बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘पोलिक्राइसिस’ के हो ?

सोमबार, २१ जेठ २०८१, ०७ : ०५
सोमबार, २१ जेठ २०८१

‘पोलिक्राइसिस’ भन्नाले एउटै समयमा धेरै सङ्कटको सामना गर्नुपर्ने अवस्थालाई जनाउँछ । अर्थात् बहुसङ्कटको मिलन वा सङ्गम नै पोलिक्राइसिस हो । 

सन् २०१६ मा इयान गोल्डिन र क्रिस कुटर्नाले आफूहरूको पुस्तक ‘एज अफ डिस्कभरी’मा पोलिक्राइसिसका बारेमा चर्चा गरेका छन् । यस पुस्तकमा खासगरी राजनीतिक अस्थिता वा द्वन्द्व, आर्थिक अस्थिरता तथा पर्यावरणीय सङ्कटका बारेमा विश्लेषण गरिएको छ । 

आधुनिक विश्व प्रणालीभित्रको अन्तर्निर्भरता, तीव्र प्रतिस्पर्धा र अन्तर्विरोधजस्ता कारणले एक साथ देखापर्ने जटिल र बहुआयामिक सङ्कटको कुल जोड नै पोलिक्राइसिस हो । यस्ता सङ्कट एकापसमा अन्तर्सम्बन्धित हुने भएकाले एक–अर्कालाई प्रभाव पनि पार्छन् । जस्तै ः राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, भूराजनीतिक, पर्यावरणीय र स्वास्थ्यसम्बन्धी सङ्कटहरू । 

विश्वव्यापी रूपमा भएको जलवायु परिवर्तन, सूचना र प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण, राजनीतिक अस्थिरता र द्वन्द्व, वित्तीय अस्थिरता, शक्ति राष्ट्रबिच हुने असमझदारी, तनाव र युद्धजस्ता विश्वव्यापी घटनाहरूको व्यापक विश्लेषणबाट यो अवधारणाको प्रतिपादन भएको हो । 

पछिल्लो समय सन् २००८ को वित्तीय सङ्कट, कोरोना महामारीलाई पोलिक्राइसिसको उदाहरणका रूपमा लिन सकिन्छ । जसले एक साथ स्वास्थ्य सङ्कट, आर्थिक मन्दी, बेरोजगारी, गरिबी, राजनीतिक अस्थिरता, नागरिक असन्तोष, जलवायु परिवर्तनजस्ता थुप्रै सङ्कट सिर्जना गरेको थियो । 

सन् २०२२ मा ‘फाइनान्सियल टाइम्स’मा छापिएको आदम टुजको एक लेखमा पोलिक्राइसिस विस्तृत व्याख्या गरिएको छ । उनका अनुसार पोलिक्राइसिसको अवधारणा विश्वव्यापी सङ्कटहरूको अन्तक्र्रिया र जटिलतामा केन्द्रित हुन्छ । यो अवधारणाले समकालीन विश्वको विविध समस्यालाई बुझ्न, तिनीहरूबिचको अन्तर्सम्बन्ध केलाउन र समाधानको उपाय पत्ता लगाउन सहयोग पु¥याएको छ । 

विभिन्न प्रकृतिका तर एक अर्कासँग जोडिएका देहाय बमोजिमका सङ्कटहरूले पोलिक्राइसिसको सिर्जना गर्छ । 

१) राजनीतिक कारण

अन्य अधिकांश कारणहरूको जननि कारण हो, राजनीतिक कारण । राजनीतिक कारण राजनीतिक अस्थिरता, द्वन्द्व, उथलपुथल, नागरिक असन्तुष्टि, कमजोर शासन प्रणाली, शासकहरूको असक्षमता, कमजोर कूटनीति, भूराजनीतिक तनाव, व्याप्त भ्रष्टाचार, दण्डहीनता आदि सिर्जना हुन सक्छन् ।

२) आर्थिक कारण

कमजोर अर्थतन्त्र; गरिबी, बेरोजगारी, मुद्रा स्फिति, वित्तीय बजारमा अस्थिरता र गिरावट; व्यापार घाटा; आर्थिक मन्दी इत्यादि कारणले सङ्कटलाई थप जटिल बनाउँछ ।

३) सामाजिक विभेद वा असमानता

जातीय, धार्मिक, लैङ्गिक आदि विभेद; धनी र गरिबबिचको अन्तर यी कारणले पनि द्वन्द्व तथा सङ्कट सिर्जना गर्न सक्छन्् । 

४) वैश्वीकरण

आजको युग अन्तर्निर्भरताको युग भएको हँुदा विश्व प्रणालीभित्र सबै मुलुकको अन्तर्सम्बन्ध रहेको हुन्छ । त्यसकारण कुनै एक देशमा सिर्जना भएको सङ्कटले अन्य देशलाई पनि कुनै न कुनै रूपमा प्रभाव पार्छ । जस्तै ः रुस युक्रेन युद्धले सिर्जना गरेको खाद्यान्न सङ्कट, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मुद्रा स्फिति । 

५) जलवायु परिवर्तन

विश्वव्यापी रूपमा भएको जलवायु परिवर्तन, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, तापक्रम वृद्धिले एकातर्फ कृषि उत्पादनमा ह्रास ल्याएको छ; अर्कोतर्फ बसाइसराइँ बढ्नुका साथै जनस्वास्थ्यमा समेत गम्भीर समस्या सिर्जना भएका छन् । 

६) स्वास्थ्यजन्य सङ्कट

विभिन्न समयमा विभिन्न किसिमका महामारी फैलिरहेका छन् । जसले जनस्वास्थ्यमाथि गम्भीर समस्या सिर्जना गर्नुका साथै मानिसका आर्थिक, सामाजिक जीवनलाई समेत तहसनहस बनाउँछन् । जस्तै ः इबोला, कोभिड इत्यादि । 

७) विपत्हरू

भूकम्प, बाढी, पहिरो, ज्वालामुखी विस्फोट, महामारीजस्ता विपत्का घटना सामान्यतया घटिरहेका हुन्छन् । जसको परिणामस्वरूप भौतिक संरचना, प्राकृतिक सम्पदाका साथै ठुलो संख्यामा धनजनको समेत क्षति हुन्छ । यी सङ्कटले सँँगसँगै अन्य सङ्कटहरूको पनि सिर्जना गर्छन् । 

  • समाधानका उपाय 

पोलिक्राइसिसको समयमा मुलुक एकैपटक धेरै सङ्कटको घेराबन्दीमा पर्छ । यो अवस्थाको चरम स्थितिमा मुलुकमा लगभग राष्ट्रिय सङ्कट सिर्जना भएको हुन्छ । यस्तो जटिल अवस्थाबाट मुलुकलाई जोगाउन वा बाहिर निकाल्नका लागि भिजन, मिसन र एक्सनसहितको राजनीतिक नेतृत्व आवश्यक हुन्छ । पोलिक्राइसिसको व्यस्थापन गर्नका लागि देहायबमोजिमका उपाय अवलम्बन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ । 

१) सचेतना

सर्वप्रथम मुलुकको राजनीतिक नेतृत्व पोलिक्राइसिसका बारेमा जानकार र संवेदनशील हुनुपर्छ । राजनीतिक नेतृत्वले सरोकारवाला पक्ष र निकायलाई पोलिक्राइसिसका बारेमा सुसूचित र प्रशिक्षित गरिनुपर्छ । साथै सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिकजस्ता क्षेत्रले उच्च सतर्कता अपनाउनुपर्छ । 

२) दूरदर्शी र उपयुक्त नीति

पोलिक्राइसिसको पूर्वअनुमान गर्न र समाधानका उपाय पत्ता लगाउन विज्ञहरुले काम गर्नुपर्छ । पोलिक्राइसिसको समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरू निर्माण गर्नुपर्छ । योसँगै पर्याप्त स्रोत–साधनको व्यवस्थापन गर्ने किसिमले संगठनात्मक संरचनाहरूको पुनर्गठन गर्नुपर्ने हुन्छ । 

३) समन्वयात्मक सहकार्य 

बहुसङ्कटको सामना सरकार एक्लैले गर्न सक्दैन । यस्तो समयमा सरकारी र निजी क्षेत्र, नागरिक समाजदेखि क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका सहयोग सङ्गठन र दाता राष्ट्रका बिचमा समेत समन्वयात्मक ढंगले उच्च कूटनीतिक कौशलताका साथ सहकार्य हुनुपर्छ । 

४) नवप्रवद्र्धनको विकास र उच्च प्रयोग

आजको एआईको युगमा हरेक समस्या वा सङ्कटको समाधान नवप्रवद्र्धनको प्रयोगबिना सम्भव छैन । विपत्को पूर्वअनुमान गर्न; सचेतना फैलाउन; न्यूनीकरण गर्न; उद्धार, राहत, विकास र पुनस्र्र्थापना गर्न; दिगो विकास र वातावरण संरक्षण गर्नका लागि प्रविधिको प्रयोग अनिवार्य हुन्छ । 

५) अर्थतन्त्रको व्यापक विविधीकरण

अर्थतन्त्रको व्यापक विविधीकरण बहुसङ्कटबाट बच्ने महत्त्वपूूर्ण उपाय हो । कृषिमा मात्र निर्भर अर्थतन्त्र भएको देशले अचानक सुक्खा, बाढी, पहिरोजस्ता घटनाको सामना गर्नुपर्दा कृषि उत्पादन घट्छ । मुलुकमा भोकमरीको अवस्था सिर्जना हुन्छ । त्यसकारण कृषि, उद्योग, पर्यटन, सेवा, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा अर्थतन्त्रको विविधीकरण गर्नुपर्छ । ताकि कुनै एक क्षेत्रमा सङ्कट वा मन्दी आयो भने अन्य क्षेत्रले अर्थतन्त्रको सन्तुलनलाई गुमाउन दिँदैन । 

६) दोस्रो र तेस्रो वितरण प्रणालीको प्रवद्र्धन गर्ने

साना तथा मझौला उद्योग, कम आय भएका तथा पिछडिएका वर्ग र जातिका लागि प्रगतिशील कर प्रणालीसँगै सामाजिक सुरक्षा कार्यक्रमजस्ता लोककल्याणकारी कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्छ । जसलाई दोस्रो वितरण प्रणाली भनिन्छ । 

विपन्न वर्गका जनताको उत्थान र राष्ट्रको विकासमा सहयोग पु¥याउनका लागि व्यक्ति वा संस्थाले स्वेच्छिक रूपमा दान दिन सक्छन् । यस्ता प्रकारका तेस्रो वितरण प्रणाली अन्तर्गतका कार्यक्रमले पोलिक्राइसिसको सामना गर्न सहज हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप