बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

प्राविधिक सहायकदेखि सहकारीको पैसा अपचलनसम्म

४ वटा मोबाइल बोक्थे सीबी लामा, कान्तिपुर सेभिङ्गको १ अर्ब ५१ करोड अपचलन
आइतबार, २० जेठ २०८१, १६ : १८
आइतबार, २० जेठ २०८१

काठमाडौँ । कान्तिपुर सेभिङ्गका अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’लाई प्रहरीले पश्चिम चितवनबाट पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

पश्चिम चितवनमा उनी फ्ल्याट लिएर बसेको अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनी ४ ओटा मोबाइल चलाउँथे । सीबीको साथबाट ४ वटा मोबाइल बरामद गरिएको एसएसपी भट्टराईले बताए ।

कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त नयाँ बानेश्वरमा  ८५२ जना बचतकर्ताले सीबीसहितका सञ्चालकहरू विरुद्ध जाहेरी दिएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै थप १ सय जनाको जाहेरी दर्ता भएको छ ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सीबी पशुपति सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको पनि पूर्व अध्यक्ष हुन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ्ग एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पशुपति सेभिङ्गमा भएको हिनामिनाबारे अनुसन्धान गरिरहेको छ । हालसम्म पशुपति सेभिङ्गमा १२ करोड अपचलन भएको उजुरी ब्युरोमा दर्ता भएको छ ।

बैंकिङ कसुरको ३ वटा मुद्दामा फरार लामाले पक्राउ परेपछि आक्रोश व्यक्त गरेका छन् । मिनभवन स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनले भने–‘मैले नगरेको आरोप लागेको छ । अब सबै कुरा छर्लङ्ग हुन्छ ।’

२०४९ मा ओसिन एडभरटाईजिङ्ग मिडियामा समाचार सङ्कलन गर्ने सीबीले २०५२ भदौमा स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहमा जागिर पाए । ओभरसियर पदमा करिब उनले ८ महिना काम गरेर छाडेका हुन् ।

उनी २०५५ देखि २०७६ पुस सम्म कान्तिपुर सेभिङ्ग एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको अध्यक्ष थिए ।  एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने निति आएपछि उनी कान्तिपुरबाट अलग भए । २०५५ मा उनकै अध्यक्षतामा पशुपति सेभिङ्ग एन्ड क्रेडिट को अपरेटिभ स्थापना भएको थियो । कान्तिपुर सेभिङ्गको लगानीमा सञ्चालित कान्तिपुर अस्पतालमा उनी २०५९ मा अध्यक्ष भए ।

काठमाडौँ–३२ तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रालिको स्थापना गरेका सीबीले सहकारीको पैसा आफ्ना निजी कम्पनीहरूमा लगानी गरेर अपचलन गरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप