भारतीय निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी
नयाँदिल्ली । ६ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताएका छन् । अधिकांश निर्वाचन सर्वेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरिएको छ ।
आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको बताए । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनले उल्लेख गरे ।
आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र यो सन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ ।
मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजेपनि निर्वाचनमा ‘हिंसाको कुनै ठुलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्त कुमारले बताए ।
आयोगका अनुसार सातौँ र अन्तिम चरणको मतदान शनिबार समाप्त भयो भने मङ्गलबार मतगणनाको नतिजा आउनेछ ।
अधिकांश ‘एक्जिट पोल’ ले मोदी विजयको बाटोमा रहेको देखाउँछ । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले रेकर्ड सङ्ख्यामा मतदान गरेको कुरामा आफू विश्वस्त रहेको बताउँदै आएका छन् ।
भारतसँग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उनले बताए ।
निर्वाचनमा खटनपटनका लागि प्रशंसा
मुख्य निर्वाचन आयुक्त राजीव कुमारले चुनावको जटिल खटनपटनको लागि केन्द्र र राज्य सरकारहरूको प्रशंसा गर्दै ‘मतदाता नै वास्तविक विजेता रहेका’ बताए ।
उनले कूल मतदाताको सङ्ख्या बढेता पनि पछिल्लो आम चुनावको तुलनामा मतदानमा केही कमी आएको बताए ।
सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा मतदान केन्द्रमामा पुनः मतदान गरेपछि मात्र मतदानको अन्तिम तथ्याङ्क जारी गरिनेछ ।
आइतबार राजधानी दिल्लीका मुख्यमन्त्री र मोदीविरुद्ध प्रतिस्पर्धा गर्न गठन गरिएको गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाल उनलाई दिइएको सुविधा अनुसार निर्वाचनमा सहभागी भई जेल फर्किएका छन् ।
केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानका लागि मार्चदेखि हिरासतमा राखिएकोमा २१ दिन पहिले रिहा गरी मतदान समाप्त हुदाँसम्म निर्वाचनमा प्रचार गर्न अनुमति दिइएको थियो ।
‘जब सत्ता तानाशाही बन्छ, तब जेल एक जिम्मेवारी बन्छ’ भन्दै केजरीवालले आत्मसमर्पण गर्नुअघि जेलबाट ‘लडाइँ’ जारी राख्ने प्रतिबद्धता गरेका थिए ।
मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको लोकतन्त्रका लागि खतराहरूबारे चेतावनी दिएका छन् ।
अमेरिकी थिङ्क ट्याङ्क फ्रिडम हाउसले यस वर्ष भाजपाले ‘राजनीतिक विरोधीलाई लक्षित गर्न सरकारी संस्थाहरूको धेरै प्रयोग गरेको’ बताएको छ ।
चरम गर्मी
मतदाताको उपस्थितिमा आएको गिरावटलाई विश्लेषकहरूले आंशिक रूपमा भारतीय गर्मीमा औसतभन्दा बढी तापक्रमलाई दोष दिएका छन् ।
गर्मीका कारण उत्तरी भारतमा ४५ डिग्री सेल्सियस भन्दा बढी तापक्रमका कारण लाखौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध भएका छन् ।
उत्तर प्रदेश राज्यमा मात्रै शनिबार गर्मीका कारण कम्तीमा ३३ जना मतदानकर्मीको मृत्यु भएको थियो । उक्त राज्यमा निर्वाचन अधिकारीहरूका अनुसार ४६.९ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।
यो चुनावबाट मतदान चाँडै समाप्त हुनुपर्ने पाठ सिकेको कुमारले बताए । - (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म