बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कुशल मल्ल : टोलीका प्रभावशाली अलराउन्डर

आइतबार, २० जेठ २०८१

कुशल मल्ल नेपाली राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर हुन् । उनी बायाँ हाते खेलाडी हुन् । २० वर्षीय कुशल मल्लको ब्याटिङ र बलिङ दुवै उत्तिकै आक्रामक छ । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । 

कुशल मल्लले हालसम्म देशका लागि ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ३२ पालीमा २४.६८ को औसतले कुल सात सय १६ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ९६.२३ रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले बनाएको उच्च स्कोर भने एक सय आठ रन हो । उनले एउटा शतक र चारवटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ६४ चौका र ४२ वटा छक्का पनि हिर्काएका छन् । उनले ६ वटा क्याच पनि लिएका छन् । 

यसै गरी कुशल मल्लले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ३५ पालीमा २९.६५ को औसतले कुल सात सय ७१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १६७.२४ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ३७ रन हो । 

कुशल मल्लले टी–२० अन्तर्राष्ट्रियमा एक शतक र चार अर्धशतक पनि प्रहार गरेका छन् । उनले ४२ वटा चौका र ६० वटा छक्का पनि हिर्काएका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वटा क्याच पनि लिएका छन् ।

यसै गरी उनले बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा २४ विकेट र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १९ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ६ रन दिएर दुई विकेट हो भने टी–२० अन्तर्राष्ट्रियमा ३३ रन खर्चिएर चार विकेट हो ।

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

कुशल मल्लले सन् २०१९ को सेप्टेम्बर २७ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाबेविरुद्ध आफ्नो ‘डेब्यू’ खेल खेलेका थिए । त्यो खेल सिंगापुरमा खेलिएको थियो । त्यो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । 

कुशल मल्लले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । सन् २०२४ अप्रिल २० तारिखमा खेलिएको हङ्कङविरुद्धको खेल उनको अन्तिम खेल थियो । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।

लिस्ट ‘ए’ र टी–२० ः कुशल मल्लले ३९ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले कुल सात सय ३५ रन बनाएका छन् । उनको उच्च स्कोर एक सय आठ रन हो । उनले एक शतक र चार अर्धशतक पनि प्रहार गरेका छन् । उनले आठ क्याच पनि लिएका छन् । उनले २६ विकेट पनि हात पारेका छन् । उनको उत्कृष्ट प्रदर्शन ६ रन खर्चिएर दुई विकेट हो । 

यसै गरी उनले ४६ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगितामा उनले कुल आठ सय ८२ रन बनाएका छन् । टी–२० प्रतियोगितामा उनको उच्च स्कोर अविजित एक सय ३७ रन हो । उनले एक शतक र चार अर्धशतक पनि हिर्काएका छन् । उनले १६ वटा क्याच पनि लिएका छन् । उनले २३ विकेट पनि हात पारेका छन् । उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर चार विकेट हो ।

  • पछिल्लो प्रदर्शन

विश्वकप यात्रामा निस्कनुअघि कुशल मल्लले वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा अन्तिम टी–२० शृंखला खेलेका थिए । विश्वकपको तयारीकै क्रममा वेस्ट इन्डिजविरुद्ध पाँचवटा टी–२० खेल खेलिएको थियो । 

कुशल मल्लले वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा १६ र दोस्रो खेलमा शून्य रन बनाएका थिए । उनले तेस्रो खेलमा २०, चौथो खेलमा चार र पाँचौँ खेलमा अविजित ३७ रन बनाएका थिए । उनले दोस्रो र तेस्रो खेलमा मात्र बलिङ गरेका थिए । तर, विकेट लिन सकेनन् । 

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपमा उनले हङकङविरुद्ध १३ । यूएईविरुद्ध तीन र साउदी अरेबियाविरुद्ध दुई रन बनाएका थिए । उनले प्रिमियर कपको पाँच खेलमा कुल ६० रन बनाएका थिए । 

  • कीर्तिमान

कुशल मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्ने विश्वकै सातौँ सबैभन्दा कम उमेरका खेलाडी हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्दा उनको उमेर केवल १५ वर्ष तीन सय ४० दिन थियो ।

यसै गरी उनी एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने विश्वकै आठौँ सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । सन् २०२३ को अप्रिल २१ तारिखमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ओमानविरुद्ध शतक बनाउँदा उनको उमेर केवल १९ वर्ष ४७ दिन थियो । त्यो खेलमा उनले एक सय आठ रन बनाएका थिए ।

यसका अतिरिक्त उनी एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै शृङ्खलामा दुई सय ५० रन बनाउने र १० विकेट लिने खेलाडी पनि हुन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक (अविजित एक सय ३७ रन) रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा छन् ।

यसै गरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्ट्राइक रेटमा रन बनाउने खेलाडीको सूचिमा पनि उनी पाँचौँ स्थानमा छन् । उनले १६७.२४ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्ने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा छन् । 

उनले एसियाली खेलकुदअन्तर्गत सन् २०२३ को सेप्टेम्बर २७ मा चीनमा खेलिएको मंगोलियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग एक सय ९३ रनको साझेदारी गरेका थिए । 

यसका अतिरिक्त उनी टी–२० अन्तर्राष्ट्रियको एउटै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचिमा पनि उनी आठौँ स्थानमा छन् । उनले एसियाली खेलकुदमा मंगोलियाविरुद्धकै खेलमा १२ वटा छक्का प्रहार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया