को हुन् सिक्किम विधानसभाका एक्ला विपक्षी विधायक तेन्जिङ नोर्बु ?

काठमाडौँ । भारतको सिक्किम विधानसभा निर्वाचनमा सत्तारुढ दल ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३२ मध्ये ३१ सिटमा विजय प्राप्त गर्दा विपक्षी कित्ताबाट एकमात्र विधायकको प्रतिनिधित्व भएको छ । विधानसभामा विपक्षी भूमिकामा तेन्जिङ नोर्बु लाम्था देखिने छन् । उनको एक्लो काँधमा विपक्षी भूमिका रहने भएको हो ।
पूर्वमुख्यमन्त्री पवन चाम्लिङको दल ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’बाट निर्वाचित लाम्था सिङ्गो विधानसभाको विपक्षी कित्तामा बस्ने एकमात्र विधायक हुनेछन् । उनले निकटतम प्रतिस्पर्धी सिक्किम क्रान्तिकारी मोर्चाका कुङ्गा नीमा लेप्चालाई एक हजार ३१४ मतले पराजित गरेका हुन् ।
राज्यभर सिक्किम क्रान्तिकारी मोर्चाको पक्षमा लहर देखिएको बेलामा पनि लाम्थाले सोही दलका उम्मेदवारलाई झिनो मतान्तरले पराजित गर्न सफलता पाए । राजनीतिमा आउनु अघि लाम्था सरकारी कर्मचारी थिए । उनले सरकारी जागिर छाडेर राजनीतिक जीवन सुरु गरेका हुन् ।
बुबा कुन्जाङ्ग नामग्याल लाम्था र आमादेन लामु लाम्थाको कोखबाट जन्मिएका ४९ वर्षीय तेन्जिङ नोर्बु लाम्थाले दिल्ली पूरा इन्स्टीच्यूट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । उनले सन् १९९२ मा सिक्किमको सडक र पुल विभागमा जुनियर इन्जिनियरका रुपमा काम थालेका थिए ।
सन् २०१८ मा उनले सरकारी जागिर छाडेर राजनीतिक जीवन सुरु गरेका हुन् । उनले राजनीति गर्नका लागि सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीलाई चुने । सन् २०२४ को विधानसभा निर्वाचनमा उनले श्यारी विधानसभा सिटबाट उम्मेदवारी दिएका थिए ।
उनको कुल घोषित सम्पत्ति ५८.३ करोड भारु बराबर रहेको बताइन्छ, जसमा १.२ करोड रुपैयाँको चल र ५७.१ करोड रुपैयाँको अचल सम्पत्ति रहेको जनाइएको छ । सिक्किममा ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने भएका हुन् ।
सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गर्दै राज्य सरकारको नेतृत्व सम्हालेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए ।
त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो । यो निर्वाचनमा विधानसभाका ३२ मध्ये उनको पार्टीले ३१ सिट जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु