

  • नेपाल र नेदरल्यान्ड्सको टोली

नेपाली टोली  : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी । 

नेदरल्यान्ड्सको टोली  : स्कट एडवार्डस (कप्तान एवं विकेटकिपर), आर्यन दत्त, बास डी लिड, ड्यानियल डोरम, फ्रेड क्लासेन, लोगन भाव बिक, म्याक्स ओ’डड, माइकल लेभिट, पल भान मिकेरन, साइब्रान्ड इङ्गेलब्रिच्ट, तेजा निदामनुरु, टिम प्रिंगल, बिक्रम सिंह, भीम किङ्मा र वेस्ली बारेसी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप