शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकपमा आज : पहिलो पटक आपसमा भिड्दै इङ्गल्यान्ड र स्कटल्यान्ड

मङ्गलबार, २२ जेठ २०८१, १० : ३०
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता इङ्गल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा खेल्न लागिएको छैटौँ खेल हो । इङ्गल्यान्ड र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यो समूहमा यसअघि ओमान र नामिबियाबिच खेल भइसकेको छ । उक्त खेलमा नामिबियाले ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । अस्ट्रेलिया पनि सोही समूहमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्गल्यान्ड तेस्रो स्थानमा आसिन छ । स्कटल्यान्ड भने पछिल्लो आईसीसी वरीयताको १४औँ स्थानमा छ । विश्व क्रिकेटमा धेरै कारणले यी दुवै फरक चरित्र बोकेका टोली हुन् ।

इङ्गल्यान्ड दुईपटकको च्याम्पियन

इङ्गल्यान्डले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । इङ्गल्यान्डको यो लगातार नवौँ सहभागिता हो । स्कटल्यान्डको भने टी–२० विश्वकपमा यो छैटौँ सहभागिता हो । विश्वकपको पहिलो संस्करणमा पनि स्कटल्यान्ड सहभागी थियो ।

यसैगरी क्रिकेटको जननी राष्ट्र मानिने इङ्गल्यान्डले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि चुमिसकेको छ । इङ्गल्यान्डले सन् २०१० मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा इङ्गल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।

इङ्गल्यान्ड टी–२० विश्वकपको साबिक विजेता पनि हो । सन् २०२२ मा सम्पन्न आठौँ संस्करणको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्गल्यान्डका अतिरिक्त वेस्ट इन्डिजले मात्र हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छ ।

स्कटल्यान्ड ठुलो उपलब्धि ‘सुपर–१२’ चरण

अर्कोतिर, स्कटल्यान्ड टी–२० विश्वकपको ‘सुपर–१२’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् २०२१ मा सम्पन्न विश्वकपमा स्कटल्यान्ड ‘सुपर–१२’ चरणमा पुगेको थियो । ‘सुपर–१२’ चरणमा भने स्कटल्यान्ड आफूले खेलेको पाँचवटै खेलमा पराजित भएको थियो ।

टी–२० विश्वकपमा इङ्गल्यान्डले हालसम्म कुल ४४ खेल खेलिसकेको छ । त्यसमध्ये इङ्गल्यान्ड २४ खेलमा विजयी र १९ खेलमा पराजित भएको छ । एक खेल भने अनिर्णीत रुपमा सकिएको छ ।

स्कटल्यान्डले भने विश्वकपमा हालसम्म १८ खेल खेलेको छ । स्कटल्यान्ड त्यसमध्ये पाँच खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रुपमा सकिएको छ ।

तथ्याङ्कमा बलियो इङ्गल्यान्ड

इतिहास र तथ्याङ्कमा स्कटल्यान्डभन्दा इङ्गल्यान्ड निकै बलियो देखिन्छ । त्यसैले साबिक विजेता इङ्गल्यान्ड मंगलबारको खेलमा स्कटल्यान्डलाई हराउँदै नवौँ संस्करणमा सुखद सुरुआत गर्न चाहन्छ । तर, इङ्गल्यान्डको यो अभियानमा वर्षा बाधक बन्न सक्ने सम्भावना देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार बार्बाडसमा ७० प्रतिशत वर्षाको सम्भावना रहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म इङ्गल्यान्ड र स्कटल्यान्डबिच एक खेल पनि खेलिएको छैन । त्यसैले यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो ।

इङ्गल्यान्डका अधिकांश खेलाडी पछिल्लो समय लयमा देखिएका छन् । भर्खरै भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेकाले पनि इङ्गल्यान्डका खेलाडीको मनोबल उच्च छ । यसका अतिरिक्त लामो समयपछि जोफ्रा आर्चरको आगमनले पनि इङ्गल्यान्डको टोली उत्साही देखिएको छ ।

विश्वकप सुरु हुनुअघि इङ्गल्यान्डले पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि खेलेको थियो । चार खेलको त्यो शृङ्खलामा इङ्गल्यान्ड २–० ले विजयी भएको थियो । शृङ्खलाको बाँकी दुई खेल भने वर्षाका कारण रद्द भएको थियो । शृङ्खलाको अन्तिम खेलमा त इङ्गल्यान्डसामु पाकिस्तान निरीह देखिएको थियो ।

स्कटल्यान्डले लगातार तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको हो । स्कटल्यान्ड र आयरल्यान्ड युरोपेली क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । अन्तिम चरणको छनोट प्रतियोगितामा स्कटल्यान्डले ६ वटै खेलमा जित हात पारेको थियो । स्कटल्यान्ड छनोट प्रतियोगितामा पहिलो भएको थियो ।

यस्तो छ इतिहास

इङ्गल्यान्ड र स्कटल्यान्डबिचको क्रिकेट इतिहास भने निकै पुरानो छ । सन् १८६५ मा स्कटल्यान्डको राष्ट्रिय टोलीले इङ्लिस काउन्टी क्लब सरेसँग प्रतिस्पर्धा गरेको थियो । त्यो खेलमा स्कटल्यान्डले सरेलाई एक सय ७२ रनले हराएको थियो ।

त्यसपछि स्कटल्यान्ड पनि इङ्गल्यान्डकै क्रिकेट बोर्डमा गाभिएको थियो । स्कटल्यान्डका थुप्रै खेलाडीले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । त्यसपछि सन् १९९२ मा स्कटल्यान्ड इङ्गल्यान्डको क्रिकेट बोर्डबाट अलग भएको थियो ।

स्कटल्यान्डले सन् १९९४ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्यता प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली हालसम्म केवल पाँचपटक एकअर्काविरुद्ध ओर्लिएका छन् । त्यो सबै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

ब्याट्सम्यानलाई हैरान पार्ने पिच

इङ्गल्यान्ड र स्कटल्यान्डबिच खेल हुने बार्बाडसको क्रिकेट स्टेडियमको पिच मन्द गतिको छ । त्यसैले यो पिचमा रन बनाउन ब्याट्सम्यानले ठुलै सङ्घर्ष गर्नुपर्ने हुन्छ । यो पिच खासगरी स्पिन बलरका लागि निकै उपयुक्त मानिन्छ ।

सम्भावित टोली

इङ्गल्यान्ड : जस बट्लर (कप्तान /विकेटकिपर), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङ्स्टोन, साम कुर्रन, जोफ्रा आर्चर, आदिल रासिद र मार्क उड ।

स्कटल्यान्ड : रिची बेरिङ्टन (कप्तान), जर्ज मुन्सी, ओली ह्यारिस, माइकल जोन्स, म्याथ्यू क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, क्रिस ग्रिब्स, क्रिस सोल, सफयान सरिफ र ब्राड्ली करी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप