बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अनिललाई विश्वकपमा चम्किने अवसर

सोमबार, २१ जेठ २०८१

नेपाली टोलीका क्षमतावान् खेलाडी हुन्, अनिलकुमार साह । २५ वर्षीय अनिलले पनि देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । तर, उनले तुलनात्मक रूपमा कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।  

अनिलले हालसम्म देशका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियको १० पालीमा ३३.२५ को औसतले कुल दुई सय ६६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १०३.५० रहेको छ । 

अनिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको उच्च स्कोर अविजित एक सय १२ रन हो । उनले एउटा शतक र दुईवटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३२ चौका र १० वटा छक्का प्रहार गरेका छन् । उनले चारवटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक पालीमा उनले कुल २३ रन बनाएका छन् । उनले तीनवटा छक्का पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल साहले एउटा क्याच पनि लिएका छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

अनिलले सन् २०१८ को जुलाई २९ तारिखमा लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएकाले उनले ब्याटिङ गर्न पाएका थिएनन् । 

यसैगरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२४ को मार्च १ तारिखमा खेलेका थिए । त्रिकोणात्मक शृङ्खलाअन्तर्गत कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यो खेलमा ओपनरको भूमिकामा उनले २३ रन बनाएका थिए । उक्त खेलमा नेपाल तीन रनले विजयी भएको थियो । 

  • लिस्ट ‘ए’ र टी–२०

अनिल साहले १५ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छन् । उनले लिस्ट ‘ए’ प्रतियोगितामा कुल तीन सय १६ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर अविजित एक सय १२ रन हो । उनले एक शतक र दुई अर्धशतक बनाएका छन् । उनले सातवटा क्याच लिएका छन् भने एउटा स्टम्पिङ पनि गरेका छन् । 

यसैगरी अनिलले सातवटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० क्रिकेटमा उनले कुल एक सय २२ रन बनाएका छन् । उनको उच्च स्कोर ५८ रन हो । यो प्रतियोगितामा उनले दुईवटा क्याच पनि लिएका छन् ।

  • पछिल्लो प्रदर्शन

विश्वकप यात्रामा निस्किनुअघि अनिलले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । पाँच खेलको त्यो शृङ्खला विश्वकपको तयारीकै क्रममा खेलिएको थियो । 

उनी वेस्ट इन्डिजविरुद्धको शृङ्खलाको पहिलो खेलमा पाँच र दोस्रो खेलमा एक रन बनाउँदै आउट भएका थिए । शृङ्खलाको तेस्रो खेलमा उनले १४ रन बनाएका थिए । शृङ्खलाको पाँचौँ खेलमा भने अनिलले ५८ रन बनाएका थिए । त्यो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

त्यसअघि अनिलले सन् २०२४ फेब्रुअरीमा घरेलु मैदानमा सम्पन्न आयरल्यान्ड ‘ए’ र नामिबियाविरुद्ध त्रिकोणात्मक शृङ्खला खेलेका थिए । त्यो शृङ्खलामा उनले आयरल्यान्ड ‘ए’ विरुद्ध १२ र नामिबियाविरुद्ध २३ रन बनाएका थिए । 

  • कीर्तिमान

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो खेल र दोस्रो खेलको बिचमा लगातार सबैभन्दा बढी खेल गुमाउने विश्वकै ३०औँ खेलाडी हुन्, अनिल साह । पहिलो खेल र दोस्रो खेलेको बिचमा उनले लगातार ६० खेल गुमाएका थिए । 

उनले सन् २०१८ को जुलाई २९ तारिखमा लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएकाले उनले ब्याटिङ गर्न पाएका थिएनन् । त्यसपछि उनले एकै पटक सन् २०२४ को मार्च १ तारिखमा नामिबियाविरुद्ध दोस्रो खेल खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया