बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रतिनिधि सभा

बालेनमाथि संसदमा खनियो एमाले–‘आफ्नै आमाको अस्तित्वमाथि  चिथोरेको आरोप’

‘साइबर ग्याङबाट राजनीतिमा सधैँ टिकिँदैन’
मङ्गलबार, २२ जेठ २०८१, १२ : ४५
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरप्रमुख बालेन शाहमाथि खनिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनमाथि विभिन्न आरोप लगाए । 

सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका भट्टराईले अधिकांश समय बालेनविरुद्ध प्रयोग गरे । उनले एमाले अध्यक्ष ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह भएको टिप्पणी गरे । जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए ।  

सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे । 

सांसद भट्टराईको भनाई जस्ताको त्यस्तै 

हामीले काठमाडौँका बाटा चौडा बनायौँ, केशव स्थापित नै हुनुहुन्थ्यो, माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँहरूलाई विस्तार गर्न हामीले भूमिका खेल्यौँ । पछिल्लो पटक विद्यासुन्दर शाक्य आएपछि काठमाडौँको पुनर्निर्माणमा उल्लेख्य भूमिका खेल्यौँ । रानीपोखरी, कमलपोखरी बनायौँ, दरबार हाइस्कूल बनायौँ । दरबार स्क्वायरको पुनर्निर्माणको काम गर्यौै । यी तमाम कामहरू नेकपा एमालेको नेतृत्वमा भएको छ । 

आज काठमाडौँ महानगरका प्रमुखज्यूलाई सहयोग गर्न तयार छौँ । काठमाडौँलाई ल्याण्डफिल साइट चाहियो, नेकपा एमालेको सरकारको पालामा हामीले ल्याण्डफिल साइट खोज्यौँ, त्यसले क्षमता अपुग भयो भनेर बञ्चरे डाँडामा अर्को ठाउँ खोज्यौँ, त्यसका लागि केपी ओली सरकारले १५ अरबको लगानीमा बनाएको हो र त्यहाँसम्म जाने बाटो त्यही बेला बनाएको हो, त्यो कुरा हामी नर्बिसौँ । यहाँका चोकहरूलाई सांस्कृतिक सम्पदा बनाउन विद्यासुन्दरजीले खेलेको भूमिका नबिर्सौँ । १५ अरब रुपैयाँ बचत गरेर उहाँ बिदा हुनुभयो । 

म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो ? सरकारले दिन्छ कति चाहियो ? हामी दिन्छौँ । सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउन तपाईँका योजना के छन् ? आउनुस् हामी सँगसँगै काम गरौला । 

तर उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन् । लाखौं युवाहरूले आफ्नो भविष्य, सपना तपाई मार्फत खोजेका हुन् । तर पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु । 

नेताहरू जेल बसेको कुरालाई तपाईले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौँ महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईले आज मजाक उढाउँने ?

हामी भन्न चाहन्छौँ, त्यो मानिस मात्रै देशभक्त हुन्छ जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, संस्कृतिप्रति गर्व गर्छ र आफनो देशप्रति गर्व गर्छ । आफ्नो इतिहास, संस्कृतिप्रति कसैले भत्र्सना गर्छ भने त्यो नागरिक कसरी देशभक्त हुन सक्छ ? आज केपी ओली जेल बसेको कुरालाई तपाईले उढाउँदै हुनुहुन्छ, म भन्न चाहन्छु, यस ढङ्गले तपाईले भण्डाफोर गर्ने हो भने यो त आफ्नै आमाको अस्तित्वमाथि तपाईले चिर्थोदै हुनुहुन्छ । यी नेताहरुले लडेर ल्याएको लोकतन्त्र हो । यीनै नेताहरुलाई बदनाम गर्दै हुनुहुन्छ । आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाएको जस्तो । 

बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु ।

हरेक व्यक्तिका आफ्ना सीमा छन्, अधिकार छन्, कानुनले अधिकार दिएको छ, कानुनले सीमा तोकेको छ, त्यो सीमा र अधिकारभित्र हामी बस्नुपर्दछ । नेताहरूलाई गाली गलौच गर्नु, आफ्ना अभिभावक जस्ता नेता, यो देशको लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका नेकपा एमालेका नेतृत्वमाथि गालीगलौज गर्नु आफैले आकाशतिर फर्किएर थुकेपछि त्यो कहाँ झर्छ भन्ने कुरा बालेनजीलाई थाहा हुनुपर्छ । 

आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान् तर त्यसबाट हामीले डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, त्यो क्षणिक हुन्छ, उत्तेजनामा हुन्छ, मनोरञ्जनको रूपमा हुन्छ । राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिँदैन । त्यो कुरा हामीले दुनियाँका धेरै उदाहरणबाट हामीले देखेका छौँ । 

काठमाडौँको सभ्यताको केन्द्रमा हामी त्यस्तै जनप्रतिनिधि चाहन्छौँ, हामी उहाँलाई सहयोग गर्न चाहन्छौँ । उहाँले चुनाव जित्ने बित्तिकै हाम्रो अध्यक्षले उहाँलाई उपहार दिनुभएको हो, सँगै मिलेर जाऊँ भन्नुभएको हो । हाम्रो पार्टीबाट जित्नुभएका उपप्रमुख र वडाध्यक्षहरूलाई हामीले निर्देशन दिएका हौँ मेयरसँग मिलेर काम गर्नुस् भनेर निर्देशन दिएका हौँ । तर आज उहाँ कहाँको रिस, बिरालोले कोहीसँग रिस उठ्यो भने खाँबो चिथोर्न भनेजस्तै कहाँको रिस एमाले अध्यक्षमाथि ल्याएर पोख्दै हुनुहुन्छ ? हामीलाई धेरै चिन्ता छ । जे जे प्रश्नहरू उठेका छन्, त्यसमा एमाले छानबिनका लागि तयार छ । 

कुनै बेला वाइडबडीमा खुब चर्को चर्को कुरा उठाइयो, आज वाइडबडीको छानबिनको कुरा किन उठ्दैन ? किनभने छानबिनमा एमालेको कोही पनि संलग्न छैन, को को संलग्न छ वाइडबडीमा प्रष्ट देखिएको छ । त्यसपछि वाइडबडी च्याप्टर क्लोज भयो । 

भुटानी शरणार्थी प्रकरणमा सेटिङ गरेर आफ्ना पदाधिकारी छुटाउन एमाले गएको छैन । हामीले त भनेका छौँ हाम्रा पदाधिकारीलाई तपाईंले कानुन अनुसार अनुसन्धान गर्न सहयोग गर्नुस् । हामी कोही पनि हाम्रा पदाधिकारीलाई त्यस ढंगले छुट दिने पक्षमा छैनौँ । 

एमालेमाथि कसी लगाउनु पर्दैन । एमालेमाथि प्रश्न उठाउनु पर्दैन । यो तमाम लोकतान्त्रिक आन्दोलनमा एमालेको अग्रगामी भूमिका छ । हामीलाई थाहा छ महाभारतको युद्धमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजियो । गएका ३ वर्ष एमालेलाई घेराबन्दी गर्न खोजियो । हामीलाई थाहा छ आजको आधुनिक एमाले र एमालेको अध्यक्ष केपी ओली आजको अभिमन्यु हो हिजोको होइन । घेरा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ, त्यो कुरा सम्बन्धित पक्षले बुझ्न पनि आग्रह गर्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप