बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
उत्पादन

सरकारी फार्मबाट फलफूलका २४ हजार बिरुवा बिक्री हुँदै, किन्ने प्रक्रिया कस्तो छ ?

मङ्गलबार, २२ जेठ २०८१, ०६ : ४८
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । बर्खा सिजनमा विभिन्न फलफूलको बिरुवा सारिन्छ । काठमाडौँको कीर्तिपुरस्थित समशीतोष्ण बागवानी केन्द्रले आगामी असार १६ गतेबाट २४ हजार फलफूलका बिरुवा बिक्री गर्ने भएको छ ।

केन्द्रले आफ्नो घरायसी बगैँचाका लागि ती बिरुवा बिक्री गर्ने भएको हो । केन्द्रका प्रमुख पदम प्रसाद अधिकारीका अनुसार बर्खे सिजनमा सुन्तला, कागती, निबुवा, भोगटे, एभोकार्डो, ड्रागनफ्रुट लगायत फलफूल सारिन्छ ।

हाल केन्द्रले बिक्री गर्ने फलफूल घर–बगैँचामा रोप्न मिल्ने, साना किसानलाई मात्रै वितरण गर्ने भएको हो । ‘विशेष गरी स्थानीय किसान आउनुहुन्छ,’ उनले भने, ‘उहाँहरू आएर टोकन अनुसार बिल काटेर लैजाने हो ।’

सरकारी निकायमा स्वस्थ बिरुवा

निजी नर्सरीको तुलनामा सरकारी निकायमा बिरुवा सस्तो र स्वस्थ हुने अधिकारीहरूको दाबी छ । ‘ग्लास हाउस’ भित्र बिरुवा हुर्काएकाले स्वस्थ हुने केन्द्रकी बागवानी विकास अधिकृत तथा सूचना अधिकारी शोभा शर्माले बताइन् । ‘हामीले फलफूलको बेर्ना ग्लासभित्रै उत्पादन गर्छौँ,’ उनले भनिन्, ‘ग्लासभित्र उत्पादन गरेको बिरुवा स्वस्थ हुन्छ ।’

falful  (3)

प्रतिबिरुवा ७५ देखि १५० रुपैयाँ

केन्द्रले कम मूल्यमा स्वास्थ्य बिरुवा प्रदान गर्दै आएको छ । आगामी महिना बिक्री हुने फलफूलको बिरुवा प्रतिगोटा ७५ रुपैयाँदेखि १५० रुपैयाँ पर्ने जनाइएको छ ।

केन्द्रबाट खासगरी अमिलो जातको फलफूलको बिरुवा बिक्री हुन्छ । केन्द्रका अनुसार खास गरेर कागतीका तीन जात छन् । सुन कागती एक र दुई, तेह्रथुम लोकल भ्रन्ने । यिनीहरू पहाडी क्षेत्रमा रोप्न सकिन्छ । सुन कागती दुई तराई क्षेत्रमा पनि लगाउन सकिने केन्द्र प्रमुख अधिकारीले बताए । ‘निबुवा, भोगटे तराईमा हुन सक्छ, तै पनि हाम्रो कार्यालय मध्य पहाडी क्षेत्रमा हुने भएकाले यही क्षेत्रमा उत्पादन हुने बिरुवा उत्पादन गरेका छौँ,’ उनले भने ।

दुई सिजनमा फलफूल रोपिन्छ

नेपालमा दुई सिजनमा फलफूल रोप्ने गरिन्छ । सधैँ हरियो हुने खालको फलफूल बर्खा सिजनमा रोपिन्छ । यो सिजनमा रोपिने फलफूल निबुवा, कागती, सुन्तला लगायत अमिलो जातका फलफूल पर्ने विज्ञहरू बताउँछन् ।

falful  (4)

अर्को हिउँदे फलफूल । हिउँदमा पात झरेर एकदम सुसुप्त अवस्थामा रहेको बिरुवा सारिन्छ । ‘पतझर हुने फलफूलहरू हिउँदमा रोप्छौँ,’ अधिकारीले भने, ‘पतझरमा पात झरेर बोटहरू मरेको जस्तो देखिन्छ । त्यो समयमा आरु, आरुबखडा, नासपाति, कटुस, हलुवावेद, ओखर जस्ता फलफूलका बिरुवा बिक्री गर्छौँ ।’

तथ्याङ्क सङ्कलनमा समस्या

देशभर फलफूलको बोटबिरुवा माग र पूर्ति तथ्याङ्क सङ्कलनमा समस्या भएको अधिकारीहरूले बताए । राज्य सङ्घीयतामा गइसकेपछि फलफूलमात्रै नभइ कृषिका सम्पूर्ण तथ्याङ्क सङ्कलनमा समस्या रहेको केन्द्रका प्रमुख अधिकारीले सुनाए ।

falful  (7)

‘राष्ट्रिय माग यति भन्नलाई पनि तथ्याङ्क सङ्कलन गर्न समस्या नै छ,’ उनले भने, ‘फलफूलमात्रै नभएर सबै बालीको तथ्याङ्क सङ्कलन गर्न समस्या देखिएको छ ।’

उनका अनुसार देशमा माग भएका फलफूलका बिरुवा प्रदेश र स्थानीय तहले नै पूर्ति गर्ने र त्यहाँ पूर्ति हुन नसकेको अवस्थामा मात्रै केन्द्रसम्म माग आउने गरेको छ । ‘बर्खे सिजनमा करिब १ लाख बिरुवाको माग हुन सक्छ,’ उनले भने, ‘तर देश सङ्घीयतामा गइसकेपछि केन्द्रमा सबै माग आइपुग्दैन ।’

उनका अनुसार हिउँद सिजनमा करिब ६० देखि ७० हजारको हाराहारी फलफूलको बोटबिरुवाको माग हुनसक्ने उनको अनुमान छ ।

बिरुवा खरिद गर्दा अनिवार्य बिल

सरकारी होस वा निजी फार्मबाट बिरुवा खरिद गर्दा अनिवार्य बिल लिन अधिकारीले सुझाएका छन् । उत्पादन दिँदा अर्कै बिरुवा पर्ने गुनासो आएकाले बिरुवा खरिद गर्दा अनिवार्य बिल लिनुपर्ने केन्द्रका प्रमुख अधिकारीले सुझाएका छन् ।

falful  (2)

नेपालमा वार्षिक एक लाख मेट्रिकटनभन्दा बढी फलफूल उत्पादन भइरहेको सरकारी तथ्याङ्क छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८-०७९ को तथ्याङ्क अनुसार १ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको छ । यसमध्ये १ लाख २९ हजार हेक्टरबाट मात्रै फलफूल उत्पादन भइरहेको छ । यो क्षेत्रबाट १ लाख ४१ हजार मेट्रिक टन वार्षिक उत्पादन भएको तथ्याङ्क छ । 

falful  (5)IMG_2044

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप