हामीले कस्तो समृद्धि खोजिरहेका छौँ ?
नेपालको अस्तित्व र गरिमाको कुरा गर्दा प्राचीन मानव सभ्यतासँग जोडिएका ऐतिहासिक तथ्य पाइन्छन् । रामापिथेकसको अवशेष पाइनुले नेपाल विश्वमा कति प्राचीन देश हो भन्ने यथार्थ प्रस्टिन आउँछ ।
भौगर्भिक उथलपुथलका कारण टेथिस सागरबाट उठेका भू–भाग हिमालय पर्वत शृङ्खला बन्न पुगेको तथ्य भूगोलको अध्ययन अनुसन्धानले प्रस्ट पारिसकेको छ । त्यसकालमा भएको प्राकृतिक हलचलले नेपालको भौगोलिक अवस्था विविधताले युक्त हुन पुग्यो । अति उच्च भूभाग हिमालय बन्न पुगे भने यसको काखमा रहेका बुट्यान जो औषधीय गुणहरूले युक्त भएर जीवनदायी वस्तुको रूपमा देखापरे ।
हिमालयको क्षेत्र शान्त, शीतल र तपोभूमिको रूपमा अस्तित्वमा आयो । समशितोष्ण मनोरम हावापानी, अग्लाहोँचा भू–भाग, उपत्यका, बेसी, खोला, नदी, पोखरी, ताल आदिको अस्तित्व देखापर्नुले पहाड जीविकोपार्जन गर्ने क्षेत्रका रूपमा देखाप¥यो । तराई क्षेत्र उर्वर, मलिला फाँट र घना जङ्गलका रूपमा अस्तित्वमा आयो । यो प्रकृतिले प्रदान गरेको एक प्रकारको समृद्धताको आधार हो ।
उत्तरतर्फका अग्ला हिमालय र दक्षिणतर्फका घना जङ्गलले नेपाल अत्यन्त सुरक्षित दुर्गको रूपमा रहन पुग्यो । यसले गर्दा विभिन्न प्रकृतिका स्वभाव भएका मानिस विविध उद्देश्य लिएर नेपाललाई आश्रय स्थल बनाई बसोबास गर्न थाले । यसैको प्रतिफल स्वरूप यहाँ विभिन्न जाति र संस्कृतिको विकास भयो । संस्कृतिको सम्पन्नताले आज पनि देशलाई समृद्धिकै मार्गतिर उन्मुख गराएको छ ।
जनताको जीवनस्तर, जीवनशैली, आर्थिक सम्पन्नता र उज्ज्वल भविष्य भएको अवस्थालाई समृद्धि भन्न सकिन्छ । विभिन्न क्षेत्रका विज्ञले समृद्धिको आ–आफ्नै ढङ्गले अर्थ लगाएको पाइन्छ । प्राचीनकालदेखि नै हाम्रा पुर्खाले समृद्धिको पथ तय गर्दै आएका आधार पाइन्छन् ।
नेपाल ज्ञानभूमि, तपोभूमिका रूपमा रहेको प्राचीन ग्रन्थहरूको अध्ययनबाट थाह पाउन सकिन्छ । प्राचीनकालमा ज्ञानी तथा ऋषिले आफ्नो ज्ञान सर्वत्र फैलाउने गर्थे । ज्ञान र तपस्याबाट मानिस मुक्तिको मार्ग पहिल्याउँथे, यसैले नेपाललाई मुक्ति सोपानका रूपमा पनि लिइएको छ ।
जति ज्ञानको दायरा फराकिलो बनाउन सकियो र मानिसमा ज्ञानको अभिवृद्धि भयो भने त्यसलाई उनीहरू समृद्धि ठान्थे । सभ्य र सुसंस्कृत समाज नै समृद्धिको आधार मान्थे । पौराणिककालमा मिथिलाका राजा जनक, अयोध्याका राजा दशरथको ज्ञानले समाज र युगलाई नै प्रतिनिधित्व गरेको थियो । भारतका मौर्य सम्राट अशोकले कलिङ युद्धपछि बौद्धधर्मको प्रचार र प्रसारमा ठुलो भूमिका खेलेका थिए ।
पशुपालन र कृषि समाजको विकास हुँदै गएपछि पशुधनलाई समृद्धिको आधार मानियो । पौराणिक ग्रन्थ महाभारतको एउटा प्रसङ्गमा एउटा पनि गाई नभएको द्रोणाचार्यसँग पछि हजारौँको संख्यामा गाईहरू थिए ।
महाभारतको अर्काे प्रसङ्गमा दुर्योधनले विराट राज्यबाट गाईहरू लुटेर हस्तिनापुर लाँदै गरेको र पछि विराट्युद्ध भएको घटना पाइन्छ । त्यसकालमा पशुधनलाई समृद्धिको आधार मानेको तथ्य प्रस्टिन आउँछ ।
पूर्वीय सभ्यता र संस्कृतिले युक्त नेपाल प्राचीनकालदेखि नै आफ्नै मूल्य र मान्यतामा केन्द्रित रहँदै आएको पाइन्छ । पश्चिमा संसारमा सुकरात, प्लेटो र अरस्तुजस्ता दार्शनिकको ज्ञान फैलिँदै गएपछि ज्ञानको सागरलाई नै समृद्धिको आधार मान्न थालियो ।
ग्रिक र रोमन सभ्यताको विकास यही ज्ञानको ज्योतिबाट जगमगाएको थियो । कालक्रमले संसार बदलिँदै गयो । ज्ञानको वृक्षमा समृद्धि अङ्कुराउँदै गएपछि विज्ञानको विकास भयो । यसैलाई समृद्धिको आधार मानियो । जति देशमा विज्ञानको विकास भयो, ती देशलाई समृद्ध भन्न थालियो । काल, परिवेश र अवस्था अनुसार समृद्धिका आधार बदलिँदै गए ।
सामाजिक जटिलता, पछौटेपन, वर्ग विभेदजस्ता अङ्कुशहरूले समाज गतिहीन अवस्थामै छ । यो सामाजिक र आर्थिक जटिलताको भण्डार बोकेर हामीले खोजेको समृद्धि के हो ?
साम्राज्यवादी युगको सुरुवात भएपछि उद्योग र व्यापारलाई प्रश्रय दिइयो । व्यापार गरिने देशलाई कब्जामा लिनका लागि राष्ट्रिय सेनाको आवश्यकतामा जोड दिन थालियो । जसको सेना समर्थवान् र संख्यात्मक रूपमा अत्यधिक छ, त्यसलाई समृद्ध देश भन्न थालियो । यसको फलस्वरूप संसारभर उपनिवेशवादको प्रारम्भ भयो । यसपछि समर्थवान् भएका राष्ट्रले कमजोर र निमुखा राष्ट्रबाट अत्यधिक दोहन गरेको यथार्थ इतिहास रहेको छ ।
नेपालमा समृद्धिको पृष्ठभूमिलाई केलाउने हो भने प्राचीनकालदेखि नै नेपाल शान्त र ज्ञान एवं तपोभूमिको रूपमा विकास हुँदै आएको पाइन्छ । काठमाडौँ उपत्यका सभ्यता र संस्कृतिको खानी थियो भने यसको प्रभाव नेपालभर फैलिएको थियो । पश्चिम नेपालको खस साम्राज्य पनि एक समयमा सभ्यताको केन्द्र बन्न पुगेको थियो भन्ने कुरा इतिहासमा पाइन्छ ।
राजा दामुपालले वि.सं. १०३८ तिर दैलेखको दुल्लुमा नेपाली भाषाको अभिलेख राख्न लगाएका थिए । यस क्षेत्रमा प्रशस्तै मन्दिर, चैत्य र विहार बनेको प्रमाण यद्यपि छन् । यसले के कुराको संकेत गर्दछ भने त्यस समयमा पनि ज्ञान, सभ्यता र संस्कृतिलाई समृद्धिको आधार मानिन्थ्यो । नेपाल एकीकरणको प्रारम्भ भएपछि गोरखा राज्यले विजय हासिल गर्दै जाँदा आर्थिक पक्षलाई समृद्धिको आधार मानेको देखिन्छ ।
राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशले पनि उद्योग, व्यापार र कृषिलाई समृद्धिको मूल आधार मानेको पाइन्छ । अब राणाकालतर्फ नजर लगाउने हो भने त्यस समयमा राजनीतिक स्थिरता त कायम भएको देखियो तर समृद्धि राज्य र जनतातर्फ केन्द्रित थिएन । समृद्धि केवल राणा परिवारमा केन्द्रित थियो ।
२००७ सालमा प्रजातन्त्रको आगमनपश्चात् मुलुकमा समृद्धि दिनका लागि सरकारले बजेट प्रस्तुत गर्न थाल्यो, तर त्यस समयमा नेपाल र नेपालीको आर्थिक अवस्था नाजुक थियो । मुलुक र मुलुकवासीको समृद्धिका लागि सामान्य प्रयास भए तापनि त्यो गौण थियो । पञ्चायतकालको प्रादुर्भाव भएपछि प्रजातान्त्रिक वातावरण नभए पनि मुलुकलाई आत्मनिर्भर बनाउन राजमार्ग र कारखाना खोल्ने कार्य भए पनि त्यो पर्याप्त थिएन । जनताको जीवनस्तरमा खासै ठुलो परिवर्तन आउन सकेन । २०४७ सालको जनआन्दोलनले राजनीतिक व्यवस्थालाई परिवर्तन ग¥यो । आर्थिक क्रान्तिको नारा दिएर आर्थिक क्षेत्र सबल बनाउने कार्यक्रम ल्यायो, तर पूर्वाधारको अभाव र पुँजीको सीमितताले ती कार्य कछुवा गतिमा चल्न थाले । निजीकरण र खुला आर्थिक नीतिले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेन, परिणामतः मुलुक आयातमुखी भयो ।
यस नीतिले नेपाल निर्यातमुखी हुन सकेन र आयातमुखी हुँदा भन्सारबाट केही राजस्व प्राप्त भए पनि मुलुक आत्मनिर्भरताको बाटो छाडेर परनिर्भर हुन पुग्यो । हाल पनि नेपालले २०७९÷८० को आर्थिक वर्षमा साढे १४ खर्ब बराबरको व्यापार घाटा बेहोरिरहेको छ ।
हामीले खोजेको समृद्धि
२०६२÷६३ को दोस्रो जनाअन्दोलनपछि मुलुकलाई समाजवाद उन्मुख समृद्धितिर लाने उद्देश्य लिइएको छ । लक्ष्य र उद्देश्य पूर्तिका लागि तीन तहको सरकारमार्फत विभिन्न कार्यक्रम अघि सारिएका छन् । कार्यक्रम सम्पन्न पनि भएको देखिन्छ, तर उद्देश्य अनुरूपको परिणाम पाइएको छैन । विविध पूर्वाधारको अभाव र परम्परागत बजेट प्रणालीले वास्तविक उद्देश्यलाई समेट्न सकेको देखिँदैन ।
नेपालमा समृद्धिको नारा उर्लेको धेरै भयो, तर हामीले खोजेको समृद्धि कस्तो हो । जापान, सिङ्गापुरको कुरा एउटा दृष्टिकोण हुन सक्छ । हाम्रो देश नेपालमा समृद्धिको कुरा गर्दा व्यक्तिले दैनिक जीवनका आधारभूत आवश्यकता सहज र सरल रूपमा प्राप्त गर्न पाउनुपर्छ । आधारभूत आवश्यकताको सहजता र भौतिक पूर्वाधारको दीर्घकालीन निर्माण तथा व्यवस्थापनले समृद्धिको यात्रालाई मार्ग प्रशस्त गर्न सक्छ ।
समृद्धिको मूल आधार भनेको पुँजीको निर्माण र लगानी हो । समृद्धिको यात्रा दीर्घकालीन हुनुपर्छ र अल्पकालीन हुन गयो भने यो एउटा कोरा कल्पना साबित हुन्छ । भौतिक विकास र उत्पादनले मात्र पनि समृद्धि हासिल हुन सक्दैन । समृद्धिको प्रतिविम्ब हेर्नका लागि राज्य कल्याणकारी हुँदै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरणको सिर्जना हुनुपर्छ ।
युरोपका केही देशमा दुई सय वर्ष पहिलेदेखि नै यस्ता अभ्यास र प्रयोग भएको पाइन्छ । युरोपको स्विडेनमा कल्याणकारी राज्यको एक नमुना देख्न सकिन्छ । सिद्धान्त र व्यवहार एकैपटक कार्यान्वयन भयो भने सुखद परिणामको झलक पाउन सकिन्छ ।
नेपालमा दुई सय वर्षअघिको आर्थिक अवस्थालाई हेर्ने हो भने देशमा उपलब्ध स्रोतबाटै नागरिकले जीवनयापन गरिरहेका थिए । अभाव थियो होला तर आत्मनिर्भर थियो भन्ने कुरामा शङ्का छैन । विकास एउटा निरन्तर प्रक्रिया हो । चाहेर होस् या नचाहेर, विकास समय सापेक्ष आफ्नो गतिमा चलिरहेको हुन्छ । यो केवल अपेक्षा गरिएको सकारात्मक परिवर्तनको रूपरेखा मात्र हो ।
स्विडेनमा राज्यको प्रधान दायित्व नागरिकको हितमा कार्य गर्नु हो । यो दृष्टान्त स्विडेनबाहेक नर्वे र फिनल्यान्डमा समेत देख्न सकिन्छ । यसको तुलना गर्ने हो भने नेपालले यिनीहरूसँग एक कदम पाइला चाल्न सकेको छैन । गरिबीको चक्रबाट मुलुक मुक्त हुन नसकेको अवस्थामा समृद्धिको भाषणले कतिको काम गर्ला यसमाथि प्रश्न चिह्न खडा हुन्छ ।
नेपालमा अझै पनि २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाइरहेको छ, अर्कोतिर नेपालका ३४ प्रतिशत मानिसले आफ्नो कमाइले परिवार पाल्न नसक्ने अवस्था हालैको एक अध्ययनले देखाएको छ भने घरबारविहीनहरूको संख्या अत्यधिक मात्रामा छ । कमैया, लोपोन्मुख जाति, हलिया, राउटे चमार, डोम, वादी, माझी, कुसुन्डा तथा दलित जातिका समुदायमा कैयौँ बालबच्चाले अझै पनि विद्यालयको अनुहार देखेका छैनन् । सामाजिक जटिलता, पछौटेपन, वर्ग विभेदजस्ता अङ्कुशहरूले समाज गतिहीन अवस्थामै छ । यो सामाजिक र आर्थिक जटिलताको भण्डार बोकेर हामीले खोजेको समृद्धि के हो ?
समृद्धिको मार्गका अङ्कुश
नेपाल विविधताले युक्त देश हो । यस्तो विविधता संसारका कमै देशमा पाइन्छ । सामाजिक जटिलताको साङ्लोले जेलिएको हाम्रोजस्तो मुलुकमा यससम्बन्धी सोच र व्यवहारको अन्त्य हुनु पहिलो प्राथमिकता हो ।
सामाजिक रूपमा पिछडिएका वर्गहरूको उत्थान हुनुपर्छ । यो वर्ग राज्यले ल्याएको नीतिबाट मात्र मुक्त हुन सक्दैन । देशका सुगमदेखि दूर–दराजसम्म यस्ता वर्ग पाइन्छन् । यी वर्गको तथ्यांक उतार गरी विशेष कार्यक्रम लक्षित वर्गमा लागु गर्ने पहलले मात्र समृद्धिको मार्ग निर्माण हुन सक्छ । वर्गोत्थानविना समृद्धि तत्कालको अवस्थामा सम्भव देखिँदैन ।
यसका अतिरिक्त समृद्धि प्राप्त गर्न राज्य पनि संवेदनशील बन्नुपर्छ । सुशासन र पारदर्शिता कायम गरी प्रजातान्त्रिक संस्कारमा राज्य अगाडि आउनुपर्छ, अन्यथा समृद्धिको सपना देख्नु बालुवामा पानी हालेजस्तै हो ।
राज्य संघीयतामा गएपछि विकासको मोडल केन्द्रको दायित्वभित्र मात्र रहेन । तीन तहका सरकारले आफ्नो क्षेत्रभित्रका यावत् समस्याको सम्बोधन गरी समृद्धिको आधार खडा गर्नुपर्छ । नेपाल स्रोत र साधनले सम्पन्न मुलुक हो । प्राकृतिक स्रोत, कृषि स्रोत, जलस्रोत र सीपयुक्त जनशक्तिलाई उचित ढङ्गले प्रयोग गरिनुपर्छ ।
हाम्रो सबै प्रदेशमा प्रायः उपलब्ध पर्यटन, कृषि र सांस्कृतिक स्रोतलाई उपयोगमा ल्याउन सक्नुपर्छ । यसले क्षेत्रीय तथा स्थानीय क्षेत्रमा आम्दानीको आधारशिला खडा गर्छ । जलस्रोतबाट बिजुली उत्पादन र अन्तर्राष्ट्रिय बजारमा यसको निर्यात गर्न सके राज्यको पुँजी निर्माण भई लगानीको वातावरण बनाउन सके समृद्धिको द्वार खुल्छ । नेपालमा ६२ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । परम्परागत कृषि पेसालाई विविधीकरण गरी व्यावसायिक बनाउन वैदेशिक अनुदानलाई राज्यले कृषिमा इमानदारीपूर्वक लगानी गर्नुपर्छ ।
सीपयुक्त जनशक्ति उत्पादन गरी स्थानीय क्षेत्रमै रहेको स्रोत साधनको भरपुर प्रयोग गरेर स्थानीय बजार तथा राष्ट्रिय बजारको आवश्यकता पूरा हुने वस्तुको उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । सीप, प्रविधि र साधनको प्रबन्ध भएपछि आन्तरिक पुँजीले नभ्याए मात्र वैदेशिक ऋणको प्रयोग गर्नु वाञ्छनीय हुन्छ ।
धेरैको संख्यामा दक्षिण कोरिया गएका नेपालीसँग त्यहाँको समृद्धि कसरी हुन सक्यो भनेर सोध्दा दक्षिण कोरियालीको भनाइ अनुसार आजभन्दा ४०–४५ वर्षअघिसम्म उनीहरू नेपालभन्दा धेरै गरिब थिए । यसको बाबजुद पनि कोरियाले आन्तरिक श्रम र सीपमा जोड दियो । यसपछि प्रविधि भित्र्याएर वैदेशिक ऋणको सदुपयोग गरेर आजको दक्षिण कोरिया निर्माण भएको उनीहरू जवाफ दिन्छन् ।
हाम्रो देशमा कुन कुराको कमी छ ? नेपाल स्रोत–साधनले युक्त छ, तर पनि आज निर्धन अवस्थामा रहनु दुर्भाग्य हो । यसै कारण पनि वैदेशिक रोजगारमा जान युवा बाध्य छन् । श्रम विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या ७० लाख हाराहारी छ भने स्वीकृति नलिई छड्के बाटो जानेहरू पनि छन् ।
लगभग एक करोड जनशक्ति मुलुक बाहिर रहेको अवस्था छ । यो शक्तिलाई साधन–स्रोतले युक्त गराई मुलुकको निर्माणमा प्रयोग गर्ने हो भने सकारात्मक परिणाम हासिल गर्न कुनै साइत कुर्नुपर्दैन । यसका लागि सरकार र सम्बद्ध पक्षको नियतमा शंका गर्ने आधार देखिनु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल