बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

ओली–प्रचण्डसँग माधवको अडान : प्याकेजमै सहमति

सोमबार, २१ जेठ २०८१, १८ : ११
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्याकेजमा सहमति गरेमात्र मधेस प्रदेश सरकार गठनमा सहयोग गर्ने अडान राखेका छन् । 

सोमबार बालुवाटार र सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा अध्यक्ष नेपालले यस्तो अडान राखेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सिंहदरबारमा प्रधानमन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले यस्तो अडान राखेका हुन् । 

दुवै भेटवार्ता र छलफलमा अध्यक्ष नेपालले आफ्नो पार्टी सत्ता साझेदार रहेपनि महत्त्वपूर्ण निर्णयहरूमा बेवास्ता गरेको भन्दै आफूलाई मात्र सहयोग गर्न दबाब दिने गरेको तर अन्य समस्या समाधान गर्नतर्फ चासो नदेखाएको भन्दै गुनासो गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको भेटपछि अध्यक्ष नेपालले पार्टीका उपलब्ध सचिवालय सदस्यहरूसँग भेटवार्ताबारे छलफल गरेका थिए । 

‘सुदूरपश्चिम प्रदेशमा एमाले माओवादीले मन्त्री नपठाएर असहयोग गरेको, कर्णाली सरकारमा समावेश नगरेको, विभिन्न नियुक्तिहरूमा परामर्श समेत नगरेको तथा नीति तथा कार्यक्रम र बजेटमा समेत सल्लाह नगरेको तर हामीले मात्र सहयोग गर्नुपर्ने एकोहोरो रटान भइरहेको छ’, अध्यक्ष नेपालले गरेको ब्रिफिङ सुनाउँदै एक पदाधिकारीले भने, ‘सहयोग दोहोरो हुन्छ हामीलेमात्र गर्नुपर्छ भन्ने छैन ।’ 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षले सामान्य ब्रिफिङ गरेको भन्दै पार्टीले मधेस प्रदेश सरकारबारे कुनै निर्णयमा नपुगेको बताए । ‘खाली उनीहरूको मधेस प्रदेश सरकार गठनमा सहयोग गर्नुस् भन्ने मात्र छ । हामीले मधेस प्रदेश मात्र किन हाम्रा समग्र समस्या समाधान गरौँ भनेका छौ’, खतिवडाले प्रश्न गर्दै भने,‘त्यसरी त कसरी सहयोग गर्न सकिन्छ र ?’ 

खतिवडाले मंगलबार बैठक बस्न सक्ने भन्दै सोही बैठकबाट निर्णय गर्ने सम्भावना रहेपनि निश्चित नभएको बताए । 

मधेस प्रदेशमा अघिल्लो गठबन्धन अनुसार नेकपा एकीकृत समाजवादी जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारमा सहभागी छ । एमाले र माओवादीले नयाँ गठबन्धन अनुसार सरकार छाडेपनि एकीकृत समाजवादीले सरकार छाडेको छैन । अल्पमतमा परेका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् । त्यसअघि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता गराउन एमाले र माओवादीले प्रयास गरिरहेका छन् । मधेसमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एकीकृत समाजवादीको व्यवहारका कारण सरकारमा सहभागी हुन नसकेको बताएका छन् । 

एमालेले मधेसमा एकीकृत समाजवादीको साथ र सुदूरपश्चिममा एकीकृत समाजवादीले एमाले र माओवादीको साथ खोजिरहेका छन् । तर नेताहरूबिच सोमबार दिनभर जसो भेटवार्ता र छलफल भएपनि सहमति जुट्न नसक्दा मधेस र सुदूरपश्चिम सरकारबारे अन्योल बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप