सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
अनुदान कटौती

२५ प्रतिशत अनुदान काटिएपछि पालिका प्रमुखहरू सिंहदरबारमा

‘बजेट नपठाउने सरकारलाई कसरी कर उठाएर पठाउने भन्ने सोध्न आयौँ’
सोमबार, २१ जेठ २०८१, १९ : ३४
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । सरकारले विनियोजित बजेटको २५ प्रतिशत अनुदान रकम कटौती गरेपछि यतिबेला पालिकाहरू आक्रोशित छन् । चालु आर्थिक वर्षका लागि केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहलाई चार वटा शीर्षकमा गरी कुल ४ खर्ब २७ करोड रुपैयाँ अनुदान प्रदान गर्ने जनाएको थियो ।

सोमध्ये विकास खर्च भनिएको वित्तीय समानीकरण अनुदानका लागि प्रदेश र पालिकाले एकमुष्ट १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ पाएका थिए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने जनाएको थियो ।

तर, बजेट कार्यान्वयनकै चरणमा स्रोतको अभावलाई देखाउँदै गत माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले विनियोजित समानीकरण अनुदानमा २५ प्रतिशत भुक्तानी कटौती गर्ने निर्णय गरिदियो । योसँगै पालिकाहरू केन्द्रीय सरकारसँग आक्रोशित बन्न पुगेका हुन् ।

जम्मा ८७ अर्ब ३५ करोड रुपैयाँको अनुदान बजेटमा पनि २५ प्रतिशतमाथि रकम कटौती गर्दा पालिकाहरूको विकास गतिविधि नै ठप्प हुने स्थितिमा पुगेको नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले रातोपाटीसँग बताए ।

‘पालिकाहरूको मुख्य विकास बजेट भनेको नै वित्तीय समानीकरण अनुदान हो । यसैका आधारमा पालिकाहरूले विकास निर्माणका कामहरू गर्ने गर्छन् । तर, जम्मा ८७ अर्ब रुपैयाँ छुट्याइएको बजेट समेत सरकारले कटौती गरिदिँदा निकै समस्या परेको छ’, ढुङ्गानाले भने ।

अहिले कयौँ पालिका रकम नभएर विकास निर्माणको गतिविधिमा चल्न नसकेको उनको भनाइ छ ।

यस्तै गुनासो डडेल्धुरास्थित अजयमेरु गाउँपालिका प्रमुख तथा गाउँपालिका महासङ्घका कोषाध्यक्ष उमेश भट्टको पनि छ । ‘हामीले केन्द्रले छुट्ट्याएको समानीकरण अनुदानकै भर गरेर विकास निर्माणका कामहरू अघि बढाएका छौँ । तर, बजेट कार्यान्वयन हुँदैगर्दा केन्द्रले अनुदानको रकम काटिदिँदा समस्यामा पारेको छ,’ उनले भने ।

समानीकरण अनुदानबाटै विकास निर्माणका काम गर्नुपर्ने भएकाले यो रोक्दा विकास निर्माणका गतिविधि ठप्प हुने उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत प्रदेश र स्थानीय तहलाई क्रमशः ५८ अर्ब ६७ करोड रुपैयाँ र ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको थियो । तर स्थानीय तहमा पठाउने तेस्रो किस्ता बापतको २५ प्रतिशतमा ७ प्रतिशतमात्र निकासा गरिदिएपछि पालिकाहरू समस्यामा परेका हुन् ।

आर्थिक वर्षको अन्तिम किस्ता बापत अनुदान पठाउने बेला महालेखा नियन्त्रक कार्यालयले देशैभरिका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई जेठ १२ गते पत्राचार गर्दै विनियोजित समानीकरण अनुदानको ७४.११ प्रतिशत नबढाई निकासा दिन भनेसँगै पालिकाहरू थप आक्रोशित भएका हुन् ।

विकास बजेटको रूपमा पाउने समानीकरण अनुदान २५.८९ प्रतिशतले कटौती हुने भएपछि आक्रोशित मात्र होइन, पालिकाहरू आन्दोलित नै भएका छन् ।

कटौती रकम फिर्ताको दबाबका लागि डेढ सय पालिका प्रमुख सिंहदरबारमा

भुक्तानीको अन्तिम समयमा सरकारले अनुदानको रकम नपठाएको भन्दै करिब डेढ सय पालिका प्रमुख तथा उपप्रमुखहरू दबाबका लागि यतिखेर सिंहदरबार आएका छन् । गाउँपालिका र नगरपालिका प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै आइतबार सिंहदरबार अगाडि धर्ना दिएका हुन् ।

विनियोजित बजेट पनि नदिएर सङ्घीय सरकारले आफूहरूलाई हेपेको महसुस भएकाले काठमाडौँ ओर्लिएको नगरपालिका महासङ्घका अध्यक्ष ढुङ्गानाले बताए ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई आफूहरूले भेट्न नपाए पनि सरकारसँग ठोस कुराकानी गरेरमात्र फर्कने उनले बताए ।

यस्तै, गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विनियोजित बजेट नपठाउने सरकारलाई पालिकाले कसरी कर सङ्कलन गरेर पठाउने हो भन्ने प्रश्न सोध्न आफूहरू काठमाडौँ आएको बताइन् ।

केन्द्रले स्थानीय तहहरूलाई समानीकरण, सशर्त, विशेष र समपूरक गरी चारवटा शीर्षकमा अनुदान पठाउने गर्छ । अधिकांश गाउँपालिकाहरू यही अनुदानकै भरमा चलेको र पछिल्लो समय बजेटमार्फत नै कटौतीको प्रस्ताव ल्याएकाले आफूहरू काठमाडौँ आएको अध्यक्ष पाण्डेले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले बजेट अघि नै अघिल्लो वर्षको अनुदान रकम पठाउन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए । अर्थले रकम पठाउने निर्णय पनि गरेको थियो । तर सरकारी खातामा पर्याप्त रकम नहुँदा अनुदान बापतको रकम पालिकाहरूमा जान नसकेको हो ।

बजेट बढे पनि अनुदान बढ्न सकेन

सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नेपालको संविधानको धारा ६० मा भएको व्यवस्थाअनुसार वित्तीय हस्तान्तरण एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सरकारले आगामी आर्थिक वर्षका लागि अनुदान तथा राजस्व बाँडफाँटतर्फ कुल ५ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याएको छ । जसमध्ये वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ छुट्ट्याएको छ ।

चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ८७ अर्ब ३५ करोड रुपैयाँ छुट्ट्याइएकोमा आगामी आर्थिक वर्षका लागि पनि सोही बराबरको मात्र बजेट छुट्ट्याइनु पालिकाहरूमाथि अवहेलना रहेको गाउँपालिका महासङ्घका कोषाध्यक्ष उमेश भट्टले बताए ।

‘अर्थमन्त्रीज्यूले भन्न त बजेटले स्थानीय तहलाई आर्थिक सामाजिक, प्रशासनिक सबै कुराले शक्ति सम्पन्न बनाइने बताउनुभएको छ । बजेटले स्थानीय तहलाई सबल बनाउने कुरा गरेको छ । तर व्यवहारमा देखिएन । चालु आर्थिक वर्षलाई छुट्ट्याएको बजेट बराबर नै बजेट छुट्ट्याइनुले सरकारको नियत प्रस्ट हुन्छ,’ भट्टले रातोपाटीसँग भने ।

विनियोजित अनुदान (आर्थिक वर्ष २०८०/८१ र २०८१/८२)

bb

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप