बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रोहितकुमार पौडेल : नेपाली टोलीका ‘क्यापटेन कुल’

आइतबार, २० जेठ २०८१

रोहितकुमार पौडेल नेपाली टोलीका कप्तान हुन् । २१ वर्षीय रोहित टोलीका अनुभवी खेलाडी पनि हुन् । उनी टोलीका अलराउन्डर खेलाडी हुन् । २१ वर्षीय रोहितले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको थुप्रै प्रतियोगिता खेलिसकेका छन् । 

रोहितले हालसम्म राष्ट्रिय टोलीबाट ६१ वटा एकदिवसीय र ४९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय खेलको ५८ पालीमा उनले २९.९२ को औसतमा कुल एक हजार पाँच सय ८६ रन बनाएका छन् । 

एदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७४.५६ रहेको छ । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय २६ रन हो । यस क्रममा उनले एक शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एकदिवसीयमा एक सय २८ चौका र २९ छक्का हिर्काएका छन् । उनले १४ वटा क्याच लिएका छन् । 

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रियको ४७ पालीमा २९.१५ को औसतले एक हजार एक सय आठ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १२४.९१ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ६१ रन हो । यस क्रममा उनले ६ वटा अर्धशतक पनि बनाएका छन् । 

टी–२० अन्तर्राष्ट्रियमा उनले ९० चौका र ३४ वटा छक्का पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले २६ वटा क्याच पनि लिएका छन् उनले एकदिवसीयमा नौ र टी–२० अन्तर्राष्ट्रियमा पाँच विकेट पनि लिएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट बलिङ २२ रन खर्चिएर चार विकेट हो भने टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट बलिङ ३० रन खर्चिएर दुई विकेट हो । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

रोहितले सन् २०१९ को जनवरी ३१ तारिखमा दुबईमा खेलिएको संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । 

यसैगरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा ओमानमा सम्पन्न एसीसी प्रिमियर कप खेलेका थिए । उक्त प्रतियोगिताका क्रममा उनले सन् २०२४ अप्रिल २० तारिखमा हङ्कङविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यो खेलमा पनि नेपाल चार विकेटले पराजित भएको थियो । 

  • लिस्ट ‘ए’ र टी–२०

रोहितले ७९ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कुल एक हजार नौ सय चार रन बनाएका छन् । उनको उच्च स्कोर एक सय २६ रन हो । उनले यो प्रतियोगितामा एक शतक र १० अर्धशतक हिर्काएका छन् । उनले १० विकेट पनि लिएका छन् । 

यसैगरी उनले ५९ वटा टी–२० प्रतियोगिता खेल्दै कुल एक हजार चार सय ४२ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर एक सय १२ रन हो । उनले एक शतक र आठवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० मा उनले ६ विकेट पनि लिएका छन् । 

  • पछिल्लो प्रदर्शन

विश्वकप यात्रामा निस्कनुअघि रोहितले घरेलु मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीविरुद्ध टी–२० शृङ्खला खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा उनले एक सय १२ रन बनाएका थिए । त्यो खेलमा उनले एक विकेट पनि लिएका थिए । 

वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा पनि उनले अविजित ७१ रन बनाएका थिए । तेस्रो खेलमा उनी सहभागी थिएनन् भने चौथो खेलमा ८० रन बनाएका थिए । पाँचौँ खेलमा भने खाता खोल्नुअघि नै आउट भएका थिए । 

त्यसअघि ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा रोहितले हङकङविरुद्ध २१, यूएईविरुद्ध पाँच र साउदी अरेबियाविरुद्ध १६ रन बनाएका थिए । प्रिमियर कपमा उनले कुल ६ खेल खेल्दै कुल एक सय १३ रन बनाएका थिए । प्रिमियर कपमा उनको उच्च स्कोर २८ रन थियो ।  

  • कीर्तिमान

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने विश्वकै छैटौँ सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्दा उनको उमेर केवल १५ वर्ष तीन सय ३५ दिन थियो । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेबारी पाउने उनी विश्वकै दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् २०२२ को नोभेम्बर १४ मा कप्तानको रूपमा पहिलो पटक यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा उनको उमेर २० वर्ष ७३ दिन थियो । 

सबैभन्दा कम उमेरमा कप्तान बन्ने खेलाडी भने अफगानिस्तानका रासिद खान हुन् । कप्तानको रूपमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनको उमेर केवल १९ वर्ष १६५ दिन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया