बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

घरघरमा व्यावसायिक भैँसी पालन र तरकारी खेतीले बदलिएका गाउँ

मङ्गलबार, २२ जेठ २०८१, ०८ : ३७
मङ्गलबार, २२ जेठ २०८१

सुर्खेत । सुर्खेतमा ०७५ सालदेखिनै कृषि क्षेत्र विकास कार्यक्रम लागु छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित यो कार्यक्रमले व्यावसायिक पशुपालन र परम्परागत रुपमा खेती गर्दै आएका कृषकलाई व्यावसायिक खेतीतर्फ अग्रसर गराउन प्रयत्न गरिरहेको छ ।

सुर्खेतका सबै पालिकामा लागु भएको कार्यक्रम अन्तर्गत दुध मूल्य शृङ्खला, तरकारी मूल्य शृङ्खला, बाख्रा मूल्य शृङ्खला शीर्षकमा रहेर विभिन्न पशु तथा कृषि सम्बन्धी कार्य भइरहेका छन् ।

कार्यक्रम सहकारी, समूह र कृषि प्रसार केन्द्र बनाइ सञ्चालित छ । कुनै समय आफ्नो खाँचो पूर्ति गर्नमात्र भैँसी पालन गर्ने र तरकारी खेती गर्ने कृषकहरू कार्यक्रम सञ्चालनमा आएपछि अहिले बिक्री गरेर लाखौँ आम्दानी गर्ने भएका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका अनुसार सुर्खेतभर ४७३ वटा समूह÷सहकारीमार्फत कार्यक्रम सञ्चालित छ ।

बराहताल गाउँपालिकामा ७० वटा समूह-सहकारी मार्फत कार्यक्रम सञ्चालित छ भने चौकुने गाउँपालिकामा ४७, चिङ्गाडमा ३५, सिम्तामा ५२ वटा समूह÷सहकारी मार्फत पशुपालन तथा कृषि गतिविधि भइरहेका छन् ।

यस्तै गुर्भाकोट नगरपालिकामा ३३, लेकबेसीमा ९०, पञ्चपुरीमा २१, भेरीगंगामा १०३, वीरेन्द्रनगरमा २२ वडा समूह मार्फत काम भइरहेको छ ।

कृषि क्षेत्र विकास कार्यक्रमका सञ्चार अधिकृत रत्नबहादुर बुढाका अनुसार कार्यालयबाट भकारो निर्माण, दुध बोक्ने सामान खरिद, औषधि, प्राविधिक तालिम, घाँस काट्ने मेसिन, नश्ल सुधारको राँगादेखि बीमा सम्बन्धी गतिविधिमा कृषकलाई सहयोग गर्दै आएको छ ।

photo (1)

पोषण बगैँचा र विपन्न महिलाहरूको सुनौलो भविष्य निर्माणका लागि बानीको विकास कार्यक्रम सञ्चालन गरिएको छ । जस अन्तर्गत महिलाहरूले तीन वर्षको कार्ययोजना बनाउँछन् भने प्रत्येक वर्ष व्यवसाय (जस्तै बाख्रा, भैँसी) मा बढावा दिँदै जान्छन् ।

घरघरमा व्यावसायिक भैँसी पालन र तरकारी खेती

तीन वर्षअघि भेरीगंगा नगरपालिका–११, चिप्लेका प्रायः घरमा भैँसी थिएन । भएकाहरू पनि घरमा दुध खानका लागिमात्रै एउटासम्म भैँसी पाल्थे । कृषि क्षेत्र विकास कार्यक्रमले उक्त ठाउँमा दुध मूल्य शृङ्खला अन्तर्गत कार्यक्रम सुरुवात ग\यो ।

२० जनाको कोपिला भैँसी पालन कृषक समूह गठन गरियो । दुई वर्षको अवधिमा अहिले प्रत्येक कृषकको घरमा कम्तीमा पाँचदेखि बढीमा २४ वटा भैँसी छन् । स्थानीय राधिका बुढाथोकीसँग दुई वर्ष पहिले एउटा पनि भैँसी थिएन । अहिले उनीसँग पाँच वटा भैँसी छन् ।

उनी भन्छिन्, ‘पहिला हामीलाई व्यावसायिक कृषक बन्नका लागि खासै ज्ञान, सिप थिएन । कृषि क्षेत्र विकास कार्यक्रमले तालिम दिएर सहयोग ग¥यो । त्यसमा अनुदान पनि दियो र व्यावसायिकतर्फ कसरी उन्मुख हुने भन्ने सिकायो ।

त्यसपछि एक वर्षमा यति भैँसी बनाउँछु भनेर एउटा लक्ष्य बनाएको उनले सुनाइन् । अर्को वर्षसम्म अझ भैँसी थप्ने उनको भनाइ छ ।

उक्त समूहका अध्यक्ष भूमिका रानासँग ३१ वटा भैँसी छन् । २० वटा घरधुरीमा अहिले भैँसी नहुने कुनै घर छैन । रानाका अनुसार अहिले उक्त गाउँबाट दैनिक ५ सय लिटर दुध उत्पादन हुन्छ । कार्यक्रम लागु हुनुपूर्व २२ लिटरसम्म मात्रै दुध उत्पादन हुने गरेको उनले बताइन् ।

१७ लाख लगानी भएको समूहमा कृषि क्षेत्र विकास कार्यक्रमले ८ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ भने सोही मात्रामा कृषकले लगानी गरेका छन् ।

अहिले गाउँ नै व्यावसायिक भैँसी पालन गरी आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको छ । सहलगानीमा (आधाआधा) मा भइरहेको कार्यक्रमले धेरै समस्या हल भएको राना बताउँछिन् । दुध धेरै उत्पादन भएपछि दुध सङ्कलन केन्द्र बनाइएको छ । प्रतिलिटर ६५–६८ रुपैयाँमा दुध बिक्री हुन्छ । बजारको कुनै समस्या छैन । त्यहाँको दुध वीरेन्द्रनगरमा आउँछ ।

यस्तै लेकबेसी नगरपालिका–१०, साटाफाँटमा २७ जनाको सिर्जनशील दुग्ध समूह गठन गरी दैनिक चार सय लिटर दुध उत्पादन गरिरहेका छन् । समूहका अध्यक्ष हुमप्रसाद लामिछानेका अनुसार १७ किसानलाई कृषि क्षेत्र विकास कार्यक्रमबाट घाँस काट्ने मेसिन र १२ वटामा भकारो सुधारमा सहयोग भएको छ ।

यस्तै यहाँ १९ लाख ९६ हजार ६०५ रुपैयाँमा दुई वटा सिँचाइ पोखरी निर्माण भएका छन् । समूहको लगानी २ लाख ८८ हजार ५०२ रुपैयाँ छ भने बाँकी कृषि क्षेत्र विकास कार्यक्रमको छ ।

सिँचाइ पोखरी तरकारी उत्पादनमा सहयोग पु¥याउनुका साथै घाँस उत्पादनमा सहयोग हुने अपेक्षासहित निर्माण गरिएको हो । १९० रोपनी जमिनमा अहिले सिँचाइको सहज सुविधा भएको छ भने कृषकहरू व्यावसायिक कृषि तथा पशुपालनमा अग्रसर भइरहेको कृषि क्षेत्र विकास कार्यक्रममा सञ्चार अधिकृत रत्न बुढा बताउँछन् ।

बराहताल गाउँपालिका–८, को आलडाँडा र गभेना बस्तीमा ३२ घरधुरी छन् । करिब दुई सय जनसङ्ख्या रहेको बस्तीका कुनै पनि मान्छे जागिरे छैनन् ।

केही समय अघिसम्म घरखर्च टार्नका लागि यहाँका अधिकांश मान्छे भारत जान्थे । जङ्गलको बिच भागमा रहेको यो बस्तीमा उत्पादन भएको खाद्यान्नले ४÷५ महिना पनि पुग्दैनथ्यो । खेतीपातीका लागि आकाशे पानीमा निर्भर रहनुपर्दा उत्पादन खासै हुन्थेन । यहाँ कृषि क्षेत्र विकास कार्यक्रमबाट दुई वटा सिँचाइ पोखरी निर्माण भएका छन् ।

१९ लाख १३ हजार २५१ रुपैयाँमा निर्माण भएका दुई सिँचाइ पोखरीले यतिबेला अधिकांश कृषकको घरमा हरियो तरकारी बारी छ भने हिउँदे सिजनबाटै तरकारी बेच्न थालिसकेका छन् । कृषकको २ लाख ७६ हजार रुपैयाँ लगानी छ ।

photo (2)

हरियाली बहुउद्देश्यीय सहकारी कृषक समूह गठन गरी उक्त समूहका अधिकांश कृषक यतिबेला व्यावसायिक खेतीमा अग्रसर भएका छन् ।

स्थानीय कमला मल्लको संयुक्त परिवार छ । एक वर्ष अघिसम्म सामान्य तरकारी, खाद्यान्नका लागि वीरेन्द्रनगर बजारसँग निर्भर हुनुपर्थ्यो । उनी भन्छिन्, ‘सिँचाइ सुविधा भएसँगै हिउँदे सिजनमा ५ क्वीन्टल आलु, ५० केजी सिमी बेचेँ ।’ 

स्थानीय टेक बहादुर पुलामीले एक सिजनमा ३५ हजारको आलु र ७ हजारको सिमी बेचेको सुनाए । उनी भन्छन्, ‘पहिला उत्पादन भएको खाद्यान्नले पुग्दैनथ्यो । घरखर्च टार्न इन्डिया जान्थ्यौँ । अहिले उत्पादन भएको तरकारीले चामलदेखि अन्य खाद्यान्न किन्न सहज भएको छ ।’

समूह सकारीका अध्यक्ष दानबहादुर रामजाली चैत, वैशाख महिनामा मात्रै २९ क्वीन्टल आलु बिक्री गरेको बताए । पहिला सबैजसो खाद्यान्नमा वीरेन्द्रनगरसँग निर्भर हुने आलडाँडा र गभेना यतिबेला तरकारी बिक्री गरिरहेका छन् । रामजाली भन्छन्, ‘पहिला किन्नुपर्थ्यो, अहिले उत्पादनले घरमा पुगेर पनि बिक्री गर्ने भएका छौँ । सिँचाइ पोखरीले हामीलाई सुविधा दियो ।’

२९ करोडभन्दा बढी लगानी, ७ हजार बढी घरधुरी लाभान्वित

माथिका केही उदाहरणमात्रै हुन् । कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाभर सञ्चालित विभिन्न कृषि तथा पशुपालन सम्बन्धी कार्यबाट ११ हजार ८३० जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

कार्यक्रम सञ्चालनका लागि ५२ करोड २६ लाख ७ हजार ९०५ रुपैयाँ लगानी भएको छ । जसमा १९ करोड ८४ लाख ५ हजार ४०४ रुपैयाँ कृषकको र बाँकी ३२ करोड ४२ लाख २ हजार ५०१ रुपैयाँ कृषि क्षेत्र विकास कार्यक्रमको लगानी छ ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका कार्यक्रम संयोजक वासुदेव काफ्लेले सानो सहयोगबाट कृषकमा परिवर्तन आएको बताए । कृषकलाई एकताबद्ध गरी कृषिमा आत्मनिर्भर बनाइनु, उत्पादन भएको कृषि उपजलाई बजारीकरण तथा कृषकलाई आर्थिक रुपमा सबल बनाउनु कार्यक्रमको मोडल रहेको उनको भनाइ छ ।

photo (3)

कार्यक्रम अन्तर्गत महिला सशक्तिकरणका लागि लैङ्गिक कार्य सिकाइ पद्वति अन्तर्गत तालिम सञ्चालन, महिला सदस्यहरूको कार्यबोझ घटाउनका लागि महिलामैत्री मेसिन तथा उपकरण (कृषि कार्यबोझ घटाउने) सहयोग, वित्तीय शिक्षा र व्यावसायिक साक्षरता कक्षा सञ्चालन, पोषण प्रवर्द्वन सचेतना अभियान र पोषण तथा असल खानपान सम्बन्धी बानीको विकाससम्मका कार्यक्रम भएका छन् । सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरी कृषकलाई कृषि सम्बन्धी ज्ञान, सिपबारे जानकारी गराउने गरिएको छ ।

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा २२ वटा कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको छ । यी केन्द्रले कृषक, कृषि समूह र कृषि सेवा प्रदायकको प्राविधिक र संस्थागत क्षमताको विकास, कृषक र सेवा प्रदायकबिच समन्वय, सहकार्य स्थापित गराउन मद्दत गर्नुका साथै तीन तहका सरकारबिच समन्वयमा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गरी सोको कार्यान्वयन र प्रचार प्रसार गर्ने काममा सहयोग गर्दछन् ।

कार्यक्रम संयोजक काफ्लेका अनुसार कृषि क्षेत्र विकास कार्यक्रमको लक्ष्य कर्णाली प्रदेशका पहाडी तथा उच्चपहाडी क्षेत्रमा बसोवास गरेका जनताहरूको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउनु हो ।

grass

यो कार्यक्रम सुर्खेतसहित कर्णाली प्रदेशका १० जिल्लाका ५८ वटा स्थानीय तहमा सञ्चालन छ । जस अन्तर्गत अहिलेसम्म ९५५ समूहऔसहकारी मार्फत २६ हजार ३० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएको काफ्लेले बताए ।

कृषि क्षेत्र विकास कार्यक्रमका ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत रत्नबहादुर बुढाका अनुसार लगानी सानो भए पनि त्यसको बढी उपयोग कसरी गर्ने र त्यसबाट कसरी बढी लाभ लिन सकिन्छ भन्ने विषयमा कृषकहरूलाई सबैभन्दा पहिला ज्ञान दिनुपर्छ । त्यसपछि कृषकहरू पनि स–सानो लगानीबाट ठुलो उपलब्धि हासिल गर्न सक्ने उनले बताए ।

goat

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप