बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेल : ब्याटिङसँगै बलिङमा पनि उत्तिकै दक्खल

आइतबार, २० जेठ २०८१

नेपाली टोलीका अलराउन्डर खेलाडी हुन्, कुशल भुर्तेल । २७ वर्षीय कुशल भुर्तेल टोलीका अनुभवी खेलाडी पनि हुन् । उनले देशका लागि ९५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । ब्याटिङसँगै उनी बलिङमा पनि उत्तिकै दक्खल राख्छन् ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले हालसम्म ५२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ४३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ५१ पालीमा उनले २३.९० को औसतले कुल एक हजार दुई सय १९ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइकर रेट ८३.२६ रहेको छ । उनको उच्च स्कोर भने एक सय १५ रन हो । यस क्रममा उनले एक शतक र आठवटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले एक सय ३१ चौका र २६ वटा छक्का पनि हिर्काएका छन् । उनले ३७ वटा क्याच पनि लिएका छन् ।

यसै गरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ४२ पालीमा उनले २८.४४ को औसतले कुल एक हजार ८१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट १३०.८७ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय चार रन हो । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक र आठवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एक सय १० चौका र ४६ वटा छक्का पनि प्रहार गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा २८ वटा क्याच पनि लिएका छन् । 

यसै गरी उनले बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ११ विकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेट लिएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर चार विकेट र टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन १२ रन खर्चिएर चार विकेट हो ।

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

कुशल भुर्तेलले सन् २०२१ को अप्रिल १७ तारिखमा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यू’ खेल खेलेका थिए । त्यो खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । 

टी–२० अन्तर्राष्ट्रियको आफ्नो अन्तिम खेल उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । प्रिमियर कपअन्तर्गत सन् २०२४ को अप्रिल २० मा खेलिएको हङ्कङविरुद्धको आफ्नो अन्तिम खेलमा उनी शून्य रनमै आउट भएका थिए । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

  • लिस्ट ‘ए’ र टी–२०

कुशल भुर्तेलले ६१ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक हजार चार सय ३३ रन बनाएका छन् । उनले एक शतक र १० वटा अर्धशतक पनि बनाएका छन् । 

यो प्रतियोगितामा उनको उच्च स्कोर एक सय १५ रन हो । उनले ४१ वटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ प्रतियोगिता उनले १७ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४० रन दिएर ६ विकेट हो । 

यसै गरी उनले हालसम्म ५२ वटा टी–२० क्रिकेट पनि खेलेका छन् । टी–२० क्रिकेटमा उनले कुल एक हजार दुई सय ५५ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित एक सय चार रन हो । उनले एक शतक र आठवटा अर्धशतक प्रहार गरेका छन् । 

टी–२० प्रतियोगितामा कुशल भुर्तेलले ३० वटा क्याच पनि लिएका छन् । उनले यो प्रतियोगितामा १७ वटा विकेट पनि लिएका छन् टी–२० प्रतियोगिताको बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १२ रन दिएर चार विकेट हो ।  

  • पछिल्लो प्रदर्शन

कुशल भुर्तेलले विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । उनले वेस्ट इन्डिजविरुद्धको शृङ्खलाको पहिलो खेलमा १६ र दोस्रो खेलमा दुई रन बनाएका थिए । दोस्रो खेलमा उनले दुई विकेट पनि लिएका थिए ।

यसै गरी उनले वेस्ट इन्डिजविरुद्धको शृङ्खलाको चौथो खेलमा एक रन मात्र बनाउन सकेका थिए । उक्त खेलमा उनले दुई विकेट लिएका थिए । पाँचौँ खेलमा पनि उनी १३ रनमै आउट भएका थिए । त्यो खेलमा उनले विकेट लिन सकेनन् ।

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप खेलेका थिए । प्रिमियर कपको हङकङ, यूएई र साउदी अरेबियाविरुद्धको खेलमा उनी शून्य रनमै पेभेलियन फर्किएका थिए । उनले समूहगत चरणमा हङ्कङविरुद्ध ३२ रन बनाएका थिए । उनले प्रिमियर कपको ६ खेलमा कुल ६८ रन बनाएका थिए । 

  • कीर्तिमान

कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटै स्टेडियममा सर्वाधिक रन बनाउने विश्वका ब्याट्सम्यानहरूको सूचिमा १२औँ स्थानमा छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुल ६ सय नौ रन बनाएका छन् । 

यसै गरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ‘डेब्यू’ खेलमै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी ३४औँ स्थानमा छन् । कुशलले नेदरल्यान्ड्सविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमा ६२ रन बनाएका थिए ।

यसै गरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको लगातार तीन पालीमा अर्धशतक बनाउने ब्याट्सम्यानको सूचिमा उनी आठौँ स्थानमा छन् । यसका अतिरिक्त टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन पटक ‘डक आउट’ हुने ब्याट्सम्यानको सूचीमा उनी तेस्रो नम्बरमा छन् । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सर्वाधिक चौका हिर्काउने ब्याट्सम्यानको सूचीमा उनी २०औँ स्थानमा छन् । एकै पालीमा उनले १३ वटा चौका हिर्काएका छन् । सबैभन्दा छिटो एक हजार टी–२० रन पुरा गर्ने खेलाडीको सूचीमा उनी २५औँ स्थानमा छन् । उनले ३५ खेलमा हजार रन पुरा गरेका थिए ।   

यसै गरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा छन् । उनले एकै पालीमा चारवटा क्याच लिएका छन् । यसका अतिरिक्त तेस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्ने खेलाडीको सूचिमा पनि उनी चौथो स्थानमा छन् । तेस्रो विकेटका लागि उनले एक सय ७१ रनको साझेदारी गरेका छन् । 

यसै गरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा आउट हुने ब्याट्सम्यानको सूचिमा कुशल भुर्तेल विश्वका अन्य खेलाडीसँगै संयुक्त रुपमा पहिलो स्थानमा आसीन छन् । उनी सन् २०२३ को जुन १८ तारिखमा खेलिएको जिम्बाबेविरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए । 

कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा पनि दोस्रो स्थानमा छन् । उनले सन् २०२२ को जुलाई १३ तारिखमा खेलिएको स्कटल्यान्डविरुद्धको खेलमा चारवटा क्याच लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया