बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आक्रामक रूपमा रन बनाउन खप्पिस गुल्सन

सोमबार, २१ जेठ २०८१

नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी हुन्, गुल्सन झा । १८ वर्षीय गुल्सन दायाँहाते मध्यम तेज गतिका बलर हुन् । उनी टोलीलाई आवश्यक पर्दा आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन् । उनी ब्याटिङ भने बायाँ हातले गर्छन् । 

गुल्सनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले देशका लागि हालसम्म २७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २९ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको २२ पालीमा ३०.२३ को औसतले कुल पाँच सय १४ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७३.६३ रहेको छ । उनको उच्च स्कोर भने अविजित ६७ रन हो । उनले तीन अर्धशतक बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३७ चौका र २२ छक्का प्रहार गरेका छन् । उनले पाँचवटा क्याच पनि लिएका छन् ।

यसैगरी गुल्सनले टी–२० अन्तर्राष्ट्रियको २२ पालीमा २४.१३ को औसतले कुल तीन सय ६२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १३९.२३ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ५४ रन हो । उनले २१ चौका र २३ वटा छक्का पनि हिर्काएका छन् । उनले १० वटा क्याच पनि लिएका छन् । 

यसैगरी गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २८ रन खर्चिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले १९ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमामा उनको उत्कृष्ट प्रदर्शन ११ रन खर्चिएर दुई विकेट हो । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

गुल्सन झाले सन् २०२२ को फेब्रुअरी १९ तारिखमा पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । ओमानमा खेलिएको फिलिपिन्सविरुद्धको आफ्नो पहिलो खेलमा उनले एक विकेट पनि लिएका थिए । त्यो खेलमा नेपाल एक सय ३६ रनले विजयी भएको थियो ।

यसैगरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । प्रिमियर कपअन्तर्गत सन् २०२४ अप्रिल २० तारिखमा खेलिएको हङ्कङविरुद्धको खेलमा उनले ६ रन बनाएका थिए । उनले विकेट भने लिन सकेका थिएनन् । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 

  • लिस्ट ‘ए’ र टी–२०

गुल्सन झाले हालसम्म ३० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ मा उनले कुल पाँच सय ७६ रन बनाएका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनको उच्च स्कोर अविजित ६७ रन हो । उनले तीनवटा अर्धशतक बनाएका छन् । उनले सातवटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ मा उनले २१ विकेट हात पारेका छन् ।

यसैगरी गुल्सनले हालसम्म ३५ वटा टी–२० प्रतियोगिता खेलेका छन् । टी–२० प्रतियोगितामा उनले कुल चार सय ५३ रन बनाएका छन् । टी–२० प्रतियोगितामा उनको उच्च स्कोर भने ५४ रन हो । उनले ११ वटा क्याच पनि लिएका छन् । टी–२० प्रतियोगितामा उनले २१ विकेट पनि लिएका छन् ।

  • पछिल्लो प्रदर्शन

गुल्सन झाले टी–२० विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध मैत्रीपूर्ण टी–२० शृंखला खेलेका थिए । उनले शृङ्खलाको पहिलो खेलमा अविजित नौ र दोस्रो खेलमा २६ रन बनाएका थिए । उनले तेस्रो खेलमा ६ र चौथो खेलमा १९ रन बनाएका थिए । उनले शृङ्खलामा विकेट भने लिन सकेनन् ।

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । उनले प्रिमियर कपको हङकङविरुद्धको खेलमा ६ रन बनाएका थिए । उनले यूएईविरुद्ध २० रन बनाए भने दुई विकेट पनि लिएका थिए । साउदी अरेबियाविरुद्ध अविजित ३२ रन बनाएका थिए । उनले कतारविरुद्ध पाँच रन बनाए भने दुई विकेट पनि लिएका थिए । 

  • कीर्तिमान

गुल्सन झा सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न विश्वकै तेस्रो ब्याट्सम्यान हुन् । उनले सन् २०२१ को सेप्टेम्बर १७ मा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए । त्यतिबेला उनी केवल १५ वर्ष २१२ दिन पुगेका थिए । उनीभन्दा अगाडि पाकिस्तानका हसन राजा १४ वर्ष २३३ दिन र बंगलादेशका मोहम्मद सरिफ १५ वर्ष ११६ दिन छन् । 

यसैगरी उनी सबैभन्दा कम उमेरमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्ने खेलाडीको सूचिमा ३८औँ स्थानमा आसिन छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्दा गुल्सनको उमेर १६ वर्ष दुई दिन रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया