बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप

क्यान्सर जितेर विश्वकप यात्रामा होमिएका एक कप्तान

आइतबार, २० जेठ २०८१, १७ : १४
आइतबार, २० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा सुरु भइसकेको छ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाएका छन् । यस आधारमा जारी विश्वकपमा तीन सय खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दैछन् ।

जारी विश्वकपमा सहभागी कतिपय खेलाडीले यसअघि पनि टी–२० विश्वकपको अनुभव बटुलिसकेका छन् भने कतिपय खेलाडी पहिलोपटक विश्वकप मञ्चमा उपस्थित भएका हुन् । विश्वकपमा सहभागी हरेक खेलाडीको आ–आफ्नै कथा–व्यथा पनि छन् ।

जारी विश्वकपमा सहभागी खेलाडीमध्ये एक हुन्, अकिब इलियास । उनी ओमानका कप्तान हुन् । ओमान एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । ओमान जारी विश्वकपको समूह ‘बी’ मा परेको छ ।

ओमानको समूहमा पूर्वविजेता अस्ट्रेलिया र इङ्ल्यान्डसँगै नामिबिया र स्कटल्यान्ड पनि छन् । यो विश्वकपमा आफ्नो राष्ट्र ओमानलाई सफलता चुमाउने जिम्मेवारी अकिब इलियासमै काँधमा छ । अर्थात, उनी ओमानको टोलीका कप्तान पनि हुन् ।

धेरैलाई जानकारी नहुन सक्छ, कुनै समय अकिब इलियास क्रिकेट छाड्ने निर्णयमा पुगिसकेका थिए । गम्भीर रोगको चपेटामा परेपछि निराश भएर उनले क्रिकेट छाड्ने अप्रिय निर्णय लिएका थिए । तर, शुभचिन्तकहरूले सम्झाउँदै मनोबल बढाएपछि उनले आफ्नो खेल जीवनलाई निरन्तरता दिएका थिए ।

अकिब इलियासको जन्म पाकिस्तानमा भएको थियो । उनी केबल ६ महिनाको हुँदा उनको परिवार पाकिस्तानबाट ओमान बसाई सरेको थियो । उनी सानैदेखि क्रिकेट भनेपछि हुरुक्क गर्थे । त्यसैले परिवारले पनि उनलाई क्रिकेटमा सक्रिय हुन सहयोग गरेको थियो ।

एकपछि अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि उनी ओमानको राष्ट्रिय टोलीसम्म पुगेका थिए । उनले सन् २०१९ को अप्रिल २७ तारिखमा नामिबियाविरुद्ध खेल्दै ओमानको राष्ट्रिय टोलीबाट एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।

३१ वर्षीय अकिब इलियास टोलीका अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । उनी ओमानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजारभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् ।

अकिब इलियासले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा बढी विकेट पनि लिइसकेका छन् । प्रसङ्ग, सन् २०२१ को हो । एक दिन उनी राष्ट्रिय टोलीसँगै नियमित अभ्यास गरिरहेका थिए । एकाएक उनको खुट्टाको गोली गाँठोमा पिडा अनुभव भयो ।  

सुरुमा उनले त्यो पीडालाई सामान्य रूपमा लिए । केही दिनपछि उनको गोली गाँठोको पिडा अत्यधिक बढ्दै गयो । उनको गोली गाँठो पनि सुन्निन थाल्यो । त्यसपछि उनी उपचारका लागि अस्पताल पुगे । अस्पतालमा उनको विस्तृत परीक्षण गरियो ।

त्यसपछि उनको गोली गाँठोमा क्यान्सर भएको पत्ता लाग्यो । ‘चिकित्सकबाट त्यो खबर पाएपछि म लामो समय रोएर बसेँ । त्यतिबेला मेरा आमा–बुवा पाकिस्तानमा हुनुहुन्थ्यो । म र भाइ अदनान इलियास मात्र ओमानमा थियौँ । मैले यो खबर भाइलाई बताउन चाहिन । मैले हतास थिएँ,’ उनले एक अन्तरवार्ताका क्रममा भनेका छन् ।

त्यसपछि उनको उपचार सुरु भयो । त्यसबिचमा उनले क्रिकेट छाड्ने अप्रिय निर्णय पनि लिए । उनले राष्ट्रिय टोलीका प्रशिक्षक दुलिप मेन्डिसलाई अब आफू क्रिकेट मैदानमा कहिल्यै नफर्कने म्यासेज पनि पठाए । प्रशिक्षक मेन्डिसलाई पनि उनले आफूले जीवनबाट हरेस खाइसकेको कुरा बताएका थिए ।

तर, क्रिकेट सङ्घका पदाधिकारी, प्रशिक्षक, टोलीका अन्य खेलाडी र साथीभाइले सम्झाएपछि उनले आफ्नो मनोबल उच्च बनाए । यसबिचमा उनले क्यान्सर रोगको बारेमा थुप्रै जानकारी पनि बटुले । त्यसपछि उनले क्यान्सर रोगको उपचार सम्भव रहेको कुरा पनि बुझे ।

यसबिचमा लामो समयसम्म उनको उपचार चल्यो । उनलाई पूर्ण रूपमा स्वस्थ्य हुन एक वर्षभन्दा पनि लामो समय लाग्यो । अहिले उनी पूर्ण रूपमा स्वस्थ्य भइसकेका छन् । उनी फेरि क्रिकेट मैदानमा फर्किएका छन् । नवौँ विश्वकपमा उनले कप्तानको जिम्मेवारी पनि पाएका छन् ।

‘परिवारका सदस्यको साथ, चिकित्सकहरूको अथक प्रयास, सङ्घका पदाधिकारी, प्रशिक्षण टोलीका सदस्य, साथीभाइ र अग्रजहरूको निरन्तरको सहयोग र सद्‌भावका कारण आज म यो स्थितिमा आइपुगेको छु । मेरो नयाँ जीवन र सफलतामा धेरैको शुभेच्छा लुकेको छ,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप