बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

डेथ ओभरमा कमाल मच्चाउने अविनाशसँग आशा

मङ्गलबार, २२ जेठ २०८१

अविनाश बोहरा नेपाली राष्ट्रिय टोलीका मध्यम तेज गतिका बलर हुन् । २६ वर्षीय अविनाशले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रियको तुलनामा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता निकै बढी खेलेका छन् । 

अविनाशले हालसम्म केवल दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने उनले ५९ वटा खेलेका छन् । त्यसैले एकदिवसीयको तुलनामा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको प्रदर्शन उत्कृष्ट देखिन्छ । 

अविनाशले एकदिवसीय अन्तर्राष्ट्रियको दुई पालीमा कुनै विकेट लिन सकेका छैनन् । उनले टी–२० अन्तर्राष्ट्रियको ५६ पालीमा भने कुल ७४ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो । 

उनले टी–२० अन्तर्राष्ट्रियमा एक पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् भने दुईपटक चार विकेट हात पारेका छन् । एकदिवसीयमा उनले कुल १३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा कुल २३ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ११ वटा क्याच पनि लिएका छन् । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

अविनाशले सन् २०१९ को जनवरी ३१ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल दुबईमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेलेका थिए । त्यो खेलमा उनले ३६ रन खर्चिएर एक विकेट पनि लिएका थिए । त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

यसैगरी अविनाशले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । प्रिमियर कपअन्तर्गत सन् २०२४ को अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको आफ्नो अन्तिम खेलमा उनले विकेट लिन सकेका थिएनन् । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

  • लिस्ट ‘ए’ र टी–२०

अविनाश बोहराले हालसम्म तीनवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले तीन विकेट लिएका छन् । उनले तीनवटै विकेट एउटै खेलमा लिएका हुन । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल १५ रन बनाएका छन् । 

यसैगरी उनले हालसम्म ६७ वटा टी–२० प्रतियोगिता खेलेका छन् । टी–२० प्रतियोगिताको ६३ पालीमा उनले ७६ विकेट लिइसकेका छन् । ब्याटिङतर्फ टी–२० प्रतियोगितामा उनले कुल ४० रन बनाएका छन् । उनले ११ वटा क्याच पनि लिएका छन् । 

  • पछिल्लो प्रदर्शन

अविनाश बोहराले टी–२० विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा उनले २८ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

यसैगरी वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा उनले अविजित १७ रन बनाएका थिए भने विकेट लिन सकेका थिएनन् । वेस्ट इन्डिजविरुद्धको पाँचौँ तथा अन्तिम खेलमा उनले ४९ रन खर्चिएर एक विकेट हात पारेका थिए । 

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपको हङ्कङ र यूएईविरुद्धको खेलमा उनले विकेट लिन सकेका थिएनन् । तर, प्रिमियर कपको समूहगत चरणमा उनले साउदीविरुद्ध दुई, हङ्कङविरुद्ध तीन, कतारविरुद्ध एक र मलेसियाविरुद्ध एक विकेट लिएका थिए ।

  • कीर्तिमान

अविनाश बोहरा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ३०औँ स्थानमा रहेका छन् । उनले सन् २०२० को मार्च १ तारिखमा बैंककमा खेलिएको हङ्कङविरुद्धको खेलमा १२ रन बनाएका थिए । 

यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी ३२औँ स्थानमा आसिन छन् । उनले हालसम्म ७४ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियको एउटै पालीमा उत्कृष्ट बलिङ गर्ने बलरको सूचिमा भने उनी सातौँ स्थानमा छन् । उनले सन् २०२३ को अक्टोबर १ तारिखमा सम्पन्न माल्दिभ्सविरुद्धको खेलमा ३.४ ओभरमा केवल ११ रन खर्चिएर ६ विकेट लिएका थिए ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई बोल्ड गर्ने बलरको सूचिमा अविनाश २९औँ स्थानमा आसिन छन् । उनले हालसम्म २१ ब्याट्सम्यानलाई बोल्ड गरेका छन् । सबैभन्दा बढी ब्याट्सम्यानलाई क्याच आउट गराउने बलरको सूचिमा भने उनी ३९औँ स्थानमा छन् ।

अविनाशले हालसम्म ४६ ब्याट्सम्यानलाई क्याच आउट गराएका छन् । सर्वाधिक ब्याट्सम्यानलाई एलबीडब्लूको धरापमा पार्ने बलरको सूचिमा उनी ४७औँ स्थानमा छन् । उनले हालसम्म सात ब्याट्सम्यानलाई एलबीडब्लू आउट गराएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया