काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सोमबार दोस्रो दिन जारी रह्यो । तर बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रतिनिधि सभा बैठकमा सांसदहरूको उपस्थित भने अत्यन्त न्यून देखियो ।
बैठकमा सहभागी सांसदहरू पनि आफ्नो पालोमा बोलेर बाहिरिए । जसले गर्दा पछि बोल्ने सांसदहरूले संसद्का रित्ता कुर्सीलाई बजेटमाथिको छलफल सुनाए ।
अधिकांश सांसदहरू आफ्ना कुरा राख्दै हिँड्दै गरेपछि संसद् भवनमा कुर्सी खाली खाली कुर्सीमात्र देखिन्थे ।
सोमबारको प्रतिनिधि सभा बैठकमा खाली कुर्सी धेरै भएपछि यसप्रति लक्षित गर्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् दिक्क लाग्दो र रमाइलो नभएको बताए । रोष्टमबाटै केसीले बजेटमाथिको छलफल पनि औचित्यहीन बन्दै गएजस्तो आफूलाई लागेको सुनाए ।
‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले दिक्क मान्दै भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन । रमाइलो छैन संसद्, दिक्क लाग्दो छ ।’
फोटो : कृष्ण खड्का/फोटो लाइब्रेरी
प्रतिक्रिया