बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
राजनीति

रवि र सुमनाप्रति ओलीको ‘हेपाहा’ बोली : के भन्छन् रास्वपाका नेता ?

आइतबार, २० जेठ २०८१, २० : ०१
आइतबार, २० जेठ २०८१

काठमाडौँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगातार सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेता नेताहरूमाथि कटाक्ष गरिरहेका छन् । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘भँगेरा’को संज्ञा दिएका ओलीले रास्वपा सह–महामन्त्री तथा शिक्षामन्त्री सुमना श्रेष्ठको राष्ट्रियतामाथि नै प्रश्न उठाएका हुन् । 

रवि र सुमनामाथि ओलीले फरक–फरक समयमा गरेका कटाक्ष अहिले चर्चाको विषय बनेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद् र सडकमा उत्रिएको थियो । त्यसको प्रतिवादमा उत्रिएका ओलीको अभिव्यक्तिमा संसद्को चौथो ठुलो दल (२१ सांसदसहित) रास्वपामाथि हेय भाव देखिन्थ्यो ।

सुनसरीमा आयोजित एक कार्यक्रममा जेठ १० गते ओलीले कांग्रेस रवि लामिछानेविरुद्धमा खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर जानु सरह’ भएको टिप्पणी गरेका थिए । ‘अहिले नेपाली कांग्रेस रवि लामिछाने कि को भन्ने पात्रका विरुद्ध खनिएको छ । के खनिनु ? भँगेरा मार्न जाने तोप बोकेर,’ ओलीको कटाक्ष थियो ।

राजनीतिमा आएको एक वर्ष भए पनि लामिछानेलाई उपप्रधानमन्त्रीको हैसियतमा भने आफ्नो सम्मान रहेको ओलीले भनाइ थियो । 

त्यस्तै, जेठ १० मै गृह जिल्ला झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि पनि टिप्पणी गरेका थिए । विदेशीसँग बिहे गरी पर्यटक बनेर नेपाल आउँदा श्रेष्ठ मन्त्री बनेको उनको भनाई थियो । 

विद्यालय व्यवस्थापन समितिको अनुमतिबिना शिक्षक सरुवा गर्ने निर्देशिका जारी हुनुअघि व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानलगायत प्रतिनिधिहरूले त्यसलाई सच्याउन माग गर्दै ओलीसँग भेटेका थिए । उनीहरूसँगको भेटमा शिक्षामन्त्री श्रेष्ठप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन् ।’ 

शनिबार युवासंघले काठमाडौँमा गरेको कार्यक्रममा पनि ओलीले कथाको सहारा लिँदै शिक्षामन्त्री श्रेष्ठमाथि व्यङ्ग्य कसे । ‘एक देशमा एक चेली कता गएर पढिन्, कता बिहे भयो, अनि माइती देशमा एकपटक गइन् अरे, माइती देशमा असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा अन्योलको स्थिति । को उठ्छ भन्दा म उठ्छु । कसलाई समानुपातिक चाहिएको छ भन्दा मलाई भनेर सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले– कहिले हुन्छ त्यस्तो । अकासबाट पनि कहिलेकाहीँ पानीसँगै माछा खस्छ, सधैँ त्यस्तो हुँदैन ।’ 

सत्ता गठबन्धनको प्रमुख दलका अध्यक्ष ओलीले रास्वपाकी मन्त्री श्रेष्ठमाथि बारम्बार आलोचना गर्नुलाई अर्थपूर्ण लिइएको छ । रास्वपाकी समानुपातिक सांसद श्रेष्ठका श्रीमान् पोल्यान्डका नागरिक पाबल स्वविन्स हुन् । जेठ ८ मा सार्वजनिक भएको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा श्रीमान् पोल्यान्डका नागरिक स्वविन्सको नाममा १ लाख ८९ हजार ७ सय अमेरिकी डलर र पोल्यान्डको मुद्रा १ लाख ८० हजार रहेको समेत उल्लेख छ ।

यद्यपि मन्त्री श्रेष्ठले आफ्नो नागरिकतामाथि आशङ्का भए छानबिनका लागि निवेदन दिन चुनौती दिइँदै आएकी छन् । ‘म नेपाली हो । मेरो राष्ट्रियतामाथि आशङ्का छ भने निर्वाचन आयोगमा निवेदन दिनुहोस् नागरिकता छानबिन गरियोस् भनेर,’ उनले बारम्बार भन्ने गरेकी छन् । 

२०७९ माघ संसद्मा महिला सांसदलाई ‘चेली’ भनिएकोमा आपत्ति जनाएकी थिइन् । ‘यो सदनमा धेरै पटक सुनियो चेली । महिलाहरूलाई, महिला नेतृहरूलाई चेली भनेपछि के पुरुषहरूलाई चेला भन्छौँ ?,’ उनको प्रश्न थियो, ‘मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’ 

तर, पूर्व प्रधानमन्त्री ओलीले पर्यटक बनेर नेपाल आउँदा मन्त्री बन्न पुगेकी भनी आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाउँदा पनि मन्त्री श्रेष्ठ मौन छिन् । 

रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले भने ओलीलाई लिङ्गद्वेषीको संज्ञा दिँदै आफ्ना साथीहरूलाई अपमान, व्यङ्ग्य पचाउन बानी परिसकेको कटाक्ष गरेका छन् । ‘यिनै लिङ्गद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नु पर्ने हो सायद । तर यिनीहरूलाई भन्न चाहिँ पर्छ, देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ,’ उनी भन्छन् ।

एमाले अध्यक्ष ओलीले सभापति लामिछानेलाई भँगेराको संज्ञा दिएकोमा पनि कार्कीको आपत्ति छ । ‘ओलीको बोली या त असीम प्रेमको हो या अति हेपाइको । जुन भए पनि हानिकारक छन्,’ उनले भने ।

ओली प्रवृत्तिविरुद्ध अभियान चलाउने आफूहरूमाथि असीम प्रेम नभई हेपेर भँगेराको संज्ञा दिएको भन्दै सहन नहुने उनको भनाइ छ । ‘जुन विकृत प्रवृत्तिको विरोधमा त्यत्रो अभियान चलाइयो, त्यसले असीम प्रेम किन गर्छ ? जोसँग कुममा कुम जोडेर प्रचण्डको रथ तानिँदै छ, त्यसैको त्यस्तो हेपाइ किन सहिन्छ ?,’ कार्कीको प्रश्न छ, ‘कुनै पनि प्रश्नको जवाफ थाहा पाएको समय राजनीतिले सही दिशा भेट्छ ।’ 

यस्तै रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एमालेसँगको पार्टीगत सम्बन्धमा कुनै समस्या नरहेको भन्दै ओलीको अभिव्यक्तिलाई चुट्किलाको संज्ञा दिए । ‘हामीबिच कुनै समस्या छैन । सत्ता साझेदार दलबिच हुनुपर्ने विश्वासमा कुनै कमी छैन । केपी ओलीले दिने अभिव्यक्तिहरू टिप्पणी गर्न लायक हुँदैनन् । केपी ओलीको बोलीलाई धेरै भारी, अर्थपूर्ण र सिरियसरुपमा लिनुपर्ने जरुरी ठान्दिनँ । उहाँले बेला बेलामा चुट्किला सुनाउनुहुन्छ,’ उनले भने ।

ओलीको अभिव्यक्तिबारे पार्टीभित्र सामान्य छलफल भएको भन्दै सत्ता सहकार्यमा रहेका दल र मन्त्रीलाई जोडेर चुट्किला सुनाउनु राम्रो नहुने महामन्त्री ढकालको भनाइ छ ।

रास्वपाको मिसन ८४ लाई हाइज्याक गरेको आफ्नो बाटो सहज बनाउन एमाले अध्यक्ष ओली चरित्र हत्यामा उत्रिएको उनले बताए । ‘मिसन ८४ मा हामी चुनौती हुने देखेर ओलीजीले प्रहार गर्न भएको होला । हाम्रो मिसन ८४ लाई हाइज्याक गर्नु भयो । उपनिर्वाचन (इलाम–२ र बझाङ प्रदेशसभा १) जितेपछि उहाँमा उत्साह छ । उहाँको बहुमत ल्याउने योजनामा हामी चुनौती देखिएपछि चरित्र हत्या हुने किसिमले लाग्नु भएको छ । हामी नरहे आफ्नो बाटो सहज हुन्छ सोच्नु भएको होला,’ उनी भन्छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले रास्वपा सत्ता गठबन्धनको महत्त्वपूर्ण पार्टनर भए पनि आफ्नो गन्तव्य, नीति, सिद्धान्त, कार्यक्रमबारे केही बोल्न नसकेकाले टिप्पणी हुने गरेको बताए । ‘देशको अमुक मुद्दामा पृथक् मुद्दा उठाएर राजनीति स्टन्टबाजी गरिरहेको अवस्था छ । यसका सन्दर्भमा विभिन्न टिप्पणी हुन्छ ,’ उनले भने, ‘ रविजीको सन्दर्भमा कांग्रेसले सामान्य विषयलाई ठुलो मुद्दा बनाएपछि भँगेराको टिप्पणी गर्नु भएको हो । यसलाई अन्यथा लिनु हुँदैन ।’

शिक्षा मन्त्रीको सन्दर्भमा संविधानले दिएको ट्रेड युनियन अधिकार प्रयोग र सीमाबारे गठबन्धन दलसँग छलफल नगरपछि ओलीले रोष प्रकट गरेको गौतमको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप