सैनामैना अस्पताल अलपत्र, उपकरण र दरबन्दी नहुँदा सञ्चालन हुने टुङ्गो छैन

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–४, पुकार बाल्टिनकी २८ वर्षीय माया जिसीलाई शुक्रबार चक्कर लाग्यो । हतारहतार आफन्तले अटो रिक्सामा राखेर उनलाई पर्रोहा स्वास्थ्य चौकीमा लगे ।
त्यहाँ प्राथमिक उपचारपछि स्वास्थ्यकर्मीले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरे । सैनामैना नगरपालिकामा प्राथमिक उपचार गर्ने स्वास्थ्य चौकी भए पनि अस्पताल छैनन् । नगरवासीहरू बिरामी पर्नासाथ बुटवलतिर जानुपर्ने बाध्यता छ ।
सैनामैना नरपालिका रहेका स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक (एचए) को भरका चलेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–४, मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो ।
१२ करोड रुपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम अघि बढ्न सकेका छैनन् । नगर प्रमुख फणीन्द्र प्रसाद शर्माका अनुसार सङ्घीय र प्रदेश सरकारले नसघाउँदासम्म अस्पताल सञ्चालन गर्न सकिँदैन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १७ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी देशमा विभिन्न स्थानीय तहका आधारभूत अस्पताल सामूहिक रूपमा शिलान्यास गरेका थिए । सोही अनुसार सैनामैनामा १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो ।
अस्पताल निर्माण सम्पन्न भएको एक वर्षभन्दा धेरै भयो । तर उपकरण, कर्मचारी नहुँदा सञ्चालन हुन सकेको छैन ।
१२ करोड रुपैयामा भवन विभागले निर्माण गरेको अस्पताल सञ्चालनको विषयमा सङ्घीय सरकार, प्रदेश सरकारले चासो नदिँदा अलपत्र परेको नगरप्रमुख शर्माले रातोपाटीलाई बताए ।
सरकारले १५ शय्याको अस्पतालका लागि मेडिकल जनरलिस्ट तह ९ वा १० को एक जना, आठौँ तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १÷१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी हुने व्यवस्था गरेको छ ।
नगरप्रमुख शर्माले अहिले आफूहरूले उपकरणका लागि मन्त्रालयमा पत्राचार गरेको र बजेटमा उक्त विषय परेकाले यो आर्थिक वर्षबाट सञ्चालन आउन सक्ने आशा व्यक्त गरे ।
उनले अस्पताल सञ्चालनका लागि नगरपालिकामा स्रोत नभएकोले प्रदेश र सङ्घलाई पटकपटक हार गुहार गरेको बताए । सङ्घीय सरकारले २०७७ सालमा आधारभूत अस्पताल नभएपछि ५, १० र १५ शय्याका आधारभूत अस्पताल मूलकभर एकै पटक निर्माण कार्य सुरु गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदेशको सिफारिसमा सङ्घीय सरकारले भवन निर्माण गरे पनि अस्पताल कसले चलाउने भन्नेमा केही ठाउँमा विवाद भएकाले सञ्चालनमा ढिलाइ भएको रातोपाटीलाई बताए ।
उनले १५ शय्याको अस्पताल सञ्चालनमा स्थानीय र प्रदेश नै ध्यान दिनु पर्ने बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य अधिकृत शैलेन्द्र कुमार पाण्डेयले संविधान अधिकारले स्थानीय तहले १५ बेडसम्मको अस्पताल चलाउने पाउने भए पनि कुनैले भवन निर्माण मात्रै गर्ने, कुनै सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?