सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, २० जेठ २०८१, २१ : ४७
आइतबार, २० जेठ २०८१

आज २०८१ जेठ २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गृहमन्त्री लामिछानेलाई सर्वोच्चबाट एकै दिन दुई झट्का, आफ्ना दुई मन्त्रीबारे ओलीको टिप्पणीप्रति के भन्छन् रास्वपाका नेता ?, बजेटबारे छलफल ः सत्ता पक्षले उठायो प्रश्न, तत्कालका लागि नेकपा एकीकृत समाजवादी सत्ता पक्षमै रहने, देशभरका पालिका प्रमुखहरू आन्दोलित, गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला आउने, मधेस सरकारबारे लोसपा नेपाल ‘पर्ख र हेर’को अवस्थामा लगायत छन् ।

१. गृहमन्त्री लामिछानेलाई सर्वोच्चबाट एकै दिन दुई झट्का
गृहमन्त्री रवि लामिछानेलाई आइतबार दुई वटा मुद्दामा सर्वोच्च अदालतले झट्का दिएको छ । सवारी नियम उल्लङ्घनमा चालकलाई सडकका स्वयंसेवकका रुपमा खटाउने उनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । यस्तै सहकारी ठगी सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट ‘क्लिन चिट’ लिएका उनीमाथि यसबारे दायर मुद्दाले पनि अग्राधिकार पाएको छ ।

२. आफ्ना दुई मन्त्रीबारे ओलीको टिप्पणीप्रति के भन्छन् रास्वपाका नेता ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई ‘भँगेरा’को संज्ञा दिएका छन् भने शिक्षा मन्त्री सुमना श्रेष्ठको राष्ट्रियतामाथि प्रश्न गरेका छन् । तर ओलीको अभिव्यक्तिलाई लिएर रास्वपाका नेताहरूले आपत्ति जनाएका छन् । 

३. बजेटबारे छलफल : सत्ता पक्षले उठायो प्रश्न
आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल सुरु भएको छ । छलफलका क्रममा सत्ता पक्षकै सांसदहरूले बजेटमाथि विभिन्न प्रश्न उठाएका छन् ।

४. तत्कालका लागि नेकपा एकीकृत समाजवादी सत्ता पक्षमै रहने
सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा आगामी असारमा हुने पार्टीको दशौँ महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धनको साथ नछोड्ने भएका छन् । आगामी असारमा हुने महाधिवेशनमा छलफल गरेर गठबन्धनमा रहने वा नरहने भन्ने ठोस निर्णय गर्ने अध्यक्ष नेपालको भनाइ छ ।

५. देशभरका पालिका प्रमुखहरू आन्दोलित
सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय तह आन्दोलित भएका छन् । देशभरका गाउँपालिका र नगरपालिका प्रमुखहरूले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा धर्ना दिएका हुन् ।  

६. गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला आउने
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा फैसला सुनाउने मिति तय गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर साउन १३ मा फैसला सुनाउने मिति तय गरेको हो । 

७. हरित करबापत सरकारले वार्षिक कति उठाउँछ राजस्व ?
अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा प्रतिलिटर र कोइलामा प्रतिकिलोग्राम १÷१ रुपैयाँका दरले हरित कर लागु गरेको छ । यो मूल्यको करअनुसार पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) बाट प्रतिवर्ष (अहिलेको आयात र खपतअनुसार) साढे २ अर्ब रुपैयाँभन्दा बढी कर उठ्ने देखिन्छ । 

८. मधेस सरकारबारे लोसपा नेपाल ‘पर्ख र हेर’को अवस्थामा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस सरकारको बारेमा तत्कालै कुनै निर्णय नलिने भएको छ । आइतबार बसेको लोसपा पदाधिकारी बैठकमा मधेस प्रदेशको सरकार लगायतका विषयमा छलफल भएको पार्टीका महासचिव मनिष मिश्रले बताए ।

९. नेप्से बढ्यो
साताको पहिलो कारोबार दिन आइतबार नेप्से १३.५१ अङ्कले बढेको छ । तीव्र उतारचढावका बिच आइतबार नेप्से सूचक १३.५१ अङ्कले बढ्दै २ हजार ८३.०४ विन्दुमा उक्लिएको हो ।

१०. एक महिनामा ९० हजार विदेशी पर्यटक भित्रिए
सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कुल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

थप समाचार 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप