शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

‘जातीय भेदभावलाई उन्मूलन गर्न यहाँका नेतालाई पढाउनुपर्नेछ’

‘दलितका बारेमा नेपाली मिडियाले लेखेकै छैनन्, छोएकै छैनन्, अनुसन्धान नै गरेका छैनन्’
सोमबार, २१ जेठ २०८१, १५ : ३५
सोमबार, २१ जेठ २०८१

कापी–कलम किन्ने खर्चको जोहो गर्न १०–११ वर्षका किशोर नेपालले सहरका गल्लीमा पत्रिका बेच्दै हिँड्थे र सोच्थे— एक दिन आफैँ पत्रिका निकाल्छु । उनी समाचारहरूको कल्पना गर्थे; पत्रकार र सम्पादकको ठाउँमा आफूलाई उभ्याएर हेर्थे । यो राजा महेन्द्रले सत्ता हत्याए लगत्तैपछिको समय थियो, अर्थात् २०१८ सालतिर । 

समय, संगत, संयोग र दृढ संकल्पले किशोरलाई यमानको पत्रकार बनाएर उभ्याएको छ । नेपाली पत्रकारिता जगतमा किशोर कथा–किंवदन्ती अर्थात् लेजेन्ड बन्न सुरु भइसकेका छन् । जीवनका ७३औँ वसन्तको संघारमा समेत उनको कलम किशोर जोसमै चलिरहेको छ । 

पत्रकारिता जगत्मा उनको संघर्ष र सोचको कथा केही परबाट देखिने नदीजस्तै सुन्दर लाग्छ, त्यस नदीसँग जुध्न भने चानचुने पौडीबाजले कल्पनै गर्न सक्दैन । किशोरले सुरुवाती चरणमा पत्रकारितालाई पछ्याउँदै हिँडेको बाटो यस्तो लाग्छ, जुन बाटो निखारिएको निर्देशकले बनाएको सिनेमामा वा विख्यात लेखकको उपन्यासमा मात्र हुन्छ; जहाँ संयोग र साहस हाराहारी उभिएका वा कुदेका हुन्छन् । 

ठुल्ठुला कुरा सोच्नु र सोही अनुसार गर्नु किशोरको केटाकेटीदेखिकै बानी थियो अर्थात् ‘एट्टिच्युड’ थियो । वास्तवमा उनी आफ्नो ‘एट्टिच्युड’लाई स्थापित गर्दै अगाडि बढे । यस्तो लाग्छ, उनी पत्रकारितामा उदाउनुमा कतै कुनै ‘इन्स्टिङ्क्ट’ले पनि काम गरिरहेको छ ।

सधैँ कलेज जानुअघि किशोर नेपालले एकाध घन्टा नेपाल–भारत मैत्री संघ तथा सांस्कृतिक केन्द्रमा हिन्दी पत्रिका पढेर बिताउँथे । त्यही वाचनालयमा ‘जन’ पत्रिका पढ्दापढ्दै किशोरमा भारतका चिन्तक तथा समाजवादी नेता डा. राममनोहर लोहियालाई चिठी लेख्ने विचार आयो । जानी–नजानी उनले हिन्दीमा चिठी लेखेर जन पत्रिकाको ठेगानामा पठाए । पञ्चायतको विरोध गरेको, समाजवादी व्यवस्थाको समर्थन र सहयोग खोजेको भावना उनले चिठीमा व्यक्त गरेका थिए । 

यो सन् १९६८ को सेप्टेम्बर अर्थात् २०२५ असोजतिरको घटना हो, जति बेला किशोर (जन्म :२००८ साल) १७ वर्षका थिए । उनको चिठी नपुग्दै (अक्टोबर १२ मा) लोहियाको निधन भयो । किशोरलाई चिठीको जवाफ जन पत्रिकाका सम्पादक ओमप्रकाश दीपकले फर्काए । 

त्यतिबेला प्रदीप गिरि भारतमा थिए, किशोरले चिठी लेखेको कुरा ओमप्रकाशले प्रदीपलाई सुनाएछन् । सोही अक्टोबरमा काठमाडौँ आएर प्रदीपले किशोरलाई भेटे । 

‘दैलोमा दलित’ स्तम्भका लागि रातोपाटीले केही दिनअघि उनै वरिष्ठ पत्रकार नेपालसँग संवाद गरेको थियो । यस स्तम्भमा गैरदलित परिवारमा हुर्केको व्यक्तिले दलितलाई आफ्नो परिवार र समाजले गरेको व्यवहारको स्मरण गर्न सक्छन् ।

त्यतिबेलाको सत्ताले भारतबाट चिठी आउनुलाई ठुलै शंकाको घेरामा हेथ्र्यो । ठुलै नेतालाई जसरी सत्ताले किशोरलाई पक्राउ गर्‍यो र सात महिना थुन्यो । जेल परेपछि एक किसिमले उनको राजनीतिक हैसियत निर्माण भएको थियो, चिनजानको दायरा पनि बढ्दै गयो । जेलबाट छुटेपछि उनले बनारस गएर बीपी कोइरालालाई भेट्ने अवसर पाए । यो भेटले उनीमा नयाँ ऊर्जा थपियो । 

त्यतिबेला उनकी आमा दिव्यावतीले भारत ग्वालियरको सिन्धिया राजपरिवारमा काम गर्थिन् । बीपीपछि उनी आमालाई भेट्न दिल्ली हुँदै ग्वालियर जाँदै थिए, दिल्लीमा जन पत्रिकाका सम्पादक ओमप्रकाशलाई भेट्ने उनको इच्छा थियो । रेलवे स्टेसन पुग्दा उनले ‘दिनमान’ साप्ताहिकको ठेगाना सहितको विज्ञापन देखे र सम्पादक रघुवीर सहायलाई भेट्न त्यस ठेगानालाई पछ्याए । दिनमानको कार्यालय पुगेर सम्पादकलाई भेट्न आएको हुँ भन्दा त्यहाँका कर्मचारीलाई पत्यार लागेको थिएन; यद्यपि उनले रघुवीरलाई भेटेर डा. लोहियालाई चिठी लेखेको, जेल परेको, बीपीलाई भेटेको आदि बताए । उनका कुरा नसकिँदै सहायले भने, ‘आप दिनमान के लिए लेखिए ।’

यसरी उनी दिनमानको काठमाडौँ प्रतिनिधि बने । नेपाल टेलिभिजनको अध्यक्ष; गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादक; नागरिक दैनिकका प्रधानसम्पादक; नेपाल पत्रकार महासंघका सभापति; प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार; देशान्तर साप्ताहिक, कान्तिपुर पब्लिकेसनको ‘साप्ताहिक’ र शुक्रबार साप्ताहिकका संस्थापक सम्पादक रहिसकेका किशोर नेपाल अधिकांश पत्रकारका लागि ऊर्जा र उदाहरण हुन् । 

२०२६ सालमा रूपरेखा पत्रिकामा ‘एउटा ब्रेनगनको अन्तिम आवाज’ शीर्षकको कथा प्रकाशन गरेर साहित्ययात्रा प्रारम्भ गरेका नेपालको परिचय फराकिलो छ— पत्रकार, सम्पादक, कवि, कथाकार, उपन्यासकार, निबन्धकार आदि ।

‘दैलोमा दलित’ स्तम्भका लागि रातोपाटीले केही दिनअघि उनै वरिष्ठ पत्रकार नेपालसँग संवाद गरेको थियो । यस स्तम्भमा गैरदलित परिवारमा हुर्केको व्यक्तिले दलितलाई आफ्नो परिवार र समाजले गरेको व्यवहारको स्मरण गर्न सक्छन् । काठमाडौँमा हुर्के–पढेका किशोरसँग दलितसँग जोडिएका खास घटना रहेनछन् । त्यसैले उनीसँगको संवाद वैचारिक किसिमको भयो । 

‘दलितका बारेमा नेपाली मिडियाले लेखेकै छैनन्, छोएकै छैनन् । अनुसन्धान नै गरेका छैनन्,’ संवादका क्रममा उनले भने, ‘आज म रातोपाटीसँग कुरा गरिरहेको छु । यसका संस्थापक सम्पादकहरू सबै योग्य छन् । उनीहरू दलित बस्तीमा गएर त्यहाँको वास्तविकता के हो भनेर हरेक हप्ता एउटा इन्डेप्थ रिपोर्टिङ गर्छन् ! कति दलितले आफ्ना बच्चाबच्चीलाई स्कुल पठाउन सकेका छैनन्, किन सकेका छैनन् भनेर खोज्छन् ! वास्तवमै दलितहरूको अवस्था कस्तो छ ?’

किशोरले लेखेका छन्, ‘ऊ आफ्नो बारीको पाटोमा सारिएका रुखहरू देखाउँदै भन्छ— यी मेरा छोराहरूले पनि बिरुवा सारेका छन् ।’

किशोर यस्तो समयमा लेखन र पत्रकारितामा उदाएका थिए, जतिबेला देशमा पञ्चायती शासन उत्कर्षमा थियो । राजा महेन्द्रले विभेद हटाएको कानुन (मुलुकी ऐन २०२०) ल्याए भनिए पनि सरकारी पत्रिका गोरखापत्रले दलितलाई सम्बोधनमै विभेद गथ्र्यो । त्यतिबेला दलितलाई अनादरार्थी (तँ, ऊ); गैरदलित सर्वसाधारणलाई सामान्य वा मध्यम आदरार्थी (तिमी, उनी); उच्च पदस्थलार्ई उच्च आदरार्थी (तपाईं, उहाँ) र राजपरिवारलाई विशिष्ट आदरार्थी (मौसुफ वा बक्सन्छ) शब्दले सम्बोधन गरिन्थ्यो । 

२०३३ सालदेखि २०३५ सालसम्म किशोरले गोरखापत्र दैनिकमा प्रत्येक आइतबार ‘हाम्रो गाउँघर’ शीर्षकको स्तम्भमा गाउँलेका कथा लेखे । यसै सिलसिलामा उनले २०३४ पुस ३ गते माइला ‘मिजारका अनुभवहरू’ लेखेका थिए । ‘अब सामन्ती संस्कारले जन्माएको धारा, पँधेरो र मरणघाटजस्ता ठाउँमा विभेदको प्रचलनका पछिल्ला अवशेषहरू पनि समाप्त हुँदै छन्,’ किशोरले लेखेका छन्, ‘गाउँमा एकाबिहानै नारान पण्डित नुहाउने पँधेरोमा माहिला मिजार पनि मुख धुन्छ ।’ 

किशोरको यस आलेख अनुसार, माइला मिजारले पहिले भस्मेको वनबाट चाहे जति दाउरा ल्याउँथे, तर २०३४ सालतिर स्याउला काटेर ल्याउँदा गाउँका पढेलेखेका मानिसले उनलाई हप्काएछन्— ‘वन मास्नेजस्तो काम पनि गर्ने हो ?’ 

किशोरले लेखेका छन्, ‘ऊ आफ्नो बारीको पाटोमा सारिएका रुखहरू देखाउँदै भन्छ— यी मेरा छोराहरूले पनि बिरुवा सारेका छन् ।’

यस आलेखभन्दा एक हप्ताअघि (२०३४ मंसिर २६ मा) किशोरले सोही स्तम्भमा अर्गबहादुर हमालका बारेमा लेखेका थिए । त्यस आलेखमा अर्गबहादुरलाई ‘सम्पन्न किसान हुन्; उनी भन्छन्’ जस्ता मध्यम आदरार्थी (तिमी, उनी) शब्दले सम्बोधन गरिएको छ । यद्यपि यी सम्बोधन किशोरको वशका कुरा थिएनन्, त्यो सम्पादकीय नीति थियो । 

‘गोकर्णेश्वर महादेवमा बाहुनले श्राद्ध गर्ने ठाउँमा दलितले श्राद्ध गर्न पाउँछ ? यस्ता कुरा खोज्नुस् । यसलाई बाहिर लिएर आउनुस् । तपाईंहरू खालि नारा मात्रै बनाउनुहुन्छ’

दलितमाथिको हुने विभेद हट्नैपर्ने किशोरको विचार र अडान छ । ‘जातीय भेदभावलाई उन्मूलन गर्नैपर्छ, यसमा कुनै शंकै छैन । यसका लागि यहाँका नेतालाई नै पढाउनुपर्नेछ । यिनीहरूलाई सुनाउनुपर्छ । यिनीहरूलाई त्यतातिर घुम्न प्रेरित गर्नुस्,’ उनी भन्छन्, ‘पत्रकार महासंघले पत्रकारको टोलीलाई पठाएर मेचीदेखि महाकालीसम्मका दलित बस्तीको आइडेन्टिफाई गरोस् । अथवा कुनै सम्बन्धित संस्थाको अगुवाइमा रिपोर्टिङमा जाऊँ, म पनि जान्छु । पत्रकार महासंघमा सारा दलका नेता छन् । पत्रकारहरू संगठित भएर जातीय भेदभाव उन्मूलनका लागि एकवर्षे अभियान चलाऊँ, यसो गर्ने हो भने थुप्रै मान्छे आउँछन् ।’

किशोरले २१ वर्षअघि (सन् २००३ मा) ‘द्वन्द्व र दायित्व :समस्या, पहिचान र समाधानको बाटो’ पुस्तक लेखेका थिए । समाजमा द्वन्द्व बढ्नुमा सामाजिक असमानता र विभेद कारक रहेको यस पुस्तकको निष्कर्ष छ । ‘विभेदका कारण मानिसको मनभित्र कचल्टिएर रहेका कुण्ठा, ईष्र्या, क्रोध, आवेग, प्रतिशोधजस्ता अनेकन् मानसिक र मनोवैज्ञानिक तत्त्वले मानिसभित्र द्वन्द्व शक्तिको निर्माण गर्छ,’ उनले लेखेका छन्, ‘द्वन्द्वलाई दबाउनु हुँदैन किनभने द्वन्द्व शक्तिलाई अभिव्यक्ति दिने स्वाभाविक बाटो रोकिएपछि यसले ध्वंसात्मक अभिव्यक्तिको बाटो समाउँछ । समाजमा जतिजति अन्याय बढ्दै जान्छ, त्यति त्यति नै त्यसको विरोध पनि बढ्दै जान्छ । अन्याय जति बढ्दै जान्छ मानिसहरू त्यति नै ध्वंसात्मक तरिकाले आफूलाई अभिव्यक्त गर्न थाल्छन् ।’ 

जाति, लिंग, धर्म, वर्णका आधारमा गरिने सबै प्रकारका भेदभावको अन्त्य गरी प्रत्येक नेपालीले आत्मोन्नति गर्न सक्ने समान अवसरको सिर्जना गरिनुपर्ने उनको पुस्तकको निष्कर्ष थियो । अन्ततः देश शान्ति प्रक्रियामा गएर सोही अनुसार नै नयाँ संविधान बन्यो ।

उनको बुझाइमा, जातीय विभेद तथा छुवाछुत हटाउन अहिले संविधानले दिएका हक–अधिकारलाई क्रियाशील बनाउनुपर्छ । ‘सामाजिक क्रान्ति नै आवश्यक छ । यसका लागि राजनीतिक दल चाहिन्छ । राजनीतिक दलहरूले दलितहरूलाई मुक्त गर्न हामी लाग्छौँ, राष्ट्रिय मुक्ति संग्राम सुरु गर्छौं भन्छन् भने त्यो दिन हामी सबै लागौँला,’ उनी भन्छन्, ‘अहिले के गर्ने ! अहिले हामी अल्पमतमा छौँ । बाहुनको भान्सामा बसेर भात खान पाउँदैन भने उनीहरूको बैठकमा बसेर चिया खानेसम्म त बनाउनुपर्‍यो । हामीसँग त्यो पनि छैन । दैलोबाहिर उभिएर पानी खा भन्छौँ, त्यो पनि सिल्भरको अम्खोरामा । घरपालुवा जनावरले जति इज्जत पाउला, त्यति इज्जत पनि दिँदैनन् दलितलाई ।’ 

दलितहरूले विभेदको आन्दोलनलाई नारामा सीमित राखेकाप्रति उनी आक्रोश व्यक्त गर्छन् । ‘गोकर्णेश्वर महादेवमा बाहुनले श्राद्ध गर्ने ठाउँमा दलितले श्राद्ध गर्न पाउँछ ? यस्ता कुरा खोज्नुस् । यसलाई बाहिर लिएर आउनुस् । तपाईंहरू खालि नारा मात्रै बनाउनुहुन्छ,’ उनी भन्छन्, ‘हरेक कुरालाई पोलिटिकल स्लोगन बनाउनुहुन्छ, जसको क्रेडिबिलिटी छैन ।’ 

  • बाँकी भिडियोमार्फत :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप