नेपाल पत्रकार महासंघको चुनाव सर्ने
काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिनु भएको छ, आज पनि त्यस विषयमा छलफल गरी एउटा टुङ्गोमा पुगिन्छ’, उनले भने, ‘मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ, निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना छ ।’
जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उनले बताए ।
अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
महासंघका सचिव गोविन्द चौलागाईंले सक्रिय पत्रकारिता गर्ने कोही पनि पत्रकार छुट्न हुँदैन भन्ने मान्यता सबैमा रहेको बताए । उनले भने, ‘जिल्लाबाट आएका कतिपय मतदाता नामावलीमा विवाद देखिन्छ, कतिपय आउनुपर्ने पत्रकार आएका छैनन्, कतिपय आउनु नपर्ने पनि आएका छन् यी सबैलाई मिलाइएर अगाडि बढ्ने कुरा भएको छ ।’
महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्ला सरकारले महत्त्व नबुझेका कारण योजना अलपत्र पारे
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
हचुवाको भरमा योजना ल्याइयो : मुख्यमन्त्री सिंह
-
अखिल क्रान्तिकारीभित्र उमेरहद विवाद उत्कर्षमा, छानबिन समितिले समाधान गर्ला ?
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
-
रौतहटमा कीटनाशक औषधि बोकेको गाडी र गहुँ लोड गरिएको ट्याक्टर बरामद