एमाले मकवानपुर अधिवेशन : अध्यक्षमा चार प्रतिस्पर्धी
मकवानपुर । नेकपा एमाले मकवानपुरको नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेको छ । एमाले मकवानपुर अधिवेशनले ५ पदाधिकारीसहित १०० सदस्यीय कमिटी सहमतिबाट चयन गर्न सम्भव नदेखिएपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो ।
एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत शनिबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी अधिवेशनमा उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनको चरणमा भने अध्यक्ष पदका उम्मेदवार रघुनाथ खुलालले मनोनयन फिर्ता लिएका थिए । अन्य ४ जनाको भने उम्मेदवारी कायम छ ।
अध्यक्ष पदमा श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी कायम छ । केन्द्रको बलियो साथ पाएका खुलाल एकाएक मनोनयन फिर्ता लिएर चुनावी मैदानबाट बाहिरिएका छन् । पार्टी केन्द्रकै निर्देशनमा उनले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । उनले पार्टी केन्द्रको निर्देशन अनुसार अर्का उम्मेदवार इन्द्रमान स्याङ्तानलाई समर्थन गरेका छन् ।
डोरमणि र कृष्ण दाहाल प्यानल
एमाले, मकवानपुर नेतृत्व चयनका सवालमा २ प्यानल स्पष्ट देखिएको छ । एमाले मकवानपुरको नेतृत्वका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र संविधानसभा सदस्य कृष्णप्रसाद दाहाल पक्षबिच अस्तित्वको लडाइँ चलेको देखिन्छ । दुवै नेता जिल्लामा आफ्नो बर्चस्व कायम राख्न चाहन्छन् ।
पौडेलले इन्द्रमान स्याङ्तान र दाहालले श्रीधर पोखरेलको पक्षमा लविङ गरिरहेका छन् । त्यसो त खुलाललाई अध्यक्ष बनाएर जिल्लामा आफ्नो प्रभाव कायम राख्ने दाउमा पौडेल थिए । तर, खुलालले उम्मेदवारी फिर्ता भएपछि पौडेलले आधिकारिक उम्मेदवार इन्द्रमान स्याङ्तानलाई स्वीकार्नुपर्ने भएको छ ।
स्याङ्तानलाई एमाले मकवानपुरका इञ्चार्ज देवीप्रसाद ज्ञवालीको र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको बलियो साथ छ । सोही अनुसार पौडेल जिल्लामा शक्तिशाली बन्ने कसरतमा स्याङ्तानलाई लिएर अघि बढेका छन् भने दाहाल विगतको विरासत फिर्ता ल्याउने दौडमा पोखरेललाई अघि सारेर हिँडिरहेका छन् ।
बागमती प्रदेश अध्यक्ष पदमा पराजित भएका दाहाल हारको बदला लिन कुनै पनि अवस्थामा पोखरेललाई अध्यक्ष बनाउन चाहन्छन् । पोखरेललाई एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले समेत समर्थन गरेका छन् । दाहालको समर्थनमा उम्मेदवार बनेका पोखरेल एमाले विभाजनका समयमा एकीकृत समाजवादीमा गएका थिए । २०७९ को आमनिर्वाचनको समयमा उनी पुनः एमालेमा फिर्ता भएका थिए ।
अर्का उम्मेदवार लालबहादुर थापालाई केन्द्रीय सदस्य रामेश्वर रानाले समर्थन गरेका छन् ।
उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ ।
सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी कायम छ । उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त