बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपमा आज

सफल श्रीलंकालाई अभागी दक्षिण अफ्रिकाको चुनौती

सोमबार, २१ जेठ २०८१, १४ : ०३
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार दुई टेस्ट राष्ट्र श्रीलंका र दक्षिण अफ्रिका आपसमा भिड्दै छन् । उक्त खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

विश्वकपको नवौँ संस्करण दुई टेस्ट राष्ट्र आपसमा भिड्न लागेको यो पहिलो पटक हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र श्रीलंका आठौँ स्थानमा रहेका छन् ।

श्रीलंका र दक्षिण अफ्रिका दुवैले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । उपलब्धिको हिसाबले टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको तुलनामा श्रीलंकालाई सफल टोली मानिन्छ ।

पाँचौँ संस्करणको उपाधि विजेता श्रीलंका

श्रीलंकाले हालसम्म एक पटक टी–२० विश्वकपको उपाधि जितेको छ भने दक्षिण अफ्रिकाले उपाधि चुम्न सकेको छैन । हालसम्म तीनपटक टी–२० विश्वकपको फाइनलमा पुगेको श्रीलंकाली टोली दुई पटक भने उपाधि भिडन्तमा पराजित भएको छ ।

श्रीलंकाले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकपको पाँचौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाले फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ६ विकेटले हराएको थियो । विश्वकपको त्यो संस्करण बङ्गलादेशमा आयोजना भएको थियो र त्यो संस्करणमा पहिलो पटक नेपालले पनि सहभागिता जनाएको थियो ।

यसैगरी सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणमा पनि श्रीलंका फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकाली टोली पाकिस्तानसँग आठ विकेटले पराजित भएको थियो । सन् २०१२ मा पनि श्रीलंका टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।

फाइनलमै पुग्न नसकेको दक्षिण अफ्रिका

यसको विपरीत पहिलो संस्करणदेखि नै सहभागिता जनाए पनि दक्षिण अफ्रिका भने टी–२० विश्वकपमा समेत अभागी साबित हुँदै आएको छ । टी–२० विश्वकपमा दक्षिण अफ्रिका हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । दक्षिण अफ्रिकी टोली सेमिफाइनल चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

दक्षिण अफ्रिका हालसम्म दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् २००९ को टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली पाकिस्तानसँग सात रनले पराजित भएको थियो । सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा पनि दक्षिण अफ्रिकी टोली भारतसँग ६ विकेटले हारेको थियो ।

तथ्याङ्कमा दक्षिण अफ्रिकासामु निरीह श्रीलंका

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म श्रीलंका र दक्षिण अफ्रिकाबिच १७ पटक भिडन्त भएको छ । त्यो इतिहासलाई हेर्दा दक्षिण अफ्रिका बलियो देखिन्छ । दक्षिण अफ्रिकी टोलीले १७ मध्ये १२ खेलमा श्रीलंकालाई हराएको छ ।

बाँकी पाँच खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । आईसीसी टी–२० विश्वकपमा भने यसअघि दक्षिण अफ्रिका र श्रीलंकाबिच चार खेल खेलिएको छ । चारमध्ये तीन खेलमा दक्षिण अफ्रिका र एक खेलमा श्रीलंका विजयी भएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो सात खेलमा श्रीलंकाली टोलीले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन ।

दक्षिण अफ्रिकालाई जसको भर छ

जारी विश्वकपमा दक्षिण अफ्रिकाले क्विन्टन डी काक, हेनरिच क्लासन, रिजा हेन्ड्रिक्स, एडेन मारक्रम, कागिसो राबडाजस्ता खेलाडीबाट निकै आशा गरेको छ । क्विन्टन डी काकले हालसम्म ८३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै १३८.११ को स्ट्राइक रेटमा कुल दुई हजार तीन सय ४१ रन बनाएका छन् । उनले यो सिजन खेलिएको तीन खेलमा १७२.९७ को स्ट्राइक रेटले ६४ रन बनाएका छन् । हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा पनि उनले दुई सय ५० रन बनाएका थिए ।

यसैगरी हेनरिच क्लासनले ४३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै १४७.६४ को स्ट्राइक रेटमा कुल सात सय २२ रन बनाएका छन् । हालै सम्पन्न आईपीएलमा पनि उनले १७१.०७ को स्ट्राइक रेटमा कुल चार सय ७९ रन बनाएका थिए ।

यसैगरी एडेन मारक्रम हालसम्म ३९ टी–२० अन्तर्राष्ट्रिय खेलमा कुल एकहजार एक सय १८ रन बनाएका छन् । यस क्रममा उनले नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले हालै सम्पन्न आईपीएलमा पनि दुई सय २० रन बनाएका थिए । उनले १० विकेट पनि लिएका छन् ।

बलिङतर्फ कागिसो राबडा दक्षिण अफ्रिकाले निकै भरोसा गरेका खेलाडी हुन् । उनले हालसम्म ५६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ५८ विकेट लिइसकेका छन् । हालै सम्पन्न आईपीएलमा पनि उनले ११ विकेट लिएका थिए ।

श्रीलंकाले विश्वास गरेका खेलाडी

कुशल मेन्डिस, पाथुम निसानका, एन्जेलो म्याथ्यूज, वानिन्दू हसरंगा, मथिसा पाथिरानाजस्ता आफ्ना खेलाडीमाथि श्रीलंकाले निकै विश्वास गरेको छ । कुशल मेन्डिसले ६४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १३५.७२ को स्ट्राइक रेटमा कुल एक हजार एक सय ४५ रन बनाएका छन् । यस क्रममा उनले १४ वटा अर्ध शतक पनि बनाएका छन् । यो वर्ष खेलाडीको नौ खेलमा उनले कुल दुई सय ८४ रन बनाइसकेका छन् ।

यसैगरी पाथुम निसानकाले यो वर्ष खेलिएको ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १७०.५१ को औसतले कुल एक सय ३३ रन बनाएका छन् । यस क्रममा उनले एउटा अर्ध शतक पनि प्रहार गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको एक खेलमा उनले ७२ रन पनि बनाएका छन् । उनले हालसम्म कुल ४८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल एक हजार दुई सय ३१ रन बनाएका छन् ।

यसैगरी अलराउन्डर एन्जेलो म्याथ्यूजले यो वर्ष खेलिएको नौ खेलमा कुल दुई सय ६ रन बनाइसकेका छन् । यसका अतिरिक्त उनले सात विकेट पनि लिएका छन् । उनले हालसम्म ८७ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा कुल एक हजार तीन सय ५४ रन बनाएका छन् ।

यसैगरी वानिन्दु हसरंगाले यो वर्ष खेलिएको सात खेलमा कुल एक सय १७ रन बनाएका छन् । उनले १३ वटा विकेट पनि लिएका छन् । मथिसा पाथिरानाले पछिल्ला ६ खेलमा कुल ११ विकेट लिइसकेका छन् । हालै सम्पन्न आईपीएलमा पनि उनले १३ विकेट लिएका थिए ।

सम्भावित टोली

श्रीलंका : पाथुम निसानका, कुशल मेन्डिस, कामिन्दु मेन्डिस, धनन्जय डि सिल्भा, चरिथ असालङ्का, वानिन्दु हसरङ्गा (कप्तान), एन्जेलो म्याथ्यूज, दुसान सानका, महिस थिक्सना, मथिसा पाथिराना र दिल्सान मदुसनका ।

दक्षिण अफ्रिका : क्विन्टन डी काक, रिजा हेन्ड्रिक्स, रायन रिकेल्टन, एडेन मारक्रम (कप्तान), डेभिड मिल्लर, हेनरिच क्लासन, ट्रिस्टन स्टब्स, केशव महाराज, कागिसो राबडा, एनरिच नोर्जे र टाबरिज सामशी । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप